दाजुभाइ–दिदीबहिनीको सम्बन्ध

  • वकिल बहिनीका अभिभावक

- सिर्जना दुवाल श्रेष्ठ

कार्तिक ३, २०७४- 

नवलपरासीमा जन्मिएका कलाकार ज्योतिप्रकाशभन्दा बहिनी झल सात वर्षले कान्छी छिन् । बहिनी आफूभन्दा निकै सानी भएकाले उनीहरूबीच कहिल्यै झगडा भएन, तर बहिनीलाई पढाउन बस्दा दाइ ज्योतिले सधैं यति पनि आउदैंन, तिम्रो दिमागै छैन भनेर गाली गर्ने झललाई अझै सम्झना छ । सानो छँदा ज्योति बहिनीको रक्षककारूपमा हिँड्थे ।

ज्योतिप्रकाश त्यति बेला निकै चकचके थिए । कालीगण्डकी नदी तरेर आँप तथा काठहरू लिन जान्थे र फर्केर झललाई गन्न दिन्थे । एउटै स्कुल भएकाले उनी बहिनीको हात समाउँदै स्कूल लाने र ल्याउने काम गर्थे ।

दसैंमा लिंगे पिंग बनाउने नाइके ज्योतिप्रकाश नै हुन्थे । त्यही भएर झलले पिङ खेल्न गाउँमा पालो कुर्नु पर्दैनथ्यो । एसएलसीपछि दाइ काठमाडौं आए । केही वर्षपछि झलको पनि एसएलसी सकियो र उनी पनि उच्च शिक्षाका लागि काठमाडौं आइन् । एसएलसीपछि दाजुले काठमाडौं नल्याउनु भएको भए म वकिल बन्ने थिइँन भन्दै झल भन्छिन्– मेरो जीवनमा सबैभन्दा ठूलो सपोर्ट दाजुकै छ ।

अहिले पनि उनी कुनै पनि कदम उठाउनुअघि दाजुको राय लिन्छिन् । दाजुकै कारण आफूले सम्मानको जीवन पाएको हुँदा ज्योतिप्रकाशकी बहिनी भन्न पाउदा निकै गर्व महसुस हुन्छ झललाई । ज्योतिलाई बहिनीले वकालतको क्षेत्रमा सफलताप्राप्त गरिरहेकोमा निकै खुसी लाग्छ । समय मिल्दा उनीहरू एकअर्कासँग बिताउँछन् । रगतको नाता अरू नाताभन्दा बलियो र आत्मिय हुने यी दाजु–बहिनीको राय छ ।

समान पक्ष : छिट्टै रिसाइहाल्ने र नेतृत्व लिइ काम गर्ने बानी दुवैमा छ । असमान पक्ष : ज्योतिप्रकाश छिट्टै मन दुखाउँछन् भने झल हरेक कुरामा कठोर छिन् । उनलाई हत्तपत्त कुनै कुराले असर गर्दैन ।  

 

प्रकाशित :कार्तिक ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्