नेपाली कराँतेको ५० औं राष्ट्रिय संस्करण

- साप्ताहिक संवाददाता

कार्तिक १८, २०७४-

नेपालको लोकप्रिय खेल हो— कराँते । नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक पदक भित्र्याउने खेल पनि हो यो । लगातारको विवादबीच पछिल्ला केही समय भने नेपाली कराँतेका लागि सुखद रहेन । पछिल्लो दक्षिण एसियाली खेलकुद (साग) मा कराँते समावेश नभएपछि त्यसको प्रत्यक्ष असर पर्नु स्वभाविक पनि थियो । जति बेला पूरा नेपाली खेलकुद भारतमा सञ्चालित सागमा केन्द्रित थियो, नेपाली कराँते भने पीडाबाट गुज्रिरहेको थियो ।

ठीक त्यही बेला नेपाली कराँतेसँग आबद्ध केही खेल व्यक्तित्व भने यो खेललाई कसरी जीवन्त राख्न सकिन्छ भनेर प्रयास गरिरहेका थिए । खुसीको समाचार के भने अब नेपालमै हुने सागमा कराँते फेरि समावेश हुने तय भैसकेको छ भने आगामी टोकियो ओलम्पिकमा पनि कराँतेले प्रवेश पाउँदैछ । यी सबै पृष्ठभूमिमा अर्को साता हुनेछ, ५० औं राष्ट्रिय कराँते प्रतियोगिता । कराँतेका विभिन्न विधाका प्रतियोगिता जोडेर अहिले ऐतिहासिक ५० औं संस्करणको राष्ट्रिय कराँते प्रतियोगिता हुन लागेको हो । 

नेपाल कराँते महासंघको दाबी छ, यसपल्टको प्रतियोगिता फरक अनि व्यवस्थिति हुनेछ र यसले यो खेलमा निर्णायक असर पार्नेछ । प्रतियोगिता कात्तिक २३ देखि २५ गतेसम्म काठमाडौंमा हुनेछ र उक्त प्रतियोगिताले ठूलो रकमको प्रायोजकसमेत पाएको छ । नेपाली कराँतेमा प्रायोजकका सम्बन्धमा विरलै सुन्न पाए पनि महासंघले हालै मात्र सम्झना ल्याब्रोटरीसँग १५ लाख रुपैयाँ बराबरको सम्झौता गरिसकेको छ । 

यो प्रतियोगिताका संयोजक हुन्— पूर्वखेलाडी दीपक श्रेष्ठ । उनी यो प्रतियोगितालाई लिएर निकै उत्साहित पनि छन् । श्रेष्ठको दाबी छ— यसले नेपाली कराँतेको स्तरोन्नतिमा ठूलै भूमिका खेल्नेछ । प्रतियोगितामा कुमुते र काता गरेर कुल १९ तौल समूहमा प्रतिस्पर्धा हुनेछ र त्यसमा सफल खेलाडीहरूलाई समावेश गरेर २३ सदस्यीय राष्ट्रिय टिम तयार पारिनेछ । प्रतियोगिताको प्रमुख उद्देश्य यही टिम तयार पार्नु हो, जसले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्नेछ । 

तीनदिने यो प्रतियोगितामा पाँच विकास क्षेत्र तथा तीन विभागीय टोलीका १ सय ८४ जना खेलाडीले सहभागिता जनाउनेछन् । प्रतियोगिताका क्रममा महिलामा ७ तथा पुरुषमा ८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ, सँगै एकल र टिम काता पनि हुनेछ । यो प्रतियोगिताको अर्को एउटा ठूलो विशेषता— यसैबाट नेपालमा पहिलोपल्ट ‘रिभ्यु म्याच’ को नियम लागू हुनु पनि हो । त्यसो त यो नियम विदेशतिर सन् २०१४ देखि नै लागू भैसकेको छ, नेपालमा भने यो पहिलोपल्ट प्रयोगमा आउन लागेको हो । यो ‘डर्थ अम्पायर’ प्रयोगमा आउने नियम हो । 

 

प्रकाशित :कार्तिक १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्