दुस्मनी

- सुविन भट्टराई

कार्तिक १८, २०७४-

 

रिस पोख्ने मानिसका अनेकन अस्त्र हुन्छन् । कोही कटु शब्दलाई आफ्नो हतियार बनाउँछन्, कोही हातै हाल्न पछि पर्दैनन् । कोही लठ्ठी, खुकुरी आदि बोकेर निस्कन्छन् । पेस्तोल हान्ने वा सोसरहका बदमासी त माथिल्लो स्तरको क्रोध निकास नै भैहाल्यो । रिसाउनु त अवश्य नै पर्छ । रिसाउनु भन्नु नै मान्छे हुनुको परिचय हो, तर त्यसको निकास ? यसको काइदा भने विचारणीय छ ।

जब कसैले मेरो केही बिगाथ्र्यो, म रिसाउँथेँ । घोर रिसाउँथेँ । भन्नु नभन्नु भन्थेँ । पाखुरा सुर्किंदै जान्थेँ । एक–दुई मुक्का हान्थेँ, चार–पाँच मुक्का खान्थेँ । दुईतर्फी दुस्मनी अझ बढ्थ्यो । कति बाटाहरू मेरा लागि बन्द भए । कति बाटा मेरो दुस्मनका लागि बन्द भए । म उपस्थित भएको ठाउँमा मेरो दुस्मन अनुपस्थित हुन्थ्यो । मेरो दुस्मन उपस्थित भएको ठाउँमा म अनुपस्थित हुन्थेँ । मेरो दुस्मनको शाखा सन्तान पनि मेरो दुस्मन बन्थ्यो । मेरो दुस्मनलाई पनि मेरो शाखा सन्तान दुस्मन बनेको हुँदो हो । मेरा दुस्मनलाई मन पर्ने कुरा मेरा लागि घृणाको विषय बन्थ्यो । मलाई मन पर्ने कुरा मेरो दुस्मनलाई पनि घृणाको विषय बनेको हुँदो हो । कसैसित दुस्मनी साँध्ने मेरो यस्तै काइदा थियो ।

रिस यस्तो चीज हो, जुन मानिसको परिपक्वतासँगै परिपक्व हुँदै जाँदो रहेछ । मलाई अहिले पनि रिस उठ्छ । मेरा बारेमा भन्नु–नभन्नु भन्दै हिँड्नेलाई अगाडि गएर भकुर्नुजस्तो लाग्छ । त्यसको बङ्गारा झार्नुजस्तो लाग्छ । कल्पनामा मैले आजकाल मेरा केही दुस्मनलाई यसरी नै भकुर्ने गरेको छु । कल्पनामै उसका बङ्गारा पनि झारेको छु । यथार्थमा यस्तो गर्न उमेरले दिँदैन । स्वभावले दिँदैन । आफ्नै परिचयले दिँदैन । 

अक्सर कुनै पनि दुस्मनी मित्रताकै जगबाट सुरु हुन्छ । कोही कसैको दुस्मन यसै हुँदैन । पहिलेका घनिष्ठ मित्रता नै पछि निकृष्ट शत्रुतामा परिवर्तन हुन्छन् । कुनै दुई चिज आपस्तमा नछोई कम्पन हुँदैन नि † त्यस्तै रहेछ शत्रुता । बाटोमा हिँड्दा–हिँड्दै कसैसित अनायास पनि रिस उठ्छ र ? दुस्मनी हुनलाई पहिले गहिरो मित्रता हुनुपर्छ । संगत हुनुपर्छ । पहिले केही मिल्ने कुराले मित्रता बढ्छ । पछि कुनै नमिल्ने कुरा भएपछि शत्रुता सुरु भैहाल्छ । 

मलाई शत्रु मान्ने, घृणा गर्नेहरूको एउटा ठूलै भीड छ, तर राम्रो कुरा के भने मेरा दुस्मनले पनि एउटा मर्यादा राख्छन् कि त तिनीहरूले सीधै आएर मलाई भकुर्दैनन् । कल्पनामा सम्म भकुरेका हुँदा हुन्, मैले जस्तै (म भन्न सक्दिनँ ।) 

यद्यपि उनीहरूका लागि सजिलो बाटो— सामाजिक सञ्जालमा मेरा विरुद्धमा केही लेख्ने । पहुँच भए मिडियामै केही भन्ने । मलाई उत्तेजित हुनेसम्मका अभिव्यक्ति लेख्ने अनि मेरा विरुद्धमा एक–दुई साना गुट र उपगुट तयार गर्ने । यति हो, मेरा दुस्मनले मसँग लिने कोटीको दुस्मनी, तर यी कुराले म छोइन्नँ । म उत्तेजित हुन्नँ । म त्यो अभिव्यक्ति वा टिप्पणीको टड्कारो प्रतिक्रिया पनि दिन्नँ । मलाई फेरि अर्को गुट–उपगुट तयार गर्नु छैन । मलाई सामाजिक सञ्जालमा चिच्याउनु छैन । मलाई रुनु छैन । म त्यो दुस्मनीलाई इञ्जोय गर्छु । दुस्मनी इञ्जोय गर्न सक्नु पनि कला हो । म आफ्ना दुस्मनका हरेक अभिव्यक्तिमा मौन रहन्छु ।

मेरा त्यो कोटीका दुस्मन उफ्रिरहन्छन्— कान्लाका भ्यागुताझैँ, म उडिरहन्छु यता— आकाशको चराजस्तै । म उत्तेजित नभएपछि, कुनै उल्टा सिधा प्रतिकार नगरेपछि दुस्मनमा थप बेचैनी हुन्छ । ऊ अझ चिच्याउन थाल्छ । अझ उफ्रिन थाल्छ । ऊ चाहन्छ, म त्यही स्तरमा ओर्लिउँm जहाँ ऊ ओर्लिएको छ, तर मबाट त्यो हुँदैन । 

मैले मेरो आफ्नै जीवनबाट सिकेको अनुभव के छ भने कसैले आफूप्रति गरेको दुव्र्यवहारको प्रत्याक्रमणमा म ऊजस्तै नरिसाउँ । दुस्मनहरू भड्काउन खोज्छन्, म नभड्किऊँ । यस्तोमा मौनता मेरो हतियार बनेको छ । मलाई लाग्छ, दुस्मनलाई प्रत्याक्रमणमा दिने सबैभन्दा गतिलो जवाफ मौनता हो, तर मौनताको पनि सीमारेखा कोर्न जान्नुपर्छ । अन्याय नसही र अन्याय नगरी दुस्मनी गर्न जान्नुपर्छ । 

दुस्मन हुनु सामाजिक हुनु हो, जसरी मित्र हुनुलाई सामाजिक मानिन्छ । यसलाई इन्जोय गर्न जान्नुपर्छ । खुब प्रेरणा मिल्छ ।

 

प्रकाशित :कार्तिक १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्