जीवनबाट प्रेम र यौन हटाउने हो भने त्यो उराठलाग्दो हुन्छ

- साप्ताहिक संवाददाता

कार्तिक १६, २०७४-

पत्रकार तथा लेखक अश्विनी कोइरालाको ‘प्रेमालय’ हालै बजारमा आएको छ । यो उनको पहिलो उपन्यास तथा तेस्रो कृति हो । यसअघि कोइरालाका उनी (अन्तर्वार्ता संग्रह) एवं जुकरबर्ग क्याफे (कथा संग्रह) प्रकाशित छन् । विशेषगरी प्रेम र यौनलाई मुख्य विषय बनाएर उनले लिएका अन्तर्वार्ता तथा लेखहरू पाठकहरूले रुचाएका छन् । कोइरालासँग साप्ताहिकका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

नयाँ पुस्तक बजारमा आउँदा डर बढी लाग्छ कि खुसी ?

खुसी धेरै लाग्छ तर, पाठकप्रति न्याय गर्न सकिन कि भनेर अलिअलि डरसमेत लाग्छ ।

झन्डै २८ महिनापछि तपाईंले नयाँ पुस्तक बजारमा ल्याउनुभएको छ । किन यति लामो ग्याप ?

राम्रो पुस्तक लेख्न समय लाग्छ । मलाई त्यति ढिलो भयो भन्ने लागेको छैन । 

नयाँ उपन्यास प्रेमालय कुन समयमा लेख्नुभयो ?

दिउँसोको समयमा । घरका मानिसहरू आ–आफ्नो काममा निस्किन्छन्, वातावरण शान्त हुन्छ । मैले त्यही समयमा लेखें ।

 

प्रेमालय कसका लागि लेखिएको हो र, यो उपन्यास किन पढ्ने ?

‘प्रेमालय’ हरेक युवाका लागि हो जो प्रेम गर्छन् वा प्रेम गर्न चाहन्छन् । जो आफूलाई यौनमा सक्षम छु भन्ने मान्छन् यो उपन्यास तिनका लागि पनि हो । प्रेम र यौनलाई कसरी सबल एवं समृद्ध बनाउने भनेर पढ्ने हो । जीवनबाट प्रेम र यौनलाई हटाइ दिने हो भने त्यो उराठलाग्दो हुन्छ । प्रेम, यौन र जीवनलाई बुझ्न पनि यो पुस्तक पढ्नुपर्छ ।

तपाईं पत्रकारितामा समेत प्रेम र यौनलाई महत्व दिनुहुन्छ किन ?

बाहिर जतिसुकै परिवर्तन भए पनि, आर्थिक रूपमा सम्पन्न भए पनि मानिसले जबसम्म प्रेममा सन्तुष्टि पाउँदैन, यौनमा सन्तुष्टि प्रास्त गर्न सक्दैन तबसम्म उ बाहिर जतिसुकै खुसी देखिए पनि भित्रि रूपमा खुसी र सुखी, सम्पन्न हुन सक्दैन । जुन दिन मैले यो कुरा बुझें, त्यही दिनदेखि यस्ता विषयवस्तुमा अलि बढी चाँसो राखेर रिपोर्टिङ गर्न थालें । 

लामो समय पत्रकारितामा खर्चिनुभयो । अहिले पुस्तक लेखनमा सक्रिय हुनुहुन्छ । यी दुईबीच के भिन्नता पाउनुभयो ?

पत्रकारितामा समयको सीमा हुन्छ । समय सीमाभित्र रहेर काम गर्नुपर्ने हुन्छ । पुस्तक लेखन गम्भीर कुरा हो र, यसमा समय सीमा हुँदैन । 

पुस्तक लेख्न कत्तिको चुनौती हुँदोरहेछ ?

उपन्यास लेख्न गार्‍है रै’छ । लेख्न नसकेर भने होइन । पत्रिकामा छोटो–छोटो लेख्ने बानी हुन्छ । त्यही कुरा पुस्तकमा सन्दर्भ मिलाउन, विषयवस्तुसँग जोडिएका कुरा खोज्न, पात्रको प्रवृत्ति केलाउन अनि त्यसलाई शब्दमा उतार्न भने गार्‍हो हुँदो रहेछ । 

तपार्इं कसरी लेखनमा आउनुभयो ?

लभ लेटर लेखेर । सुरुमा ५ कक्षा पढ्दा लेखें । अहिलेसम्म लेखिरहेको छु । कागज नै पठाउनुपर्छ भन्ने छैन । कसैलाई इमेल, कसैलाई म्यासेज लेखेर पठाइन्छ । गाउँको स्कुलमा लाइब्रेरी थियो । त्यहाँ पत्रपत्रिका पढेर नै मेरो लेखनको सुरुवात भयो । 

तपाईंलाई सबैभन्दा प्रभाव पारेका लेखक को–को हुन् ? 

सुरुमा शंकर लामिछानेलाई पढियो । धु्रवचन्द्र गौतम, बीपी कोइराला, पारिजात, सरुभक्त । पछिल्लो पुस्तामा कुमार नगरकोटी, बुद्धिसागर तथा अमर न्यौपानेको लेखन मन पर्छ । 

आफ्नो लेखनमा कुनै लेखकको छाप पाउनुहुन्छ ?

खुसवन्त सिंह र अमृता प्रितम मन पर्छन् । नढाँटीभन्दा उनीहरूको कपि गर्न मन लाग्छ । म उनीहरूकै शैली पछ्याउँछु । 

तपाईंलाई मन परेका पुस्तक ? 

ओशोको दर्शन मनपर्छ । खुसवन्त सिंह, अमृता प्रितम तथा धु्रवचन्द्र गौतमका सबैजसो पुस्तक मन पर्छन् । 

तपाईंले दोर्‍होयाएर पढेको पुस्तक ?

बीपीको सुम्निमा र नरेन्द्र दाइ । धच गोतामेको संस्मरण । बीपीको सोच्ने शैली र विचार मलाई उच्च लाग्छ । हरेक पटक कुनै पुस्तक पढ्न बस्दा मैले बीपीको कुनै न कुनै पुस्तक फेरि एक पटक पढेकै हुन्छु ।

प्रकाशित :कार्तिक १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्