यौनिक अपराध वृद्धि र कामुक पहिरन

- डा. सुमनराज ताम्राकार

कार्तिक ६, २०७४-अहिले विशेषत: महिला तथा युवतीहरूविरुद्ध हुने यौनिक अपराध वृद्धि हुनुमा उनीहरूले लगाउने कामुक पहिरनलाई दोष लगाउनेहरूको कमी छैन । गर्मी याममा कतिपय युवतीले लगाउने पहिरन हाम्रो जस्तो समाजका लागि जिब्रो टोक्नुपर्ने खालको हुन्छ । आफू हुर्के–बढेको समाज यौनका हिसाबले कति उदार छ त्यसमा पनि धेरै कुरा निर्भर हुन्छ । कतिपय विदेशी युवतीले उनीहरूका लागि सहज लाग्ने पहिरन लगाएर आउँदा नेपालजस्तो यौनको मामिलामा अनुदार समाजमा हुर्की बढेकाहरूले असहज लाग्ने गरी घुरेर हेर्नुलाई अनौठो मान्नु पर्दैन ।

शरीरलाई बाह्य वातावरणको प्रतिकूलताबाट जोगाउन कपडाको प्रयोग हुन थालेकोमा समयक्रमसँगै यौनिक दृष्टिकोणले पनि यसको महत्व बढ्न थाल्यो । सुरुमा लाज जोगाउन अर्थात् यौनाङ्ग छोप्न पोसाक लगाउन थालिए पनि समयसापेक्ष तवरमा यसमा व्यापक परिमार्जन तथा परिवर्तन हुँदै आएको छ ।

सामाजिक परिवेशमुताबिक श्लील–अश्लील निर्धारण हुन्छ । मौसम, लिङ्ग विशेष वा स्थान विशेषअनुसार पहिरनमा विविधता पाइन्छ भने श्लील–अश्लील भन्ने कुरा सापेक्षिक कुरा पनि हो । यद्यपि समाज जतिसुकै उदार भए पनि महिलाको पहिरनलाई लिएर टीका–टिप्पणी गर्ने वा महिला पहिरनप्रति तुलनात्मक रूपमा अनुदार हुने गरेको छ । रोचक कुरा त के छ भने तिनै महिलाको पहिरनको विविधता, परिमार्जन एवं उपलब्धताले फेसनको संसारलाई रंगीन बनाएको छ ।

विश्वका अधिकांश देशमा विशेषत: महिलाको यौनाङ्ग, स्तन ढाक्नैपर्ने नियम भए पनि कतिपय देशमा भौगोलिक अवस्थितिअनुसार केश, हात (कुइनासम्म), खुट्टा (कुर्कुच्चासम्म) आदि ढाक्नुपर्ने नियम पनि छ ।

समय र अवसर हेरी विविध खालका, रङ्गीवरङ्गी पहिरन लगाएको खण्डमा यसको छुट्टै महत्व पनि छ । पोसाक वा पहिरन आधारभूत आवश्यकता भए पनि कतिपयले सेक्स अपिलकै लागि पृथक् वा भड्किलो पाराको पोसाक लगाउने गरेका छन् । यसरी एकातिर पहिरनले व्यक्तित्व निर्धारणमा सहायता पुर्‍याउँछ भने उस्तै परे कामुक, भड्किलो तथा पारदर्शी पहिरनले यौन दुव्र्यवहार निम्त्याउन बेर लगाउँदैन ।

पोसाकको मामिलामा भित्री पोसाकको छुट्टै कथा छ । आधारभूत तवरले यौनाङ्ग छोप्न, त्यसलाई सुरक्षित राख्न तथा यौनाङ्गबाट निस्कने श्रावलाई अन्यत्र लाग्न नदिन भित्री पहिरन लगाइन्छ, तर फेसनको चेतनासँगै भित्री पहिरनलाई पनि यौनाकर्षक बनाउन थालिएको छ ।

यौन स्वास्थ्यका दृष्टिले श्लील तरिकाले बाह्य पहिरनले व्यक्तित्व प्रस्फुटन एवं यौन आकर्षण बढाउन मद्दत गर्छ भने भद्दा अनि कामुक पहिरनले यौन हिंसा निम्त्याउन सक्छ । भित्री पहिरनको हकमा (विशेषत: पेन्टी) सरसफाइमा उचित ध्यान दिइएन भने संक्रामक रोग सर्ने सम्भावना हुन्छ । वीर्य वा योनिश्राव लागेको भित्री पहिरन तथा प्रसवोत्तर समयमा स्तनपान गराइरहेकी महिलाको ब्रा समय–समयमा फेर्नु स्वास्थ्यवद्र्धक मानिन्छ । सिल्क (रेशम) बाट बनाइएका पहिरन सेक्स अपिलका दृष्टिले राम्रा देखिए पनि भित्री पहिरन कटन वा सुतीबाट निर्मित नरम खालको हुनु उपयुक्त मानिन्छ । पोलिस्टर वा नाइलन मिसिएको भित्री बस्त्र नलगाएकै बेस हुन्छ । 

सामाजिक मान्यताबाहिर गएर लगाइने पोसाकले यौनिक विचलन निम्त्याए सजायको भागीदार बन्नुपर्ने अवस्था सिर्जना हुन सक्छ ।

 

प्रकाशित :कार्तिक ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्