मगर्नी मम्मीसँग छठ

  • दीपाश्री निरौला, निर्देशक/अभिनेत्री

- साप्ताहिक संवाददाता

कार्तिक ४, २०७४

मधार्मिक प्रवृतिकी छु । चाडपर्व भनेपछि हुरुक्कै हुन्छु । सम्भवत: भगवान्प्रतिको मेरो आस्था र धर्मप्रतिको लगाव पनि मेरो सफलताको कारण हो । मेरो स्वभाव पूजापाठ गर्न मन पराउने खालको छ । सानोमा म निकै बिरामी परेकी थिएँ । मेरो स्थिति नाजुक थियो रे अनि मलाई एक जना मगर थरकी आमालाई बेचिदिएको रे । त्यसो गर्दा ज्यान जोगिन्छ भन्ने विश्वास थियो । हुन पनि उहाँको दूध खाएपछि मलाई सञ्चो हुँदै गएछ । म सानोमा तिनै मम्मीको दूध खाएर हुर्किएकी हुँ । 

छठमा म विराटनगर पुग्छु र मम्मीसँग छठ मनाउने तयारी गर्छु । छठको भोलिपल्ट मेरी जन्मदात्री आमाको तिथि पर्ने भएकाले पनि हामी सबै एक ठाउँमा जम्मा भएका हुन्छौ । मम्मी, मेरा दिदी–बहिनी तथा साथीहरूसँग छठको दुई रात अघि खर्ना बसिन्छ । खर्ना बस्दा प्रसादका रूपमा खीर पकाएर खाइन्छ अनि भोलिपल्ट राति ठेकुवा बनाइन्छ । ठेकुवा बनाउने क्रममा निकै रमाइलो हुन्छ । रातभर भजन गाइन्छ अनि नाचिन्छ । फेरि भजन गाउन मलाई कसले जित्ने ? 

भोलिपल्ट कुनिया, डालो र नाङ्लो तयार पारेर म मम्मीसँग नजिकैको सिंगिया घाट जान्छु । साँझ अस्ताउँदो सूर्यको पूजा गरेपछि त्यो रात पनि भजन गाएरै बिताइन्छ । बिहान सूर्य उदयभन्दा पहिले पानीमा आधा शरीर डुबाएर टाउकोमा कुनिया र डालो बोकेर सूर्य भगवानको उदयको प्रतीक्षा गरिन्छ । सूर्य उदय भएपछि सूर्यको दर्शन गर्दै पानीमा कुनियासहित डुबुल्की मार्दा वरपर भक्तजनले त्यसमाथि दूध चढाउँछन् । मलाई त्यो दृश्य निकै रमाइलो लाग्छ ।

पानीमा डुबेर सूर्य भगवान्को उदय पर्खदासम्म शरीर पानीको चिसोले कठ्याङ्ग्री सकेको हुन्छ । त्यसमा पनि मलाई मज्जा लाग्छ । त्यहाँ दिदीबहिनी तथा साथीहरूसँग सिंगै केराउको गेडा निल्ने प्रतिस्पर्धा चल्छ । त्यसमा कुनियाको प्रसादबाट केराउको एउटा गेडा दाँतमा नछुवाई घुटुक्क निल्नुपर्ने हुन्छ । त्यसो गर्दा मृत्युपछि स्वर्ग पुगिन्छ भन्ने विश्वास छ । हामीचाहिँ साथीहरूको भागमा ठूलो केराउको गेडा पारिदिन्थ्यौ । छठीमाईको भक्ति गरेकाले ममा उहाँको अपार कृपा छ । 

 

 

प्रकाशित :कार्तिक ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्