नाइँ, म ससुराली जान्नँ

- अधिकारी रवीन्द्र

कार्तिक १०, २०७४-

 

श्रीमतीको माइती वा छोराछोरीको मामाघरलाई ससुराली भनिन्छ । आफ्ना बाबुआमाका सम्धी–सम्धिना बस्ने कुटी होस् वा दरबार एउटै नामले चिनिन्छ— ससुराली । हो, त्यही ससुराली पुगेर घर फर्किरहेका एकजना भद्र पुरुषसँग मेरो जम्का भेट भयो । नारायणघाटदेखि काठमाडौंसम्मको यात्राका क्रममा भएको भलाकुसारीमा उनले ससुरालीका बारेमा गज्जबकै परिहास गरे । उनी ससुरालीको नालीबेली यसरी सुनाउँदै थिए :

चलनचल्तीको कथन नै छ— ससुरालीको मेजमानी । सम्भवत: भन्नचाहिँ यस्तो खोजिएको होला– ससुरालीमा जस्तो ऐश–आराम अन्त कतै हुँदैन । ससुराली जिउँदै देखिने स्वर्ग हो । ससुरालीमा सन्ताप हुँदैन, त्यहाँ आसामीहरू ऋण माग्न आउँदैनन्, साहू साउँ उठाउन आउँदैन । मन लागेको खानेकुरा खान उधारो खाता खोलिरहनु पर्दैन । खाएको आफ्नै हुन्छ, पाएको सित्तैं हुन्छ । जम्बो पिर्कामा गजघट्ट पलेंटी कसेर खण्डेथाल, वरिपरि बटुका र रिकापीहरूमा पस्किएका, आउने–नआउने नामका, मीठा–नमीठा स्वादका, डल्ला–लाम्चा आकारका, पँहेला–खैरा रङ्गका, गिला–साह्रा गुणका, चिल्ला–खस्रा वर्णका खानेकुरा मन लागून्जेल खाइन्छ । घिउले ओठसमेत चपचिल्लै पारेर पस्किनेको आँखा छली हर्थुङ्गो पनि चाट्न भ्याइन्छ । दही जुङ्गै लत्पतिने गरी गोदिन्छ, भाग उठिसकेपछि पनि पाए माने गिलासमा दूध बाँकी राखिँदैन । 

ससुरालीमा कसैले काम अह्राउदैन, कसैले केही गर्दिए हुन्थ्यो जस्तो पनि गर्दैन । ससुरालीमा खोलेको राग आउँदैन, सिस्नु र पानीरोटीको अवशेष भेटिँदैन, अर्थात् ससुरालीमा अराष्ट्रिय (ज्वाइँलाई मन नपर्ने) तत्व किञ्चित हुँदैन । सानो छँदा वल्लापल्ला घरमा ज्वाइँ आउँदा दलानमा पन्जाबी राडी बिछ्याई असरठ्ठ उत्तानो सुतेको देख्दा लाग्थ्यो, आफू पनि ससुराली जान पाए हुन्थ्यो तर ससुराली जान कम्तीमा एउटा बिहे गर्नैपर्ने रहेछ भन्ने कुरा धेरै पछि बुझियो र बुझ पचाएरै बसियो । ससुराली गएपछि करबलले पेट फुट्ने गरी घाँटी–घाँटीसम्म नआउन्जेल खीर तरकारी धोक्र्याएर आकाशका मस्यौरे बादल गन्दागन्दै घुर्ने ज्वाइँहरूमध्ये एक ज्वाइँमै पनि थिएँ ।

कुनै पुरुष सबैभन्दा सोझो र शिष्ट कहिले हुन्छ ? निश्चय नै ससुरालीमा छँदा । किनभने त्यहाँ उसका अम्मल र गलत आदतका दोहोलो हुन्छन् । चुरोट खानेले चुरोट छोड्छ, रक्सी धोक्नेले रक्सी अनि सुर्ती च्याप्नेले सुर्ती छोड्छ । गुट्का, सुपारी, शुद्धप्लस सबै अम्मलका अन्त्य हुन्छन् ससुरालीमा छउन्जेल । त्यहाँ मुख छाड्न पाइन्न, त्यहाँ कौडा हान्नँ पाइन्न, त्यहाँ केटी जिस्क्याउन पाइन्न, त्यहाँ अनर्थका फिलिम हेर्न पाइन्न । कौडा वा तास खेले पनि साह्रै सोझो पल्टेर हारिदिनुपर्छ नत्र केटो बिग्रिएको बाह्रमासे रहेछ भन्ने सुइँको पाइहाल्छन् । ससुरालीमा नम्र बन्नुपर्ने हुन्छ, हल्का लजाएजस्तो गर्नुपर्ने हुन्छ । केटो रातारात सुध्रिने ससुरालीजत्तिको सुधारगृह सम्भवत: अन्त कतै छैन । ससुरालीको अर्को रमाइलो पक्ष जति पटक ज–जसले टीका लगाइदिन्छन् त्यति नै पटक नोटहरू खाममा सिल्बन्दी भएर गोजिमा आइपुग्छन् । टीकाटाला भन्नासाथ बस्, मन प्रफुल्लित पारेर आँखा चिम्लेर हात थापिदिए हुन्छ अर्थात् बिना लगानी हातमा खन्खनी कान्छीनानी ।

उ भन्दै थियो, ‘ससुराली अब त दिक्कै भो । नौ वर्ष भैसक्यो जान थालेको । दुई दिन कटेर तीन दिन पुगेपछि त...त्यही हो । ससुराली जहिले पायो तहिले जानु पनि हुँदैन रहेछ । तिहारमा जाँदा थाहा हुन्छ ससुरालीमा ज्वाइँ कतिसम्म निकम्मा हुन सक्छ भन्ने । ससुराली भन्दैमा सधैं बस्न थाल्यो भने घरज्वाइँको उपाधि प्राप्त हुन्छ । सम्भवत: पुरुषका लागि घरज्वाइँ जत्तिको अप्रिय शब्द अरू कुनै छैन । ससुरालीसम्बन्धी एउटा अर्को उखान छ– घरै पिँडालु वनै पिँडालु ससुराली जाँदा बाह्रहाते पिँडालु । घरमा सिजनका एउटै चिज खाँदा–खाँदा मुख फेर्न ससुराली जाँदा संयोगवश त्यही तिहुन खानु पर्दा यो उखान झल्झली सम्झना आउँछ । 

मेरो जिज्ञासु अनुहार वास्ता नगरी ऊ निरन्तर बोल्दै थियो, ‘नाइँ अब त म मरिगए ससुराली जान्नँ ।’ मैले सधैं, किन र होलेरीबाट आउने वान वे टिकेट खर्च नि पुगेन दक्षिणाले ? उसले भन्यो, ‘होइन दक्षिणा त सुरुको सालदेखि नै पुरै खलक मलाई खालमा बसाएर म्यारिजको दाउ थाप्न लाउँछन्, हारेर कहिल्यै दुमडी बाँकी हुँदैन । हार्ने डरले ससुराली जाँदा सधैं टाइट बजेट मै हिँड्छु ।’ मैले सोधे– ‘अनि के त ?’ उसले भन्यो– ‘घोराहीबाट हस्याङफस्याङ गर्दै तीन घण्टा उकालो लाग्नुपर्ने, त्यहाँमाथि पछिल्लो बाटो पूरै एक घण्टा आइकभर लगाएको घोडा जसरी डरले अगाडिमात्र हेरेर दगुर्दासमेत झाडी छिचल्न सकिँदैन । जङ्गलको सन्त्रासले मन, मुटु र आत्मा मरेर जीउ मात्र बाँकी हुन्छ । केही हप्तादेखि जापानिज स्पिच भनेर दुर्छे कुकुर पालेका रहेछन्, दैलोमै के टेकेको थिएँ घुँडामा क्याक्कै पार्‍यो तोर्पेले । आफुलाई कुकुर भनेपछि फिटिक्कै मन नपर्ने एक पटक होइन, दुई पटक होइन, दुई दिन बस्दा तीन–तीन पटक टोकेपछि दिग्दार लागेर काठमाडौं फर्कंदै छु । बिहेबटुलो गरेर सालीहरू पनि सिद्धिएपछि ससुराली जाने रहर पनि पुग्दै आ’को बेलामा ज्वाइँलाई टोकाउने कुकुर पाल्ने घरमा को जाओस् ?’

ravinems@iom.edu.np

 

प्रकाशित :कार्तिक १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्