ब्राजिलको गर्विलो यात्रा

- साप्ताहिक संवाददाता

कार्तिक १३, २०७४-

विश्व फुटबलको सबैभन्दा ठूलो र लोकप्रिय प्रतियोगिता विश्वकप–२०१८ आउने वर्ष रूसमा हुनेछ र त्यसका कुल ३२ टिमले सहभागिता जनाउनेछन् । त्यसमध्ये आयोजकको नाताले रूस स्वत: छनौट भएको थियो । छनौट चरण भने लगभग दुई वर्षभन्दा बढी समय चलेको थियो र त्यसबाट छनौट हुने पहिलो टिम थियो, ब्राजिल । यसपटकको विश्वकप छनौटमा सबैभन्दा पहिले मात्र होइन, सजिलै रूसको टिकट काट्न सफल टिम हो— ब्राजिल ।

छनौटसँगै ब्राजिलले विश्वकप इतिहासमा आफ्नो गर्विलो इतिहास कायम राखेको छ । पूरा देशको परिचय नै फुटबलकै कारण बनेको ब्राजिल नै यस्तो एक मात्र टिम हो, जुन अहिलेसम्म भएका सबै विश्वकपमा छनौट भएको छ । पाँच पटकको विश्वकप विजेता ब्राजिल आफैंमा विश्वकपको सबैभन्दा सफल टिम हो । विश्वकपमा दुई महादेशको वर्चस्व रहँदै आएको छ, युरोप र दक्षिण अमेरिका । यस अर्थमा यी दुई महादेशमा हुने छनौट प्रक्रिया पनि उत्तिकै माथिल्लो दर्जाको हुन्छ ।

ब्राजिलले दक्षिण अमेरिकाको छनौट चरणसजिलै पार लगायो र अपेक्षाभन्दा धेरै अघि नै विश्वकपमा छनौट हुन सफल भयो । छनौटको अन्तिम अंक तालिकामा ब्राजिलले १८ खेलबाट ४१ अंक बटुलेको थियो । यो दोस्रो स्थानमा रहेको उरुग्वेको भन्दा १० अंक बढी हो । अर्जेन्टिना १३ अंकको अन्तरले ब्राजिलको तुलनामा धेरै पछाडि रह्यो । सम्भवत: विश्वकपमा छनौट भैसकेको आरामदायक स्थितिका कारण ब्राजिलले अन्त्यतिरका खेलमा खासै मेहनत पनि गरेन अथवा गर्नु परेन ।

तीन वर्षअघि पछिल्लो विश्वकप ब्राजिलमै भएको थियो । त्यसमा जर्मनी विजेता भएको थियो र त्यसक्रममा जर्मनीले ब्राजिललाई सेमिफाइनलमा नराम्रोसँग हराएको थियो । त्यसपछि ब्राजिलीयन फुटबल ओरालो लागेको आरोप लाग्यो । ब्राजिलीयन राष्ट्रिय टिमको प्रदर्शन पनि लगातार खस्कन थालेको थियो । विभिन्न किसिमका आलोचनाबीच ब्राजिलले राम्रो खेल्न थालेको थियो र यसबीच ब्राजिल सबै आलोचकको मुख बन्द गर्दै विश्वकपका लागि सबैभन्दा पहिले छनौट हुन सफल भयो ।

अघिल्लो विश्वकपको समाप्तीमा पुराना खेलाडी डुंगा ब्राजिलीयन टिमका प्रशिक्षक थिए । उनको नेतृत्वमा ब्राजिलले निकै खराव खेल्यो र डुंगा आफै बर्खास्तीमा परे । त्यसयता प्रशिक्षकको जिम्मा चिचीले प्राप्त गरे र उनकै नेतृत्वमा ब्राजिलले अविश्वसनीय प्रदर्शन गर्न थालेको हो । ब्राजिलीयन फुटबलका सबैभन्दा अनुभवी प्रशिक्षक चिचीले टिम सम्हाल्नुअघि छनौटमा ब्राजिलले राम्रो सुरुवात लिएको थिएन, तर चिचीको आगमन भएयता ब्राजिलले पुरानो उत्कृष्ट लय समात्दै लगातार जितको अभियान सुरु गरेको थियो ।

 

प्रकाशित :कार्तिक १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्