‘पर्खाल’ ले भत्कायो दर्शकको मन

- साप्ताहिक संवाददाता

कार्तिक १४, २०७४- 

मोरङ जिल्लाको झोराहाटका डेढ दर्जन नाट्यकर्मीहरुले काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा नाटक ‘पर्खाल’ मञ्चन गरेका छन् । झोराहाट नाट्य समुहका अध्यक्ष भरत गुरागाईँद्वारा लिखित उक्त नाटकको पहिलो मञ्चन आज सम्पन्न भयो भने यही नाटक भोलि बुधवार दिउँसो १:३० पुन: मञ्चन हुँदैछ ।

समाज र जीवनका विसंगत पक्षलाई सशक्त रूपमा उठान खोजिएको नाटक पर्खालमा खासगरी बाल मनोविज्ञानलाई केन्द्रविन्दुमा राखिएको छ । नाटकमा रक्सीको कुलतमा फसेको नेपालको ग्रामिण समाजको चित्रण मात्र गरेको छैन, प्रेममा भित्रिएको बजारिया संस्कृतिको प्रभावलाई पनि प्रस्तुत गरेको छ ।

प्रयाग न्यौपानेद्वारा निर्देशित नाटकमा गाउँको दुई दाजुभाईको परिवारको कथा चित्रण गरिएको छ । रक्सीका कारण परिवार नै बिगारेका जेठो छोरा तथा बुढी आमालाई स्यहारेर बसेका कान्छो भाइको बिग्रेको सम्बन्धले सम्पूर्ण नेपाली समाजकै प्रतिनिधित्व गरेको छ ।

डकैती गरेर पक्राउ परेका आफ्ना कार्यकर्ताले छुटाउन नेताले प्रहरीलाई दिएको दवावले समाजकै व्यंग्य गरेको छ । नाटकका बाल कलाकारले अभिनयले दर्शकको आँखा रसाउँछ । बुवा र काकाको झगडामा नाबालकहरु कसरी पीडित हुन पुग्छन् भन्ने विषयलाई नाटकमा कारुणीक शैलीमा चित्रण गरिएको छ ।

नाटकमा भरत गुरागाईं, प्रयाग न्यौपाने, मनोज निरौला, ओमप्रकाश निरौला, अनु श्रेष्ठ, सुदीप कार्की, सुनिता कट्टेल, गजेन्द्र पृथक, मनिषा बराल आदि कलाकारले अभिनय गरेका छन् । 

प्रकाशित :कार्तिक १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्