धरापमा लोकतन्त्रको गतिशील चरित्र

- किशोर नेपाल

कार्तिक ५, २०७४- 

 

यसपटक ‘हन्ड्रेड रिपोर्टर्स’ संस्थाको आयोजनामा अमेरिकाको राजधानी वासिङ्टन डीसीमा बिहीबार सुरु भएको इनभेस्टिगेटिव फिल्म फेस्टिबल ‘डबल एक्स्पोजर’ मा सहभागी हुने अवसर पाइएको छ । चार दिनसम्म चल्ने विचार र प्रदर्शनको सिलसिला सञ्चारको क्षेत्रमा एकपछि अर्को प्रविधिगत परिवर्तन भैरहेका बेला चलचित्र विधाले महत्त्व पाउनु स्वभाविक हो । सामाजिक एवं आर्थिक रूपान्तरणका लागि चलचित्र सर्वाधिक प्रभावकारी प्रविधि हो ।

चाहे सामाजिक तथा मानसिक द्वन्द्वको चित्रणमा होस् वा भ्रष्टाचारजस्ता जघन्य सामाजिक अपराध निर्मूल गर्नका लागि होस् अथवा समाजमा चेतनाको प्रवाह तीव्र पार्न नै किन नहोस्, सिनेमाको प्रयोग सधैँ फलदायीसिद्ध हुँदै आएको छ । सिनेमा आफैंमा मानिसको अवतार हो । सिनेमाले सधैं समाजको यथार्थवादी मूल्यांकन गर्न सघाएको छ ।

डबल एक्सपोजर मेलामा प्रदर्शन हुने पहिलो सिनेमा हो— वन अफ अस । यो सिनेमाका निर्देशक हेइडी इविङ र रसेल ग्य्राडीले बनाएको सिनेमा जेसस क्याम्प अस्कर अवार्डका लागि मनोनीत भएको थियो । उनीहरूले ब्वाइज अफ बराकाको पनि निर्देशन गरेका थिए ।

बराका एम्मी अवार्डका लागि मनोनीत थियो । अर्को सिनेमा डेट्रोपियाले सनडान्स र एम्मी अवार्ड जितेको थियो । अहिले आयोजित डबल एक्सपोजरमा दर्जनभन्दा बढी सिनेमा प्रदर्शित हुनेछन । हन्ड्रेड रिपोर्टर्स यस्तो संस्था हो जसले मेक्सिकोका हावियर वाल्देजको हत्या, पपुआ न्युगिनीमा राजस्व ठगी, कम्बोडियाका मानव अधिकारविरोधीलाई अमेरिकाले दिएको तालिमजस्ता सयौं विषयमा छानबिन गराएको छ । हन्ड्रेड रिपोर्टसले ट्रान्सपरेन्सी इन्टरनेसनल, क्रस कर्भेन्ट्स फाउन्डेसन, म्याक अर्थर फाउन्डेसन आदि संस्थाहरूसँगको सहकार्यमा भ्रष्टाचारविरोधी समाचारलाई प्रोत्साहित गर्ने गरेको छ ।

लोकतन्त्र जतिसुकै राम्रो व्यवस्था भए पनि प्रेस र लोकतन्त्रका बीच सहकार्य भएन भने लोकतन्त्रले काम गर्न सक्दैन । नेपालका राजनीतिक दलहरूले अहिले शक्ति र धन प्रयोग गरेर मिडियाकर्ममा व्यापक हस्तक्षेप गरेका छन् । हरेक दलका आफ्नै पत्रकार छन् । पत्रकारको सामथ्र्यको परीक्षण उसको योग्यता, अध्ययन, अनुभव र विचारका आधारमा होइन, नेताहरूसँग उसको निकटताका आधारमा हुने गरेको छ । यसले गर्दा लोकतन्त्रको गतिशील चरित्र धरापमा परेको छ ।

अमेरिकामा मिडिया निरपेक्ष कम्पनीहरू पनि छन्, जो मिडियालाई महत्व दिँदैनन् । अमेरिकाका उद्योगी–व्यापारी मिडियासँग व्यवहार गर्नु भनेको दाँतको रुट क्यानल सर्जरी गर्नुजस्तै हो भन्ने सोच्छन् । उनीहरू मिडियासँग सकेसम्म मौन बस्छन् । मिडियाका सम्बन्धमा उनीहरूको कुनै रणनीति हुँदैन । मिडियासँग केही कुरा गर्नुपरे कार्यकारी प्रमुखले नै गर्छन् र बेलाबेलामा प्रेस वक्तव्य निकालेर आफ्नो स्थिति स्पष्ट पार्छन् । जनसम्पर्कका लागि कसैलाई खटाउँदा पनि खटाउँदैनन् । त्यस्तै कुनै विषय उठिहाल्यो भने कम्पनीको कुनै उच्च अधिकारीले पत्रकारसँग आफैं वार्ता गर्छन् ।

सन् १९८० देखि धेरैजसो ठूला बहुराष्ट्रिय कम्पनीहरूले सोफिस्टिकेटेड मिडिया नीति बनाउन थालेका हुन् । त्यसपछि मिडियासँग व्यवहार गर्न जनसम्पर्क अधिकारी र सल्लाहकारहरू भर्ती गर्ने चलन चल्यो ।

विज्ञप्ति, पर्चा र पोस्टरहरू मिडिया कार्यालयमा ओइरिन थाले । ती कम्पनीका कार्यकारी प्रमुखहरू मिडियासँग सम्बन्धित तालिमहरू पनि लिन्छन् र सङ्कटकालीन अवस्थाका लागि योजनासमेत बनाउँछन् । मिडियाले कुनै पनि कर्पोरेट हस्तीको सार्वजनिक प्रतिष्ठाको हत्या गर्न सक्छ भन्ने मान्यता स्थापित हँुदै गएको छ । केही कम्पनी मिडियासँग दोहोरो संवादको स्थितिमा हुन्छन् र व्यवसायिक कामको मात्र चर्चा गर्छन् । मिडियासँग दीर्घकालीन सम्बन्ध बनाउने नीतिका कारण उनीहरू लाभमा रहन्छन्, तर धेरैजसो कम्पनी देखाउनका लागि मात्र यो नीति अवलम्बन गर्छन् । उनीहरूको निहित नीति अलग हुन्छ ।

उद्यमी–व्यवसायीहरूले अपनाएका यी अन्तर्राष्ट्रिय नीतिहरूको सापेक्षतामा नेपालको उद्योग–व्यवसाय एवं मिडियालाई हेर्नु गलत हुनेछ । केही वर्षअघिसम्म पनि नेपालका उद्यमी–व्यवसायीहरूका लागि मिडियाको कुनै महत्व थिएन । उनीहरू आफूलाई चाहिएका बेला मिडियालाई प्रयोग गर्थे । मिडिया पनि देशका ठूला उद्योगपति एवं व्यापारी वर्गले आफ्नो खोजी गरेकोमा पुलकित हुन्थ्यो । अहिले त्यस्तो स्थितिमा आमूल परिवर्तन आइसकेको छ ।

प्रकाशित :कार्तिक ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्