विश्वका १५ ठूला क्यासिनो

- साप्ताहिक संवाददाता

कार्तिक ८, २०७४-

प्रत्येक वर्ष विश्वका ठूला क्यासिनोहरूका बारेमा जानकारी दिने लिस्ट २५ डटकमका अनुसार मकाउस्थित द भेनिटिना क्यासिनो संसारकै सबैभन्दा ठूलो क्यासिनो हो । जुवाको सहरका रूपमा विकसित हुँदै गएको चीनको मकाउस्थित भेनिटिना क्यासिनो क्षेत्रफल तथा सुविधाका हिसाबले संसारकै सबैभन्दा ठूलो क्यासिनो हो । सन् २००७ मा निर्माण सम्पन्न भएको उक्त क्यासिनो ५ लाख ५० हजार स्क्वायर फिटमा फैलिएको छ । आफ्नै रिसोर्टसमेत भएको उक्त क्यासिनोमा जुवा खेल्न चार तहका सुविधा छन्, जुन इम्पेरियल हाउस, गोल्डेन फिस, फोनिक्स तथा रेड ड्रयागन हुन् । यसलाई जुवाको डिज्निल्यान्ड समेत भनिन्छ । 

विश्वको दोस्रो ठूलो र अमेरिकाको सबैभन्दा ठूलो क्यासिनो हो— विनस्टार । १ हजार ५ सय लक्जरियस कोठा भएको होटलको बीचमा अवस्थित यो क्यासिनोभित्रै गल्फ मैदान तथा बुल राइडिङ एरिना छन् । 

लक्जरियस १ हजार ४ सय बेडरुमसहितको जुवाघर हो— सिटी ड्रिम्स । बहुउदेश्यीय व्यापारका लागि तयार गरिएको सिटी ड्रिम्सको एउटा मुख्य व्यापार क्यासिनो हो । ४ लाख २० हजार स्क्वायर फिट छुट्याएर जुवाघर संचालन भैरहेको ड्रिम्समा स्थायी अपार्टमेन्ट, हाड रक क्याफे तथा दर्जनौं रेस्टुराँ छन् । आफ्नै व्यवसायिक पौडी पोखरी भएको यो क्यासिनो क्षेत्रमा पानीसँग सम्बन्धित विभिन्न कला पनि अवलोकन सकिन्छ । 

जुवाको सहर लसभेगासका क्यासिनोलाई जितेर अमेरिकाकै मासहन्टुकेट सहरमा स्थापित एउटा क्यासिनोलाई संसारकै चौथो ठूलो क्यासिनो मानिन्छ । यो क्यासिनो ४ लाख ४४ हजार स्क्वायर फिटमा फैलिएको छ । यो क्यासिनोमा खेलाइने जुवा ५ थिममा बाँडेर खेलाइन्छ । त्यहाँ पुग्नेहरूले हाड रक क्याफेको सेवाका साथै साहारा सिल्भरम्यान, एमी स्कुमर, एलिका कि तथा आइडिना मिनजेलजस्ता मनोरन्जक स्थलको यात्रासमेत गर्न पाउँछन् । 

२ लाख ७० हजार स्क्वायर फिटमा फैलिएको जुवाघर हो— क्यासिनो पोनिट–१६ । दु्रत रूपमा जुवाको सहरका रूपमा विकसित भैरहेको मकाउको जुवा कम्प्लेक्समा अवस्थित यो क्यासिनो संसारकै पाँचौं ठूलो क्यासिनो हो । यो जुवाघर माइकल ज्याक्सनको म्युजियम रहेको भवनमा थियो तर उक्त म्युजियम अहिले त्यहाँबाट सारिसकिएको छ । 

दक्षिण अफ्रिकाको रिओ क्यासिनो रिसोर्ट संसारकै छैटौं ठूलो क्यासिनो हो । क्षेत्रफलका हिसाबले जुवा खेल्ने स्थान अरूभन्दा सानो भए पनि यसको समग्र बनौट भने ठूलो छ । यहाँ जुवा खेल्न ४६ हजार स्क्वायर फिट बराबरको ठाउँ छुट्याइएको छ । 

मकाउस्थित सेन्ड्स मकाउ क्यासिनोको स्थापना २ अर्ब ४ करोड डलरको लगानीमा गरिएको हो । अचम्मको कुरा के भने त्यति धेरै लगानी गरेर निर्माण गरिएको यो क्यासिनोले एक वर्षमै लागत उठाएर इतिहास बनाएको थियो । त्यसको अर्को वर्ष नै यो यति ठूलो भयो कि यसलाई विश्वकै सबैभन्दा ठूलो क्यासिनो क्यासिनोमध्ये एक मानियो । त्यसपछि अहिलेसम्म यो क्यासिनो टप टेनबाट बाहिरिएको छैन । सेन्ड्सलाई मकाउको प्रिमियर इन्टरटेन्मेन्ट तथा जुवाको अखडा पनि भनिन्छ । 

जुवा खेल्न र खेलाउन छुट्याइएको २ लाख २२ हजार स्क्वायर फिटमा फैलिएको मकाउस्थित एमजीएम क्यासिनोमा जुवा खेल्न विश्वका नामुद जुवाडेहरू पुग्छन् । जुवाको राजधानीका रूपमा विकसित हँुदै गएको मकाउको केन्द्रमा अवस्थित यो क्यासिनो तीन रंगको टावरमा छ । ६ वटा ठूला खालका जुवाको खाल सञ्चालन हुने यो क्यासिनोमा बर्सेनि लाखौं जुवाडे पुग्छन् । 

विश्वचर्चित सेलिब्रेटिहरूले दैनिक मनोरञ्जक प्रस्तुति दिने अस्ट्रेलियाको मेलबर्नस्थित क्राउन क्यासिनोले जुवापारखीहरूलाई आकर्षित गर्दै आएको छ । यो क्यासिनोमा १ हजार ६ सय ४ बेडसहितको होटल पनि छ । २ लाख २२ हजार स्क्वायर फिट क्षेत्रफल बराबरको जुवाघर भएको यो क्यासिनोको अर्को विशेषता मेलबर्नको सवैभन्दा ठूलो व्यापारिक कम्प्लेक्समा हुनु पनि हो । 

१ हजारभन्दा बढी पाहुना कक्ष तथा लबीमा प्रिन्सेस क्युङ सेनिसाटी भासेसको तस्बिर अवलोकन गर्न सकिने सुविधासहितको रेस्टुराँसमेत भएको मकाउको बावेन क्यासिनो अर्को प्रख्यात क्यासिनो हो । २ लाख ५ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएका यो जुवाघरमा धनाढ्यहरूको भीड लाग्छ । 

१ लाख ८५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको क्यासिनो लिस्वोलाई हङकङका पुराना क्यासिनोको मोडलमा चलाइएको छ । यसको शाखा अमेरिकाको लस भेगासमा पनि छ । 

अमेरिकाको लस भेगासस्थित एमजीएम ग्रान्ड क्यासिनोमा १ लाख ७१ हजार ५ सय वर्गफिटको जुवाघर छ । अमेरिकाको प्रसिद्ध एमजिएम होटलमा सञ्चालित यो जुवाघरमा व्यवसायिक बक्सरहरूबाट दैनिक बक्सिङ प्रतिस्पर्धाको मज्जा लिन सकिन्छ भने त्यहाँ विभिन्न रात्रिकालीन मनोरञ्जन पनि प्रदान गरीन्छ । 

अमेरिकाको एटलान्टास्थित द वोरगाटा क्यासिनो संसारकै १३ औं ठूलो क्यासिनो हो ।

सन् २००३ मा स्थापित यो क्यासिनो १ लाख ६१ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ । जुवा खेल्न आउनेहरूका लागि डिलक्स सुविधा उपलब्ध गराउने यो क्यासिनोमा प्रवेश गर्ने व्यक्तिको कडा सुरक्षा जाँच गरिनुका साथै हस्ताक्षरसहित विस्तृत परिचय समेत लिइन्छ । 

सिंगापुरस्थित मेरिना वे सेन्ड्स क्यासिनो १ लाख ६० हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । यो क्यासिनो सिंगापुरको स्काइ पार्क टावरमा ६ सय फिट अग्लो स्थानमा सञ्चालित छ । यसलाई बगैंचा, डाइनिङ पार्क जस्ता कुराले आकर्षक बनाइएको छ । 

सिंगापुर र थाइल्यान्ड दुवै देशमा सञ्चालित रिसोर्ट वल्र्ड सेन्टोसा संसारकै १५ औं ठूलो क्यासिनो हो । १ लाख ६० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यो क्यासिनोमा विश्वकै सर्वाधिक महँगो युनिर्भसल स्टुडियोसमेत सञ्चालनमा छ ।

 

प्रकाशित :कार्तिक ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्