उमेरको अंक र जीवनको तरंग

- सुविन भट्टराई

कार्तिक ४, २०७४- 

कलेजको पढाइ सकिएर थेसिसको तयारीमा थिएँ । फेसबुक भन्ने चिजको भर्खरै आविष्कार भएको थियो । साथीहरू फेसबुकका बारेमा कुरा गर्थे । मैले केही बुझिरहेको थिइनँ । मैले उनीहरूले भनेबमोजिम फेसबुकमा आफ्नो एकाउन्ट खोलेँ । 

त्यसपछि त के थियो र ? मैले एक्लो महसुस गर्नु परेन । सबै त्यहीँ भेटिन्थे । स्कुलका साथी, कलेजका साथी, दसौँ वर्षदेखि नभेटिएका आफन्तहरू, नयाँ बनेका साथीहरू । को कहाँ छ ? को के गर्दै छ ? सबै जान्न पाएर म फुरुङ्ग भएँ ।

म कम्प्युटरअगाडि झुम्मिएर एक्लै हाँसेको देख्दा बा–आमा छक्क पर्नुहुन्थ्यो । उहाँहरूलाई लागेको हुँदो हो, कोही कम्प्युटर चलाएर पनि खुसी हुन सक्छ, तर वर्षौं पछि यही अवस्था दोहोरिएर आयो ।

दुनियाँले फेसबुकका कुरा गरेको देख्दा–सुन्दा बा–आमालाई पनि लागेछ कि उहाँहरूको फेसबुक एकाउन्ट पनि खोलिन जरुरी छ । यसर्थ उहाँहरूको नाउँमा एक–एक थान एकाउन्ट के खोलिएको थियो, सुरु भैहाल्यो एउटा नवीन खुसीको श्रृङ्खला । 

अहिले बा मुस्कुराउँदै भन्नुहुन्छ, ‘हेर् न छोरा, फलाना पनि फेसबुकमा रै’छ ।’

आमा अचम्म मान्दै भन्नुहुन्छ, ‘फलानाका त चारवटा नातिनातिना भएछन् ।’

बा मरीमरी हाँस्नुहुन्छ र भन्नुहुन्छ, ‘फलानाले क्या सटिक जोक्स हालेछ ।’

म जोक्समा पढेर भन्दा बाको खुसीमा मुस्कुराउँदै भन्छु, ‘यो त धेरै पुरानो जोक्स ।’

आमा कतै बाहिर घुमघाममा जाने बेला भन्नुहुन्छ, ‘मेरो फोटो खिचिदेओ न, फेसबुकमा हाल्छु ।’

बा पनि दसैँमा सबैका विजयादशमीको शुभकामना पढेर प्रभावित हुँदै भन्नुहुन्छु, ‘मलाई पनि विजयादशमीको शुभकामना टाइप गर्न सिकाइदेओ न ।’

आमा अर्को दिन आएर सुनाउनुहुन्छ, ‘हिजोको फोटोमा त ३० लाइक आयो ।’

बा–आमाको खुसी देखेर बाहिर नौटंकी गर्दै ‘कत्ति फेसबुक चलाइरा’ ?’ भने पनि भित्रभित्रै खुसी हुन मन लाग्छ । के कुनै बेला बाआमाले फेसबुक चलाउँदै खुसी भएका हामीलाई देखेर बाहिर झर्को–फर्को गरेको नौटंकी गर्दै भित्रभित्रै खुसी भएका थिए ?

कोही अरुको खुसी देखेर दुखी हुन्छ भने त्यो उसको कमजोरी हो । कसैलाई दु:खी नबनाई खुसी बटुल्न सकिन्छ भने त्यो उसको उपलब्धि हो । खुसी हुने कुनै पनि माध्यमलाई उमेरले छेक्दैन । मेरो सानो भतिज मन्दिरमा पुराण सुन्न पाउँदा रमाउँछ ।

हिजोआजमेरा बा–आमा फेसबुकमा रमाउनुहुन्छ । हजुरआमा युट्युबमा पुराना सिनेमाका गीत लाइदिँदा घण्टौँसम्म मख्ख पर्दै हेर्नुहुन्छ । घर अगाडिबाट बाजा बजाउँदै बिहेमा हिँडेका जन्तीको लस्कर देख्दा के बूढाबूढी, के तन्नेरी, के बालबालिका, सबै आआफ्नो छत–छतबाट, झ्याल झ्यालबाट, आँगनका डिल डिलबाट हेर्दै रमाउँछन् । उमेरअनुसारको खुसी खोज्नुपर्छ भन्ने छैन । यो मन जेमा लाग्छ, जे कुरा देखेर आनन्द हुन्छ, त्यही हो खुसी । जुन बाटो हिँड्दा थाके पनि मुस्कुराउन छाडिँदैन, त्यो हो— खुसी । जुन गीत गाउँदा आफैँ तरङ्गित भइन्छ, त्यो हो— खुसी । 

‘बूढो भएर पनि के तन्नेरीजस्तो काम गरेको ?’

‘त्यो त बुढेसकालमा गर्नुपर्ने काम पो हो ।’

‘अहिले बेला भएको छैन ।’

यहाँ समाजले खुसी हुनुपर्ने नियम तोकिदिएको छ । उमेर तोकिदिएको छ । कुन उमेर समूहले केमा खुसी हुने ? कसले कुन कुरा अँगाल्नुपर्ने ? कसले कुन कुरालाई बेवास्ता गर्नुपर्ने ? यो समाजको नियमले होइन हरेक व्यक्तिको मनले निक्र्यौल गर्ने कुरा हो । मान्छेले समाजको नियमका आधारमा होइन, आफ्नै मनको आवाजअनुसार चल्नुपर्छ । कुनै पनि कुराबाट जुनबेला खुसी मिल्छ, मानिसका लागि त्यही सही समय हो । मानिसमा परिपक्वता भन्ने कुरा उमेरले होइन व्यवहार, सँगत, अनुभव एवं दृष्टिकोणले ल्याउँछ । 

उमेर त फगत एउटा अंक हो । मानिस अंकको गणना गरेर बाँच्ने होइन । अंकको गणनामा केवल आतंक छ । मानिसले जीवनका मिठा तरंगमा निर्भीक बाँच्नुपर्छ । 

प्रकाशित :कार्तिक ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्