कात्तिक १७ देखि २३ गतेसम्मको राशीफल

  • कात्तिक १८ गते : गुरु नानक जयन्ती, कात्तिक २१ गते : मंगल चतुर्थी व्रत:

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

कार्तिक १७, २०७४-

 

मेष 

आकर्षक पहिरन खरिद गर्दा बढी मूल्य बुझाउन बाध्य भइनेछ । करियर बनाउन मित्रहरूको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । व्यवसायमा फलिफाप नै हुनेछ । सञ्चित धन अरूका लागि खर्च गर्नुपर्ने अवस्था आइलाग्न सक्छ । खानपानको फेरबदलले स्वास्थ्य प्रतिकूल हुने सम्भावना छ ।

वृष 

परिवारसहित साथीभाइको पनि जिम्मेवारी बहन गर्नुपर्ला । हेलचेक्र्याइँका कारण आर्थिक लाभबाट वञ्चित हुनुपर्नेछ । परिवार तथा नजिकका नातेदारबीचसम्बन्ध टाढिन सक्छ । संयमित व्यवहारले सकारात्मक भूमिका निर्वाह गर्नेछ । साताको अन्त्यमा वनभोज तथा मनोरञ्जक काममा सहभागी भइनेछ ।  

मिथुन 

दीर्घकालीन उपलब्धि हुने व्यवसायको जग बस्नेछ, जसले ऋणमोचन गर्न सहयोग पुऱ्याउनेछ । विदेश यात्राको सम्भावना टरेको छैन । समयको महत्व बुझेर अघि बढ्न सके स्वत: उचाइमा पुगिनेछ । खानपानको हेलचेक्र्याइँले स्वास्थ्य बाधा सिर्जना हुन सक्छ ।  

कर्कट 

जीवनचर्यामा परिवर्तन ल्याउन सके सफलताको मार्ग सहज हुनेछ । प्रेमी–प्रेमिकाहरूको भावना सकरात्मक ऊर्जामा परिणत होला  । बेरोजगार हुनुहुन्छ भने रोजगारी प्राप्त हुने समय नजिकिँदो छ । सम्झनालायक कार्य सम्पन्न गर्दा आर्थिक चुनौती सामना गर्नुपर्ला । ठूलाबडाको सहयोग तथा आशीर्वादले समस्याहरू निराकरण हुनेछन् ।

सिंह

अग्रजहरूसँगको भलाकुसारीले नयाँ अनुभव दिलाउनेछ । निजी तथा सरकारी क्षेत्रबाट प्राप्त रोजगारीको प्रस्ताव स्वीकार गर्नुमै कल्याण छ । मित्रहरूको सुझाव सकारात्मक रहनेछ । व्यवसायमा रातो रंगले विशेष फाइदा पुर्‍याउनेछ । बाहिरी खानपानले स्वास्थ्यमा प्रभाव पार्न सक्छ ।

कन्या 

आफ्नै ढिलासुस्तीपनले महत्वपूर्ण अवसर गुम्ने खतरा छ, चनाखो रहनुहोला । भावी योजना सफल तुल्याउन मेहनतको जरुरत छ । सभा, सेमिनार तथा तालिमका क्रममा विदेशी पाहुनाहरूसँग भेटघाट गर्ने अवसर जुर्नेछ । साताको अन्त्यमा मनोरञ्जनमा समय बित्नेछ । 

तुला  

राजनीतिक इच्छा–आकांक्षा तीव्र रूपमा अघि बढेको अवस्था छ । आश मारिसकेको व्यवसायले उत्साह जगाउनेछ । मन मिल्ने साथीको स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ । बुधबारपछिका दिनमा धार्मिक भ्रमणसहित भोजभतेरमा सहभागी भइनेछ ।

वृश्चिक

मेहनत गरी प्रारम्भ गरिएको कार्यले सही बाटो समात्नेछ । रोजगारीको नयाँ क्षेत्र पहिचान गरी लाभ लिन सकिनेछ । सामाजिक क्षेत्रको लगानीले विदेश भ्रमणको अवसर जुटाउनेछ । मठ–मन्दिर एवं धार्मिक क्षेत्रको यात्रा गर्ने साइत जुरेको छ । चिसोबाट टाढै रहनुहोला । 

धनु  

फजुल खर्च गर्दा प्रेमिका चिढिनेछिन् । अवसरवादीहरू पिछा लागेको अवस्था छ । मन विलासी वस्तुहरूको संग्रहतर्फ आकर्षित हुनेछ । साथीभाइहरूको फराकिलो मनले आफूलाई विशेष फाइदा पुर्‍याउनेछ । साताको अन्त्यमा दान–पूण्यजस्ता परोपकारी कार्यमा संलग्न भइनेछ ।

मकर 

आध्यात्मिक चिन्तनले समाजसेवाका लागि प्रेरणा जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै दिगो कामको जग बसाइनेछ । पहिलेका कमजोरीहरू सच्याउँदै बिग्रिएको सम्बन्ध पुन: सुमधुर बनाउन सकिनेछ । अरूको मन जित्दा सजिलै सहयोग जुटाउन सकिनेछ । साताको अन्त्यमा प्रशंसायोग्य कार्य सम्पन्न होला । 

कुम्भ 

प्रेमिकाको सहयोगले प्रतिद्वन्द्वीलाई सहजै पछि पारिनेछ । अरूको विश्वासमा पर्दा आर्थिक क्षति बेहोर्नुपर्ला । ठूला खालका योजनालाई परिणाममुखी बनाउन अभिभावकले मार्गदर्शन गर्नेेछन् । भूमिसम्बन्धी व्यवसाय गर्न साथीहरूसँग मन मिल्नेछ । पारस्पारिक छलफलद्वारा गरिएको नयाँ कामले मुनाफा दिलाउनेछ । 

मीन

ठूलाबडाको सद्भाव आफूप्रति रहनेछ भने व्यवसायमा नयाँ ऊर्जा मिल्नेछ । आफूलाई मन पराउनेसँगको सम्बन्ध सुमधुर बन्दै गएको अवस्था छ । धर्मकर्म तथा मांगलिक कार्यमा धन खर्च हुनसक्छ । द्रुत गतिमा सवारी साधन चलाउँदा विपत्ति आइलाग्न सक्छ, संयमित रहनुहोला । मौसमी चिसोपनले टाउको तथा आँखासम्बन्धी समस्या सिर्जना गर्ने योग पनि छ । 

प्रकाशित :कार्तिक १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्