एन्फाले थ्रीस्टारलाई क्षतिपूर्ति दिएकै छैन्

- साप्ताहिक संवाददाता

कार्तिक १९, २०७४-

थ्रीस्टार क्लबका केन्द्रीय सदस्य हुन्— रामकृष्ण श्रेष्ठ । त्योभन्दा ठूलो जिम्मेवारीका रूपमा उनी क्लबको फुटबल टिमका व्यवस्थापक हुन् । राष्ट्रिय खेलकुद परिषद्को रोहबरमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टारलाई क्षतिपूर्ति स्वरूप १ करोड ५० लाख रुपैयाँ तिर्ने लिखित सहमति हुँदाको निर्णायक मोडमा उनी आफैं साक्षी थिए । एएफसी कपमा थ्रीस्टारको नाम दर्ता नगरेपछि एन्फा थ्रीस्टारलाई उक्त रकम क्षतिपूर्तिका रूपमा तिर्न बाध्य भएको हो । यही विषयमा रामकृष्णसँग गरिएको पाँच प्रश्न :

क्षतिपूर्तिको रकम कति प्राप्त भयो ?

हामीले क्षतिपूर्तिको रकम प्राप्त गरेका छैनौं । सहमतिअनुसार पहिलो किस्तामा ६० देखि ७० लाख रुपैयाँ दिने सहमति भएको छ, तर अहिलेसम्म हामीले त्यो रकम पाइसकेका छैनौं ।

क्षतिपूर्ति रकम प्राप्त भएपछि क्लबले त्यसलाई कसरी उपयोग गर्नेछ ?

क्लबमाथि अहिले ठूलो ऋण छ । हाम्रो पहिलो काम उक्त ऋण तिर्ने हुनेछ । त्यसपछि हामी टिम बनाउने प्रयासमा हुनेछौं ।

के अब फेरि थ्रीस्टारले नेपाली फुटबलमा बलियो उपस्थिति जनाउनेछ ?

निश्चित रूपमा । क्षतिपूर्तिसम्बन्धी सम्झौता भएपछि हामीले फेरि फुटबल खेल्ने निर्णय गरेका छौं । थ्रीस्टारको टिम पहिलेकै जस्तो बलियो हुनेछ ।

क्लबमा आबद्धहुने खेलाडी के–कस्ता हुनेछन् ?

हामीसँग अझै केही पुराना खेलाडी आबद्ध छन् । त्यसलाई निरन्तरता दिनेछौं । केही नयाँ खेलाडी अनुबन्ध गर्ने काम पनि चलिरहेको छ ।

पछिल्लो समय क्लब संचालनमा केही अप्ठ्यारो भएको हो ?

तत्कालीन अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनपछि केही समयका लागि हामीलाई गाह्रो भएको हो । त्यस्तो शोकको समयलाई हामीले शक्तिमा बदल्ने निर्णय गर्‍यौं । त्यसैक्रममा राष्ट्रिय लिग पनि जित्न सफल भयौं । अबका दिनमा थ्रीस्टार अझ व्यवस्थिति ढंगले अघि बढ्नेछ । 

प्रकाशित :कार्तिक १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्