कात्तिक १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

कार्तिक १०, २०७४- 

मेष

साथीहरूसँग मनोरञ्जन गर्दा आफ्नो जिम्मेवारीको हेक्का राख्नुहोला । मित्रहरूले अपेक्षाकृत सहयोग नगर्दा बन्न लागेको काममा अवरोध सिर्जना हुने सम्भावना छ । समय तथा स्थानअनुरूप बोलीमा मधुरता घोल्न सके धेरै कार्य सम्पन्न गर्न सकिनेछ । साताको अन्त्यमा मन मिल्ने व्यक्तिसँग भेटघाट हुन सक्छ ।

वृष

होसियारीपूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ लिन सकिनेछ । विश्वासपात्रलाई आर्थिक सहयोगको वचन दिदा संयम अपनाउनुहोला । सरोकार नभएको विषयले फजुल खर्च गराउनेछ । रोजगारीको अवसर प्राप्त हुनेछ । साताको अन्त्यमा कार्य व्यवस्थापन गर्न बढी समय दिनुपर्नेछ ।

मिथुन

समकालीन मित्रहरूबीच आफ्नो छवि लोकप्रिय हुँदै गएको छ, जसलाई यथास्थितिमा राख्न विदेश भ्रमण गर्नु श्रेयष्कर हुन्छ । प्रेमिकासँगको सम्बन्धमा मनमुटाव उत्पन्न भए पनि एक–अर्काबीच विश्वासको वातावरण बन्दै जानेछ । लामो दूरीको यात्रा गर्दा बहुमूल्य सर–सामानलाई लिएर चनाखो रहनुपर्नेछ ।

कर्कट

दृढताका साथ गरिएका सबैजसो कार्यमा सफलता हात लाग्नेछ । अभिभावकको सुझाव मनन गर्दा थप उचाइमा पुगिनेछ । विशेष कार्य योजनाको जग बस्नेछ, जसका कारण उपहारका साथ माया गर्ने व्यक्तिहरूको ओइरो लाग्न सक्छ । नाम तथा दाम आर्जन गर्न सकिनेछ ।

सिंह

आकर्षणको पात्र बन्न शरिरिक सुन्दरतामा विशेष ध्यान पुर्‍याउनुपर्नेछ । घरायसी व्यवहारको चटारो आइलाग्न सक्छ । अभिभावकहरूको सुझाव तथा भावनाको कदर गर्दा समस्या स्वत: निर्मूल हुनेछन् । बिनाकारण प्रेमिका रिसाउने सम्भावना छ । खानपान तथा शारीरिक व्यायाममा ध्यान पुर्‍याउनुहोला ।

कन्या

काममा सफलता हात लाग्नेछ । आफ्नो परिचय अझ विस्तृत बनाउने अवसर प्राप्त हुनेछ । विपन्नहरूलाई सहयोग गर्दा सामाजिक प्रतिष्ठा आर्जन होला । उपहारका साथ भेट्न आउनेहरूसँग सावधान रहनु पर्नेछ । हरियो रंग प्रयोग गर्नु लाभदायक हुन्छ ।

तुला

स्वार्थी मित्रहरूले घेरा हाल्न सक्छन् । उनीहरूबाट टाढै रहनुमै आफ्नो भलाइ छ । गरिब तथा अपाङ्गहरूलाई सहयोग गर्न मन उत्साहित हुनेछ । नयाँ अवसरसँगै सवारी साधन जोडिने सम्भावना टरेको छैन । साताको अन्त्यमा पारिवारिक वातावरण रमाइलो हुनुका साथै खर्चसमेत वृद्धि हुनेछ ।

वृश्चिक 

तपाईंको सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गर्नेछ । स्वरोजगार हुँदा हर्षले गद्गद भइनेछ । चियोचर्चा गर्नेहरूबाट सावधान रहनुमै आफ्नो हित छ । आफन्त तथा प्रशंसकहरूलाई फरक अनुभूति प्रदान गर्न सकिनेछ । केही दिनको अन्तरमा अन्य अवसरसमेत फेला पर्नेछन् । 

धनु

मौसमी फेरबदलका कारण सानातिना शारिरिक पीडाले पिरोल्ने सम्भावना छ । पर्यटकीय क्षेत्रको भ्रमण कार्यक्रम तय गर्दै मनोरञ्जनमा सहभागी भइनेछ । राति अबेरसम्मको यात्रा नगर्नु नै उपयुक्त हुन्छ । साताको अन्त्यतिर आहारविहारमा संयम अपनाउनु होला ।

मकर 

विपरीत लिंगीको प्रस्तावमा आलटाल गर्नाले आपसी दूरी बढ्न सक्छ । जुझारु तथा मार्ग प्रशस्त गर्ने युवा अभियानको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । पूर्वयोजना सफल भै सार्थक परिणाम हात पर्नेछ । चिसो वातावरणमा मनोरन्जन गर्दा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ

जीवनशैली परिवर्तन गर्न हितैषीको सुझाव अवलम्बन गर्नु हितकर हुन्छ । शुभचिन्तकहरूले विविध क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राख्नेछन् । अन्य मुलुकमा समेत लगानी गरी आम्दानीको नयाँ मार्ग पहिल्याउन सकिनेछ । साताको अन्त्यमा मन पर्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धनसमेत बाँधिन सक्छ ।

मीन

आर्थिक कारोबारमा अपेक्षाकृत फड्को मार्दै लगानीअनुरूप लाभ लिन सकिनेछ । विलासिताका सामग्री खरिद गर्न आकर्षित हुँदा अभिभावकहरूले सहयोग नै गर्नेछन् । मित्रहरूले भनेजस्तो सहयोग नगर्दा रोजगारीको अवसर गुम्ने अवस्था छ । दु्रत गतिमा सवारी साधन चलाउँदा विपत्ति आइलाग्न सक्छ ।

 

प्रकाशित :कार्तिक १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्