किबोर्डका लेटरहरू सही ठाउँमा छैनन्,सही भर्सन कहिले आउँछ

  • सुशील नेपालको वालबाट

- सुशील नेपाल

कार्तिक ६, २०७४- 

एक जना ८० वर्षको बूढो डाक्टरकहाँ गएछ र निकै फुर्ती लगाउँदै कुरा गर्न थालेछ ।

बूढो : मेरी २८ वर्षकी बूढी गर्भवती भएकी छे, तपाईंको के भनाइ छ त डाक्टर सा’ब ?

डाक्टर : म एउटा कथा भन्छु है । एकपटक एउटा सिकारी हतारमा बन्दुकको सट्टा छाता बोकेर सिकार खेल्न हिंडेछ । जंगलमा पुगेपछि उसले एउटा बाघ देखेछ र हत्त न पत्त छाता तेस्र्याएछ । ढ्याम्म त्यो बाघ त्यहीं ठहरै भएछ ।

बूढो : यो त असम्भव छ, कुनै अर्को व्यक्तिले बाघलाई बन्दुक हानेको हुनुपर्छ ।

डाक्टर : हो, मेरो भनाइ पनि यति मात्र हो ।

एउटा सहरमा एक प्रसिद्ध चित्रकार बस्थ्यो । उसले एक दिन एउटा सुन्दर चित्र बनाएर सहरको बीच चोकमा राखिदिएछ अनि चित्रको मुनि लेखिदिएछ— जो कसैले यो चित्रमा कतै केही कमी देख्नुभयो भने त्यहाँ निशाना बनाइदिनुहोला । 

जब उसले साँझपख आफूले बनाएको चित्र हेर्‍यो, त्यो चित्र निशानाहरूले गर्दा एकदम नराम्रो भैसकेको थियो, त्यो देखेर चित्रकार साह्रै दु:खी भयो । उसले सोच्नै सकिरहेको थिएन कि अब के गर्ने ? त्यति नै बेला उसको साथी त्यहाँ आइपुगेछ र उसलाइ किन दु:खी भएको भनेर सोधेछ, चित्रकारले पनि पूरै घटना बताइदिएछ । त्यसपछि उसको साथीले सल्लाह दिएछ : भोलि पनि तिमी एउटा सुन्दर चित्र बनाऊ अनि त्यसको मुनि लेख कि ज–जसले यो चित्रमा कमी देख्नुहुन्छ कृपया सच्याइदिनुहोला ।

चित्रकारले साथीले भनेजस्तै गरेछ । साँझमा जब ऊ आफ्नो चित्र लिन गयो तब त्यहाँ कसैले केही कोरेको थिएन, चित्र जस्ताको तस्तै थियो । तब बल्ल उसले यो संसारको रीत बुझेछ । अर्काको कमी औंल्याउन, अरूलाई नीच देखाउन र अरूको निन्दा गर्न सजिलो छ, तर त्यो कमी–कमजोरी हटाउन वा सच्याउन धेरै कठिन छ । 

श्रीमती : सुन्नुहोस् न हजुर, एउटा कुरा भनौं ?

शेरे : भन न पियारी, के कुरा हो र ?

श्रीमती : हजुर रिसाउनु त हुन्न नि ?

शेरे : रिसाउँदिनँ, भन न पियारी ।

श्रीमती : कुट्ने पो हो कि ?

शेरे : कुट्दिनँ.. कुट्दिनँ । भन न के कुरा हो ?

श्रीमती : (डराउँदै) ..म दुई जीउकी अर्थात् प्रेग्नेन्ट छु । 

शेरे : (खुसी हुँदै) यो त खुसीको कुरा हो नि, तर तिमी किन यति डराइरहेकी ?

श्रीमती : कलेज टाइममा मैले यही कुरा बुवालाई भन्दा धेरै गाली अनि कुटाइ खाएकी थिएँ, त्यसैले नि हजुर !

 शेरे बेहोस ।

एक दानी व्यक्तिको दुर्घटना भयो । उसलाई अत्यन्तै कञ्जुस शेरेले आफ्नो रगत दिएर बचायो । यसबाट खुसी हुँदै दानी व्यक्तिले शेरेलाई एउटा चम्चमाउँदो कार उपहार दियो ।

उक्त दानी मानिसलाई फेरि रगतको आवश्यकता परेछ । फेरि पनि शेरे रगत दिन अघि सरेछ । यसपालि चाहिं दानी व्यक्तिले शेरेलाई एक रुपियाँको चकलेट उपहार दिएछ ।

शेरेले आक्रोशित हुँदै दानीसँग भनेछ : कार किन नदिएको ?

दानी व्यक्ति : यत्रो दिन्छु तँलाई कार, जति दान गरें–गरें । अब त मेरो शरीरमा पनि तेरै रगत बगिरहेको छ । 

शेरे घर पुग्नेबित्तिकै बूढीले आत्तिँदै भनिछ : धन्न तपाईं राम्रैसँग घर आइपुग्नुभएछ । मलाई कम्ता पीर लाग्या हो र ?

शेरे : (अचम्म मान्दै) किन ? के भा’ छ र मलाई ? केही त भा’ छैन । 

बूढी : बाहिर टोलमा मानिसहरू ‘कुनचाहि जँड्याहा मर्न नसकेको कात्तिके कुकुर रक्सी धोकेर त्याँ गुको ढलभित्र लडिराखेको छ भन्दै हल्ला गरिरहेका थिए नि त, त्यसैले ।

शेरे सेन्टिफ्ल्याट ।

शेरेले माइक्रोसफ्ट कम्पनीको मालिक बिल गेट्सलाई चिठी लेखेछ ।

सर, मलाई तपार्इंसँग केही प्रश्न सोध्नुपर्नेछ :

१. किबोर्डका लेटरहरू सही ठाउँमा छैनन्, किबोर्डको सही भर्सन कहिले आउँछ ?

२. विन्डोज्मा स्टार्टको बटन छ, तर स्टपको बटन छैन, किन ?

३. हामी एमएस वर्ड प्रयोग गर्छौं, मिस्टर वर्ड कहिले आउँछ ?

४. किबोर्डमा एनी कीको बटन छैन, तैपनि किन कम्प्युटरले एनी की थिच्नु भन्छ ?

अब मेरो अन्तिम प्रश्न

५. तपाईंको नाम गेट्स हो, तर किन तपाईं विन्डोज बनाउनुहुन्छ ?

स–धन्यवाद ।

तपाईंको कम्प्युटर प्रयोगकर्ता ।

प्रकाशित :कार्तिक ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्