मन राखिदिँदा–राखिदिँदै

- सुविन भट्टराई

कार्तिक ११, २०७४-

 

संसारमा सबैभन्दा कमलो कुरा मानिसकै मन होला र सबैभन्दा कडा पनि मानिसको मनै होला । धेरै सम्बन्ध मनसँग जोडिएको हुन्छ । धेरै सम्बन्ध मनबाट तोडिएको पनि हुन्छ । अक्सर मनैले चल्छ मान्छे यहाँ र मनकै कारणले जल्छ पनि मान्छे यहाँ । घामजस्तै पारिलो पनि मनै हुन्छ, छुरीजस्तै धारिलो पनि मनै हुँदो रहेछ । मनसँगै हुन्छ विश्वास पनि, मनसँगै हुन्छ घात–प्रतिघात पनि ।

आफ्ना इच्छाहरूलाई केही पर पन्छाएर, जब कसैको मन राखिन्छ, क्षणभरलाई त्यसले दिने शान्ति अभूतपूर्व हुन्छ । आफ्नो अनुकूलताको पर्वाह नगरी जब कसैको मनको पुकार सुनिन्छ, त्यसले कमसेकम पछुताउने मौका दिँदैन ।

चाहे जसको ओठमा फलोस्, खुसी आखिर खुसी नै हो । खुसी फूलजस्तै हो, त्यसले कुन बोटमा फुल्योसँग होइन, कति फुल्यो, कस्तो फुल्योसँग सरोकार राख्छ । कहिलेकाहीँ अरूको मन राखिदिँदा–राखिदिँदै, आफ्नै मनमा आएका खुसीका ज्वारभाटहरू थामिनसक्नुका हुन्छन् । कहिलेकाहीँ अरूको मन राखिदिँदा–राखिदिँदै आफ्नो मनमा छाएका अपरिमित सन्तोष पत्याइनसक्नुका हुन्छन् ।

अरूको मन राखिदिँदा–राखिदिँदै, आफूबाट आफ्नै समय चुहिएर गए पनि । अरूको मन राखिदिँदा–राखिदिँदै, आफ्नै उठीबास हुनेसम्मका घटना पनि घटे । अरूको मन राखिदिँदा–राखिदिँदै आफैँलाई बिर्सिए पनि । कतिको मन नदुखोस् भनेर मन राखिदिएँ । पछि तिनैले मन दुखाए । कति मन दुखेकाहरूमा आफ्नै मनको सुनेर मन लगाएँ । दुखाइको अन्त्य भैसकेपछि त मान्छेका मन पनि ढुंगामा परिणत हुँदा रहेछन् ।

छन् नि यो पनि आफ्नै मनबाट गुज्रिएको अनुभव कि अरूको मन राख्दा–राख्दा, अरू रिसाउलान् कि भन्ने चिन्ता गर्दा–गर्दा आफ्नो त कतै ठाउँ नै पो नरहँदो रहेछ । अरूलाई समस्याको जँघार तराउँदा–तराउँदै आफू भने भेलमै कतै हराइँदो रहेछ । अरूको मनको मल्हम बन्दा–बन्दै आफ्नो जीवनको कदम अल्झिएको अल्झियै हुँदो रहेछ । जसको चित्त बुझाउँदा–बुझाउँदै आफैँ रिक्त भइएको हुन्छ, अक्सर उनैले चित्त दुखाउँछन् । मनसितको सम्बन्धमा अक्सर मन दुखाउनेहरू नै बढी भेटिन्छन् । 

मन राखिदिनका लागि अरूलाई दुख्ला कि भन्दै डराई–डराई बोलिन्छ । मनै राखिदिनका लागि समय नै नहुँदा–नहुँदै पनि आफ्नै कामलाई पर पन्छाएर अरूको काम गरिन्छ । अरूकै मन राखिदिनका लागि आफ्नो मनले नमानेका कैयौँ काम पनि गरिन्छ । अरूलाई सुकिलो बनाइदिन आफू मैलिएको समेत पत्तो हुँदैन ।

एउटा सम्बन्ध यस्सै नमरोस् भनेर, आफ्नो रहर त कति पो मारिएछ । आफूलाई परबाट देख्दा हरेक पटक हाँस्ने ओठ कहिल्यै बन्द नहोस् भनेर आफूलाई उसकै अनुकूलतामा ठाउँ–कुठाउँ खोलिएछ । सधैँ मिलाउनलाई मतिर अघि बढ्ने हातहरू अनायास मैतिर सोझिएर धार नलागोस् भनेर आफैँलाई तौलेर प्रस्तुत गरेको छु । 

सम्बन्ध जस्तोसुकै होस्, त्यो कुनै बिरुवाझैँ हो, त्यसलाई जोगाउनुपर्छ । हो, यही सोच्ने हुँदा आफू भने मुर्झाएर सुकिँदो रहेछ । यही एउटा सम्बन्ध जोगाउन खोज्दा आफू कति पटक ढालिन्इछ, काटिइन्छ, चिरिइन्छ, गाडिइन्छ, बालिइन्छ । एउटा सम्बन्धको प्राण हजारौँ सुख, सुविधा, रहर र हाँसोहरूको मृत्युले चुकाइएको हुन्छ । 

अरूको मन राखिदिनका लागि जे–जति गरेँ, त्यतिको मेहनत र श्रम लगाएर आफ्नो मन राखेको भए, सायद म आफैँ केही बन्ने थिएँ कि ? सायद आफूलाई खुसी तुल्याउन सक्थेँ कि † तैपनि यो मन मान्दैन । मन उही अरूकै चित्त बुझाएर पाइने आनन्दकै पछि कुनै एकोहोरो प्रेमी आफूले मन पराएकी केटीको पछाडी दगुरेझैँ दगुरिरहेछ । मसित मेरा सपनाहरू रिसाएका छन् । मसित मेरै समय क्रुद्ध छ । मसित मेरा खुसीले निहुँ खोजेका कति–कति घटना छन् । कति पटक त म आफैँले आफैँलाई माफ गर्न सकेको छैन । मलाई मेरो आफ्नै मनसँग गुनासो छ कि अरूको मन राखिदिँदा–राखिदिँदै म आफैँ कहीँको रहिनँ †

प्रकाशित :कार्तिक ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्