मामाघरको छठ

  •  विजय बराल, रंगकर्मी/अभिनेता

- साप्ताहिक संवाददाता

कार्तिक ४, २०७४

तिहारको रमाइलो नसकिँदै तराईमा छठको रौनक सुरु हुन्छ । मधेसी समुदायको पर्वका रूपमा चिनिएको छठ, मधेसमा बसोबास गर्ने अन्य जातिले पनि मनाउँछन् । मेरो घर लालबन्दी हो, जहाँ छठ धूमधामसँग मनाइन्छ । लालबन्दीको डुङडुङे खोलामा मनाइने छठको रौनक तथा रमाइलो म निकै सम्झन्छु । मौका मिले छठमा घर पुग्न मन लाग्छ ।

सानोमा साथीहरूसँग छठको रमाइलो हेर्न निकै अग्रसर भइन्थ्यो । छठ मेलाको रौनकमा रात बितेको पत्तै हुँदैनथ्यो । सूर्यास्त हुनुअगावै हामी साथीहरू जम्मा हुन्थ्यौं । डाङडुंगे खोलाको किनारमा लाग्ने भव्य छठ मेलामा विभिन्न तमासा, भजन, नाचगान आदि सञ्चालन गरिन्थे । तराईवासी भएर पनि मेरो घरमा भने छठको धूमधाम हुँदैन ।

मेरो हजुरबुवाको पुस्तादेखि हाम्रो घरमा छठको रौनक देखिन छोडेको रे । मैले थाहा पाएसम्म छठमा हाम्रो घरमा सामान्य पूजा मात्र गरिन्छ । हामी सिन्धुलीबाट तराई झरेकाले छठ धूमधामसँग नमनाउने निर्णय हजुरबुवाहरूले गर्नुभएछ । घरमा छठको रमाइलो नहुने भएकाले मचाहिँ छठ मनाउन जनकपुरस्थित मामाघरमा पुग्थें । त्यतिबेला पूरै जनकपुर छठमा रन्किएको हुन्थ्यो । 

पछि मामाहरू जनकपुरबाट बसाइँ सर्नुभयो । मेरा दुई जना मामामध्ये एक जना विराटनगर र अर्को मामा भैरहवा पुग्नुभयो । विराटनगरमा भव्य तरिकाले छठ मनाइन्छ । भैरहवामा पनि मनाइन्छ, तर विराटनगरको छठको मज्जा फरक हुँदो रहेछ । छठमा म ठेकुवा खान निकै तम्सन्छु । जब म छठका बेला घर पुग्छु, ठेकुवालाई चियासँग खान काठमाडौं पनि लिएर आउँछु, तर मेरा रंगकर्मी साथीहरूले ठेकुवाको पोको दुई दिन पनि टिक्न दिँदैनन् ।

 

 

प्रकाशित :कार्तिक ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्