गीतमा फरक स्वर

- कृष्ण भट्टराई

कार्तिक १६, २०७४-

गीत–संगीतमा स्थापित भैसकेका गायक–गायिकाहरू चलचित्र अभिनेता–अभिनेत्री बन्ने ट्रेन्ड पुरानै हो । बलिउडमा मात्र होइन, नेपालमा समेत यो ट्रेन्ड पछ्याउने थुप्रै गायक–गायिका छन् । रामकृष्ण ढकाल, राजेशपायल राई, यम बराल, कोमल वली आदि गायक–गायिका चलचित्रमा अभिनेता–अभिनेत्रीका रूपमा प्रस्तुत भैसकेका छन् । यद्यपि उनीहरूको अभिनय यात्रा सौखमा मात्र सीमित भयो । यतिबेला मनोरञ्जन क्षेत्रका स्थापित अभिनेता–अभिनेत्रीहरू गायनतर्फ आकर्षित हुन थालेका छन् । 

अभिनेत्रीबाट निर्देशक बनिसकेकी दीपाश्री निरौलाले चलचित्र ‘छक्का पञ्जा’ को ‘देखन चम्पा...’ गीत गाएर आफ्नो गायन क्षमता प्रस्तुत गरिन् । कृष्ण काफ्लेसँगको उक्त गीतले विभिन्न एवार्ड वितरण समारोहमा पुरस्कार नै प्राप्त गर्‍यो । 

प्रदर्शनको तयारीमा रहेको चलचित्र मेलाका दुई अभिनेता सलोन बस्नेत तथा आमेश भण्डारी पनि गायकका रूपमा दर्शकमाझ आएका छन् । त्यसो त अभिनेता भण्डारी अभिनय क्षेत्रमा आउनुअघि गायक तथा संगीतकारका रूपमै सक्रिय थिए । उनले केही चलचित्रमा संगीतकार तथा गायकका रूपमा काम गरिसकेका छन् । अहिले आमेशले सलोनका साथमा रुम नम्बर १०८ शीर्षकको गीत गाएका हुन् । उक्त गीतमा आमेशको स्वर छ भने सलोनले र्‍याप हानेका छन् । 

अभिनेत्री प्रियंका कार्कीले गाएका तीनवटा गीत युट्युबमा लाखौं पटक हेरिएका छन् । प्रियंकाको पहिलो कभर गीत ‘तिमीले त होइन...’ को भिडियो 

युट्युबमा १७ लाख पटक हेरिएको छ । अनप्लग्ड शैलीमा गाइएको उक्त गीतमा प्रियंका सुरिलो सुनिएकी छिन् । उक्त गीत तथा भिडियोको लोकप्रियतासँगै प्रियंकाले अभिनेता आयुष्मान देशराज जोशीसँग दुईवटा युगल गीत गाइन्, तीमध्ये एउटा अंग्रेजी भाषामा छ । ‘माया त माया हो...’ रोमान्टिक युगल गीतमा प्रियंका र आयुष्मान व्यवसायिक गायक–गायिका झैं सुनिएका छन् । भनिन्छ, यही गीत रेकर्ड तथा भिडियो निर्माणका क्रममा प्रियंका र आयुष्मान एक–अर्काप्रति आकर्षित भएका थिए । प्रियंका र आयुष्मानको स्वरको लाइक आइ एम गोन्न लूज यू...पनि दर्शक–श्रोताहरूले मन पराएका छन् । 

आधा दर्जनभन्दा बढी चलचित्र, चार दर्जनभन्दा बढी म्युजिक भिडियो तथा एक दर्जनजति विज्ञापनमा अभिनय गरेकी अभिनेत्री सारिका घिमिरेले गायिकाका रूपमा समेत आफ्नो परिचय बनाउने प्रयास गरेकी छिन् । दसैंअघि उनले आफ्नो जीवनकै पहिलो एकल एल्बम मोहनी सार्वजनिक गरिसकेकी छिन् । उक्त एल्बमको एउटा गीतको म्युजिक भिडियोमा उनी आफैंले अभिनयसमेत गरेकी छिन् । व्यवसायिक रूपमै गायिका बन्ने मार्गमा अघि बढेकी सारिकाले पहिलो एल्बममा चारवटा गीत गाएकी छिन्, जसमध्य के देख्यौ माया लायौ गीत लोकप्रिय भैसकेको छ । 

विगतमा अभिनेता भुवन केसी गायकका रूपमा स्थापित थिए । गायकका रूपमा सक्रिय भैरहेकै बेला उनी अभिनयमा आएका हुन् । भुवन अहिले पनि मुड चलेका बेला गीत गाउन पछि पर्दैनन् । 

अभिनेता निखिल उप्रेती कुशल गिटारवादक तथा संगीतकार हुन् । उनलेले संगीतबद्ध गरेको तामाङ सेलो शैलीको एउटा गीत चलचित्र ‘रुद्र’ मा समावेश छ । उक्त गीतबाट निखिलले आफूमा भएको सांगीतिक प्रतिभा उजागर गरेका छन् । 

अभिनेत्री जेनी कुँवर पनि गायिका बनेकी छिन् । कुँवरले यसै साता आफ्नो स्वरको पहिलो गीत छाइदेउ श्रीहरी मनमा को म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । अभिनृत्री कुँवरले सांगीतिक समुह सत्यकृतसंग मिलेर उक्त गीत गाएकी हुन् । 

 

प्रकाशित :कार्तिक १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्