लोकगीत Vs आइटम सङ

- कृष्ण भट्टराई

कार्तिक २०, २०७४- 

नेपाली चलचित्रका गीत–संगीतमा अचेल दुईवटा शैलीले लोकप्रियता हासिल गर्न थालेको छ । केही वर्षअघिसम्म चलचित्रमा युगल तथा एकल गीतको प्रचलन थियो । एक–दुईवटा रोमान्टिक गीत तथा एउटा स्याड सङ राखेपछि चलचित्रको सांगीतिक समीकरण पूरा हुन्थ्यो । यद्यपि आधा दशकयता निर्माण भएका चलचित्रले यो समीकरणलाई अनुसरण गरेको देखिँदैन । पछिल्ला नेपाली चलचित्रमा दुई थरी संगीतको बोलवाला छ, एउटा लोकगीत, अर्को आइटम गीतको । 

नेपाली चलचित्रमा राजनराज शिवाकोटी, कालीप्रसाद बाँसकोटा, वसन्त सापकोटा, अर्जुन पोखरेल आदि संगीतकारहरू हावी हुन थालेपछि चलचित्रको गीत–संगीत दुई धारमा विभाजन भएको हो । राजनराज शिवाकोटी तथा वसन्त सापकोटा प्राय: लोकलयमा आधारित गीत सिर्जना गर्न रुचाउँछन् । सुर्के थैली खै, पूर्व–पश्चिम रेल, कुटुमा कुटुजस्ता लोकशैलीमा आधारित गीत सिर्जना गरेर राजनराजले आफूलाई स्थापित संगीतकार बनाइसकेका छन् । अर्जुन पोखरेल रोमान्टिक गीत–संगीत सिर्जना गर्न सिपालु छन् । कालीप्रसादले भने लोकदेखि आइटमसम्मका गीतमा आफूलाई अब्बल सावित गरेका छन् । 

नेपाली चलचित्रमा लोकलयमा आधारित गीतले सफलता हासिल गरिरहेका बेला आइटम गीतले समेत आफ्नो साख जोगाइरहेको छ । त्यस्ता गीत श्रोताले टपक्कै टिप्ने सम्भावना हुन्छ । त्यसैले पनि निर्माता–निर्देशकहरू आफ्ना चलचित्रमा कम्तीमा एउटा लोकगीत अथवा एउटा आइटम गीत समावेश गर्न लालायित देखिन थालेका छन् । 

चलचित्र लुटको उध्रेको चोली.. को सफलतासँगै नेपाली चलचित्रमा आइटम गीतको लहर चलेको हो । रोशन थापाद्वारा संगीतबद्ध उक्त गीतमा ईन्दिरा जोशीको स्वर छ । उक्त गीतको लोकप्रियताले चलचित्रको व्यवसायमा समेत सहयोग पुगेको उक्त चलचित्रका निर्माताहरूले स्वीकार गरिसकेका छन् । 

चलचित्र लुट–२ को ठमेल बजार दर्शक तथा श्रोताहरूले रुचाएको लोकप्रिय आइटम गीत हो । कालीप्रसाद बाँसकोटाको संगीत तथा मीना निरौला, भानुभक्त ढकाल एवं कालीप्रसादको स्वरको उक्त गीतमा आइटम नृत्य गरेर नृत्यांगना एलिशा राईसमेत लोकप्रिय भइन् । चलचित्रले व्यवसायिक सफलता हासिल नगरे पनि उक्त गीत युट्युबमा सर्वाधिक हेरिएका गीतहरूमध्ये एक बनिसकेको छ ।

चलचित्र पर्वको काले दाइ...लोकप्रिय नेपाली आइटम गीत हो । संगीतकार कोसिश क्षेत्रीको संगीतमा तयार भएको मिना निरौला तथा निश्चल बस्नेतको स्वरको उक्त गीतमा माला लिम्बूले आकर्षक नृत्य गरेकी छिन् । काले दाइको सफलताले चलचित्र पर्वलाई भने खासै फाइदा भएन । दर्शक–श्रोताले उक्त गीतलाई मन पराए पनि सिनेमा हलसम्म पुग्न भने अल्छि माने । 

यसै वर्ष प्रदर्शनमा आएको चलचित्र ग्याङस्टार ब्लूजको अबला...शीर्षकको आइटम गीतले पनि दर्शकलाई आकर्षित गर्‍यो । चलचित्र व्यवसायिक रूपमा असफल भए पनि बानिका प्रधान तथा कालीप्रसाद बाँसकोटाको स्वरको उक्त गीतले सफलता प्राप्त गर्‍यो । संगीतकार कालीप्रसादले यो गीतमार्फत आफ्ना लोकप्रिय गीतको सूचीमा अर्को एउटा गीत थपे । मोडल सृष्टि कार्कीले उक्त गीतमा आकर्षक नृत्य गरेकी छिन् ।

यही वर्ष प्रदर्शन भएको चलचित्र संरक्षणको किशोरीलाल...शीर्षकको आइटम गीतले पनि राम्रै चर्चा पायो । चलचित्रले व्यवसायिक सफलता नपाए पनि भोजपुरी शैलीको यो गीतले प्रशस्तै दर्शक कमायो । उक्त गीतमा रितिका परमेश्वरा, परवेश मल्लिक तथा प्रेमप्रकाश करणको स्वर सुन्न सकिन्छ । 

दसैं अघि प्रदर्शन भएको चलचित्र दुई रुपैयाँको टल्क्यो जवानीलाई पनि आइटम गीतकै श्रेणीमा राखिएको छ । मीना निरौला, आसिफ शाह तथा निश्चल बस्नेतको स्वरको उक्त गीतमा मोडल सुमी मोक्तानले आकर्षक नृत्य गरेकी छिन् । 

प्रदर्शनको क्रममा रहेको चलचित्र फाटेको जुत्ताको छोटो चोली यतिबेला चर्चामा छ । अभिनेत्री प्रियंका कार्कीले नृत्य गरेको उक्त गीतमा मिना निरौला तथा शंकर थापाको स्वर सुन्न सकिन्छ । 

 

 

प्रकाशित :कार्तिक २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्