फेरि डिभिजन टु

- साप्ताहिक संवाददाता

कार्तिक १६, २०७४-

नेपाली क्रिकेटको खास स्तर के हो ? के नेपाल आईसीसी वल्र्ड क्रिकेट लिगका लागि सक्षम नै छैन ? यस्ता धेरै प्रश्न छन्, जुन नेपाल र हङकङविरुद्धको खेलपछि लगभग सबैको मुखमा छ । नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग जस्तो प्रतियोगिता भाग्यले खेल्न पाएको थियो, तर नेपालले त्यसको कुनै फाइदा लिन सकेन । नेपाली क्रिकेटमा लामो समयदेखि सुखद समाचार सुन्न पाइएको छैन । त्यसकै अर्को शृङ्खला रह्यो, आईसीसी वल्र्ड क्रिकेट लिगमा नेपालको कमजोर प्रदर्शन । 

प्रतियोगिता सुरु हुनुअघि नेपालले आईसीसी वल्र्ड क्रिकेट लिगमा यस्तो गर्न सक्छ वा यस्तो गर्नेछ भनेर दाबी गरियो, तर ती सबै दाबी दाबीमै सीमित भए । छैटौं चरणमा हङकङविरुद्ध नेपालका दुई खेल थिए, जसमध्ये पहिलो खेलमा नेपाल ८३ रनले पराजित भयो । उक्त खेलमा जितका लागि १ सय ९५ रनको लक्ष्य पाएको नेपाल १ सय ११ रनमै अलआउट भयो । त्यसपछि दोस्रो खेल हङकङमा आएको आँधीबेहरीका कारण सम्भव भएन । 

उक्त नभएको खेलबाट दुवै टिमले एक–एक अंक बाँडे । त्यही नभएको खेलपछि नै नेपाल शीर्ष चारमा नरहने निश्चित भएको हो । प्रतियोगितामा कुल आठ टिम छन् । अब प्रत्येक टिमले एक चरणको खेल खेल्न मात्र बाँकी छ । नेपालले अब यूएईविरुद्ध दुई खेल खेल्नेछ र ती खेलको नतिजा जेसुकै आए पनि नेपालले शीर्ष चारमा स्थान बनाउन सक्नेछैन । शीर्ष चार टिमले विश्वकप छनौट खेल्नेछन् भने अन्तिम चारमा रहने टिम डिभिजन–टुमा झर्नेछन् । 

नेपालको नियति यस्तै रह्यो, नेपाल अहिले तत्कालको स्थितिमा पुछारबाट तेस्रो स्थानमा रहँदै डिभिजन–टुमा झरेको छ । नेपाल पछाडि रहेका दुई टिममा नामिबिया र युएई मात्र छन् । नेपालको अगाडि केन्या छ । शीर्ष चार टिममा नेदरल्यान्ड्स, पपुवा न्युगिनी (पीएनजी), स्कटल्यान्ड तथा हङकङ छन् । नेदरल्यान्ड्स र पीएनजी मात्र शीर्ष चारमा रहने निश्चित भैसकेको छ । नेपाल डिभिजन टुमा झर्ने भएपछि कप्तान पारस खड्काले माफीसमेत मागिसकेका छन् । 

पारसले भनेका छन्— राष्ट्रिय प्रतियोगिताबाट मात्र राष्ट्रिय टिममा नयाँ खेलाडी ल्याउन गाह्रो छ । हामीले प्रतियोगिताका लागि उत्कृष्ट खेलाडी छानेका थियौं । नतिजा दिन नसकेपछि धेरै प्रश्न उठ्छ । कप्तान र छनौट समितिको सदस्यका नाताले म यसको जिम्मेवारी लिन्छु । म नेपाली क्रिकेटका प्रशंसकहरूसँग माफी माग्न चाहन्छु । पारस आफैंले च्याम्पियनसिपमा टिमको प्रदर्शनबाट आफू सन्तुष्ट नभएको स्वीकार गरेका छन् । उनले मानेका छन्, टिमको प्रदर्शनमा एकरूपता थिएन । 

अब के त ? नेपाली क्रिकेटका लागि यो निकै महत्त्वपूर्ण प्रश्न हो । अब नेपालको लक्ष्य नै डिभिजन–टु हो र सम्भवत: नेपालको क्रिकेट स्तर यही प्रतियोगिताका लागि अनुकूल छ । प्रतियोगिता फेब्रुअरीमा नामिबियामा हुँदैछ । डिभिजन–थ्रीका विजेता ओमान र उपविजेता केन्या तथा च्याम्पियनसिपको पुछारका तीन टिम यूएई, नामिबिया र नेपालले डिभिजन दुईमा प्रतिस्पर्धा गर्ने छन् । हङकङ र केन्यामध्ये एकले पनि डिभिजन–टुमा खेल्नुपर्नेछ । 

नेपालका लागि सम्भवत: डिभिजन–टु खेल्न पाउनु अवसर पनि हुनेछ, किनभने यसको शीर्ष दुईमा रहने टिमले फेरि एकपल्ट विश्वकप छनौट खेल्न पाउनेछन् । नेपालले डिभिजन–टुमा पनि राम्रो प्रदर्शन गर्न सकेन भने के कुरा प्रमाणित हुनेछ भने हाम्रो क्रिकेट स्तर वास्तवमै कमजोर छ । यस्तो कमजोर स्तरबाट पनि हामीले विश्वकप खेल्ने सपना किन बुन्छौं ? पारस भन्छन्— डिभिजन–टु हाम्रा लागि अवसर हो । डिभिजन–टुबाट नेपाललाई विश्वकप छनौटमा पुर्‍याउन सक्दो प्रयास गर्नेछौं ।

प्रकाशित :कार्तिक १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्