अभिनेत्री आँचल शर्माका रक्षक दाजु

- सिर्जना दुवाल श्रेष्ठ

कार्तिक ३, २०७४

 

चाबहिलमा जन्मिएका आँचल र दाजु उदीपबीच १० वर्षको अन्तर छ । त्यसैले पनि आँचललाई स्कुल लाने–ल्याउने काम उदीपको जिम्मामा थियो । आँचलले ढिला गरी खाने अनि घरबाट निस्कन पनि समय लगाउने हुँदा उदीप सधैं ढिलो स्कुल पुग्थे र गाली खान्थे । त्यसैले उनी उक्त रीस पोख्न आँचललाई बाटोभरि पिट्दै–भुत्ल्याउँदैं लान्थे तर मामाघर वा अन्त कतै जाँदा भने बहिनीलाई कुम राखेर हिँड्थे । सानोमा दादासँग एकदमै डर लाग्ने आँचलको अनुभव छ ।

केही कुरा बिग्रियो भने गाली गरी हाल्ने, हात उठाइ हाल्ने हुँदा कक्षा ८ सम्म त उनलाई उदीपसँग बोल्नै डर लाग्थ्यो । स्कुलमा कम नम्बर आए पनि कसैसँग डर लाग्दैनथ्यो तर दादाको गाली खाइने भयो भनेर लुकेर बसेको आँचलको सम्झना अझै ताजै छ । अहिले आएर त्यो गाली र पिटाइलाई नै दादाको मायाका रूपमा बुझेकी छिन् आँचलले । चार–पाँच वर्षयता आँचल र उदीपबीच गहिरो माया देखिन थालेको छ । चलचित्र क्षेत्रमा लाग्ने निर्णयमा सपोर्ट गर्ने उदीप, आँचलका निर्णयहरूमा सल्लाह दिए पनि हस्तक्षेप भने गर्दैनन् ।

अहिले आँचल सबै कुरा घर आएर दाइलाई भनी हाल्छिन् । मिडिया तथा अनलाइनहरूमा विभिन्न गसिपहरू आउँदा उदीप तँ पनि हिरोइन है भनेर जिस्काउँछन् । उनीहरू घरमा हरेक साँझ खाना खानुअघि दाइले गीत गाउने र आँचलले नाचेर रमाइलो गर्छन् । उनीहरू फुर्सदमा रेस्लिङ खेलेर रमाउँछन् । रेस्लिङ खेल्ने क्रममा एकपटक आँचलको ओठ काटिएको क्षण उदीपकालागि सारै नरमाइलो क्षण हो ।

उदीपलाई आँचलको सारै माया लाग्छ । आँचलको अंगरक्षकका रूपमा उभिइहाल्ने उदीप बहिनीलाई कसैले केही भनिहाले पिट्न नै उद्यत हुन्थे । एकपटक बाटो हिंड्ने क्रममा आँचलकै गल्तीले ट्याक्सीले छोएको मात्र के थियो, उदीप दगुरेर ट्याक्सी ड्राइभरलाई पिट्न पुगिहाले । यसरी बहिनीलाई कसैले नराम्रो भने, नराम्रो दृष्टिले हेरे मात्र पनि त्यसको विरोध गरी हाल्ने दाजु पाएकोमा आँचल आफूलाई भाग्यमानी मान्छिन् । 

समान पक्ष : दुवैलाई संगीत र रेस्लिङ मन पर्छ । 

असमान पक्ष : उदीप झनक्क रिसाइहाल्छन् तर आँचल हत्तपत्त रिसाउँदिनन् ।

 

प्रकाशित :कार्तिक ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्