समाचारको सिनेमा स्वरूप

- किशोर नेपाल

कार्तिक १५, २०७४-

 

अनौठो छ दुनियाँ । एक्काइसौं शताब्दीमा मानिसले दुनियाँका बारेमा चाल पाएको सत्य यही नै हो । अहिले सत्यको खोजी सुरु भएको छ । मानिसका लागि अप्ठेरो लाग्ने सत्यको होइन, सामान्य ज्ञान र सूचनाको खोजी । दुनियाँमा केही विषय उपस्थित छन् : मेक्सिकोका पत्रकार हावियर भाल्देजको हत्या किन भयो र कसरी भयो ? पपुआ न्युगिनीको कर ठगीको प्रकरण के हो ? कम्बोडियाका मानव–अधिकारविरोधीलाई अमेरिकाले किन र कसरी तालिम दियो ? एक्काइसौं शताब्दीमा यी र यस्ता विवादास्पद प्रश्नहरूको उत्तर खोज्नु निकै खतरनाक छ । एकथरी पत्रकारको थाप्लोमा तरबार लट्किएको छ । अर्काथरी पत्रकार व्यवसाय र सिर्जनशीलतामा अवरोध खडा गरेर एकपक्षीय पत्रकारिता आरम्भ गर्न खोजिरहेका छन् । 

पछिल्लो समयमा नेपालमा पनि यो प्रवृत्तिको विकास भैरहेको छ । स्थानीय चुनावको समयदेखि अब सबै चुनाव नसकिएसम्म पत्रकारिताको वास्तविक अस्तित्व प्रकटमा देखिनेछैन । पत्रकारितालाई पार्टी कार्यको तहमा ओरालेर स्वतन्त्रतामाथि बन्देज लगाउने काम वामपन्थी र दक्षिणपन्थी दुवै थरी राजनीतिक दलले गर्दै आएका छन् । पत्रकारितालाई आफ्नो पक्षमा तान्न, गाली–गलौजको माध्यमद्वारा विपक्षीको मान–मर्दन गर्न, झूटा सूचना फैलाएर समाजलाई आतंकित तुल्याउन राजनीतिक दलहरूले आफ्नै सचिवालयसरह चलाएका छन् । 

मिडियाको यो आचरणबाट अमेरिकाजस्तो देशसमेत मुक्त हुन सकेको छैन । पगपगमा कानुन र नियमको मार्गदर्शनमा चल्ने अमेरिकी पत्रकारिताले पनि यसको सामना गर्नुपरेको छ । इन्टरनेटको पहुँच खुला भएपछि खतरा अझ बढ्न थालेका छन् ।

एक सय रिपोर्टर्स संस्थाले यी समस्याको समाधान खोज्न विगत तीन वर्षदेखि ‘इन्भेस्टिगेटिव फिल्म फेस्टिभल’ को आयोजना गर्दै आएको छ । यस पटकको फेस्टिभल ट्रान्सपरेन्सी इन्टरनेसनल, क्रस करेन्ट्स फाउन्डेसन तथा म्याकआर्थर फाउन्डेसनको सहयोगमा आयोजना गरिएको थियो । वन अफ अस, कोकिन प्रिजन, नो स्टोन अनटर्नड, डेभिल्स फ्रिडम, हल अफ मिरर्स, दि रेप अफ रेसी टेलर, भोयजर, डिड यू वन्डर हू फायर्ड दि गन ? ट्रस्ट हू, दि अदर साइड अफ एभ्रिथिङ तथा इन्ड अफ ट्रथ फेस्टिभलमा देखाइएका सिनेमा थिए ।

यी सिनेमाहरूमा वास्तविक अवस्था तिखो रूपमा देखिनु असहज थिएन । अहिले संसारभरि नै मिडियाको समस्या भनेको ‘फेक’ न्युज हो । फेक न्युजको निर्माण किन हुन्छ अथवा यसको अंक गणित के हो ? बुझ्न निकै गाह्रो छ । नेपालमा इनभेस्टिगेटिव फिल्म निर्माणका लागि स्कोप छैन नै भने पनि हुन्छ । यहाँको समाजले इनभेस्टिगेटिव न्यूजको परिचय नै पाएको छैन । अमेरिकाका एलिटहरूलाई ट्रम्पको भूतले सताएको छ । ट्रम्पको असर लामो समय रहनेछ । त्यसैले पनि यहाँ इनभेस्टिगेटिव डकुमेन्टरी हेरिनुपर्ने दृष्टिकोण व्यापक भएको छ ।

फेस्टिभलमा अनुसन्धान सिनेमाका बारेमा कार्यशाला गोष्ठीहरू भएका थिए । अहिलेको संसारमा निकै रफ्तारका साथ फैलन थालेको इमर्सिभ मिडियाका बारेमा जानकारी दिन ती गोष्ठीहरू निकै उपयोगी थिए । पत्रकारहरूलाई कानुनी कुरामा सहयोग पुर्‍याउन अमेरिकाका ख्यातिप्राप्त कानुन व्यवसायीका सेवा उपलब्ध थिए । मिडियासँग सम्बन्धित कानुनहरू नेपालमा मात्र होइन, अन्यत्र पनि जटिल छन्, तर नेपालमा जस्तो कानुन माने पनि हुने, नमाने पनि हुने किसिमको अवस्था कतै पनि छैन । बाहिरतिर यो नै मिडिया विकासको कारण पनि हो ।

नेपालले साइवर संसारको महत्वलाई स्वीकार गरे पनि यसको अकुण्ठित प्रचलन र प्रवाहलाई नियमित गराउने प्रयाससम्म गरेको छैन । साइवर स्वतन्त्रताका नाउँमा शान्ति र सामाजिक चरित्र भत्काउने, हिंसालाई प्रोत्साहित गर्ने, स्वतन्त्रताको नाममा स्वतन्त्रताकै खिल्ली उडाउने काम सरकारकै आँखा अगाडि भैरहेको छ । यो अवस्थामा सर्जकहरूले आफूलाई कसरी मूल प्रवाहमा स्थापित गर्न सक्छन् ? यो नै हाम्रा लागि मुख्य प्रश्न हो ।

अहिलेको लगानी प्रवृत्ति हेर्दा नेपाली पत्रकारिता खोज र अनुसन्धानको मोडमा पुग्न धेरै समय लाग्न नपर्ने हो, तर जे देखिन्छ त्यो भर्चुअल हो । यथार्थ अलि परै थन्किएको छ । व्यवसायिक हिसाबले चलेका मिडिया हाउसहरूले खोज र अनुसन्धान गर्न सरकारी सुरक्षाको ग्यारेन्टी खोज्छन् । यस्तो ग्यारेन्टी उनीहरूका लागि आवश्यक पनि हुन्छ । गैरसरकारी संस्था एवं व्यक्तिगत तवरमा हुने अनुसन्धानका आफ्नै सीमा हुन्छन् । बेला आएको छ समाचारको सिनेमाकरण गर्ने । त्योभन्दा पहिले स्तरीय समाचारको प्रस्तुति हाम्रो आवश्यकता हो । 

 

प्रकाशित :कार्तिक १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्