बढी कमाउने नेपाली खेलाडीहरू

- साप्ताहिक संवाददाता

कार्तिक ५, २०७४-

विदेशमा खेलाडीले यति कमाउँछन्, उति कमाउँछन् भनेर ठ्याक्कै तथ्यांकसहित समाचार आउँछ । त्यसरी नै नेपालमा भने खेलाडीको आम्दानीका सम्बन्धमा कुनै ठोकुवा गर्न कठिन छ । नेपाली खेलाडीहरू कति कमाउँछन् भनेर सार्वजनिक रूपमा जानकारी पनि दिँदैनन् । त्यसैले पनि यसमा समस्या भएको हो, तैपनि अनुमान गर्न सकिन्छ, नेपालमा खेलेर सर्वाधिक कमाउने दुई खेलाडी हुन्— फुटबलका रोहित चन्न्द र किरण लिम्बू । दुवै खेलाडी विदेशी लिगमा व्यवसायिक फुटबल 

खेलिरहेका छन् । 

रोहित पछिल्लो समय नेपाली राष्ट्रिय टिमका नियमित सदस्य हुन् । रोहित इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट खेल्छन् । उनले विदेशी लिगमा खेल्न थालेको पनि एक दशक बित्न लागिसकेको छ । यस्तोमा समग्रमा फुटबल खेलेर धेरै कमाउनेमा रोहित पहिलो स्थानमै छन् । अनुमान छ, उनले पर्सिजाबाट मासिक ५ हजार डलर प्राप्त गर्छन् । उनको वार्षिक आम्दानी ७५ लाख रुपैयाँको हाराहारीमा छ । 

अर्कातर्फ किरण उनको पारिश्रमिकका सम्बन्धमा जिज्ञासा राख्दा त्यसको उत्तर दिनबाट सकेसम्म पन्छिन खोज्छन् । किरण अहिले माल्दिभ्सको ट्रस्ट एन्ड केयेर (टीसी) स्पोटर््सबाट फुटबल खेल्छन् । यो माल्दिभ्सको माथिल्लो डिभिजनको क्लब हो र यसलाई मालेको धनाढ्य क्लब मानिन्छ । किरण महिनाको ४ हजार डलरको हाराहारीमा कमाउँछन् । त्यसमा उनको प्रदर्शनका आधारमा बोनस पनि थपिन सक्छ । यसरी हेर्दा उनी वर्षको ५० लाख रुपैयाँको हाराहारीमा कमाइ गर्छन् ।

केही समयअघिसम्ममा नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरणसमक्ष माल्दिभ्सको अर्को क्लबले मासिक ४ हजार डलर बराबरकै पारिश्रमिक दिने अनुबन्धको प्रस्ताव राखेको थियो, तर किरणले त्यसलाई स्वीकार गरेनन् । त्यसैले पनि किरणलाई उक्त क्लबको तुलनामा अहिलेको टीसी स्पोर्ट्सले राम्रो पारिश्रमिक दिइरहेको अनुमान गर्न सकिन्छ । नेपालमै पनि यी दुई खेलाडीले मासिक १ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक लिन्थे । 

नेपालमा लिग फुटबल हुन छाडेपछि धेरै खेलाडीको आम्दानी सुकेको छ । उनीहरू एन्फाले दिने पारिश्रमिकमा मात्र भर पर्न बाध्य छन् । आधिकारिक रूपमा सर्वाधिक कमाउने खेलाडीका सम्बन्धमा भन्ने हो भने त्यसमा सबैभन्दा अगाडि नाम आउँछ, गल्फका शिवराम श्रेष्ठको । यसको कारण हो, उनले जति कमाए, त्यो गल्फमा जितेको पुरस्कार राशि हो र यो राशि उनले आयकर तिरेपछि प्राप्त भएको रकम हो । सम्भवत: नेपालमा करको दायरामा आउने गल्फ खेलाडी मात्र छन् । यसमा शिवराम नै अगाडि छन् । उनले पुरस्कारबाट वार्षिक ७ लाख रुपैयाँभन्दा बढी कमाउँछन् । श्रेष्ठले यसरी कमाउन थालेको पनि पाँच/छ वर्ष भैसकेको छ । 

नेपाली खेलकुदमा राम्रै आम्दानी गर्ने खेलाडीमा क्रिकेटका स्टार खेलाडीहरू छन् । त्यसमा पनि अगाडि छन्, कप्तान पारस खडका । त्यसपछि शरद भेषवाकर र ज्ञानेन्द्र मल्ल । नेपालमा नियमित घरेलु क्रिकेट हुँदैन, त्यसैले यो आम्दानी उनीहरूले खेलेर कमाएका होइनन् ।

पारसजस्ता खेलाडीले वार्षिक १५ लाख रुपैयाँभन्दा बढी कमाउँछन्, तर त्यो विज्ञापनमा काम गरेबापत प्राप्त रकम हो । पारसले पनि आफ्नो आम्दानीका सम्बन्धमा खुलेर केही बताएका छैनन् । कुनै वर्ष उनको आम्दानी यो भन्दा बढी हुन सक्छ भने कुनै बेला केही कम ।

विज्ञापनबाट नै बढी कमाउने खेलाडीमा फुटबलका नवयुग श्रेष्ठ र विमल घर्तीमगर पनि छन् । दुवैले वार्षिक १० लाख रुपैयाँ विज्ञापनबाट मात्र कमाउने अनुमान गरिन्छ । नवयुग र विमलले मैदानमा खेलेर भने त्यति कमाउन सकेका छैनन् ।

प्रकाशित :कार्तिक ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्