देउसीमा चलेको देश

- मनोज गजुरेल

कार्तिक ३, २०७४-

 

देउसी कहिले र कसरी खेलिन्छ ? तिहारमा खेलिन्छ, भट्याउँदै खेलिन्छ । रियल उत्तर यही हो, तर अहिले तपाईं गजुरियल पढ्दै हुनुहुन्छ । त्यसैले आउनुहोस् देउसीका बारेमा गजुरियल विश्लेषण गरौं ।

गजुरियल विश्लेषणअनुसार देउसी देशमा खेलिन्छ । विदेशमा खेलिन्छ । कात्तिकमा खेलिन्छ । वैशाखमा खेलिन्छ । नगदमा खेलिन्छ । उधारोमा खेलिन्छ ।

तिहारमा खेलिन्छ । बिहारमा खेलिन्छ । दिल्लीमा खेलिन्छ । बेइजिङमा खेलिन्छ । वासिङ्टन डिसी, डोनर एजेन्सी, युरोपियन युनियन सबैतिर देउसी खेलिन्छ, तर देउसी खेल्नेचाहिं अधिकांश हामी नेपालीहरू नै हुन्छौं ।

म त्यो देउसीको कुरा गरिरहेको छैन जुन हामी तिहारका बेला खेल्छौं । बलिराजाको कथा र चारकुने आँगनको ब्यथावाला देउसीको कुरा पनि होइन यो । बिचरा त्यो देउसी त मैले कुरा गर्न लागेको देउसीको अगाडि केही पनि होइन । यो देउसी त्यो देउसीको कथा हो जसले परम्परागत देउसीलाई विस्थापित गर्ने खतरा छ ।

परम्परागत देउसीमा एउटा प्रेम हुन्थ्यो । संस्कृति र संस्कार हुन्थ्यो । देउसीबाट उठेको सहयोग समाजसेवामा लगाइन्थ्यो । सामाजिक कार्यका लागि प्रयोग गरिन्थ्यो । मैत्रीभाव र सद्भावको विकासमा लगाइन्थ्यो तर हामीले खेल्ने अन्तर्राष्ट्रिय स्तरको देउसीले विदेशको प्रभाव, स्वदेशको अभाव र जनतामा दुर्भावको विकास बोकेको छ । 

त्यसैले देउसीको सांस्कृतिक अर्थ आफ्नो ठाउँमा छ । यसको धार्मिक अर्थ पनि आफ्नै स्थानमा होला । वर्तमानमा देउसी खेल्नु भनेको चन्दा माग्नु हो भन्ने बुझ्न थालिएको छ । त्यही चन्दाको पनि सदुपयोग भए त राम्रै हो तर दुरुपयोग बढी देखिन्छ । यसकै बलमा नेताहरूले परम्परागत देउसीभन्दा ठूलो देउसी खेलिरहेको गजुरियल ठम्याइ छ ।

बेला–बेलामा आइरहने चुनावकै कुरा गर्नुहोस् । कार्यकर्ताले योगदान र आवश्यकताका आधारमा टिकट पाउनुपर्ने हो नि, तर टिकटका लागि नेताका आँगनमा गएर देउसी खेल्नुपर्छ । शीर्ष नेतालाई बलिराजाका रूपमा सम्मान गर्नुपर्छ । चाकडी भट्याउनुपर्छ । यति गर्दा पनि कहिलेकाहीं टिकट अर्कैले उछिट्याइदिन्छ । 

राजनीति नै एउटा देउसी हो । नेताको आँगनमा गएर जसले नेतालाई बढी दक्षिणा टक्य्राउन सक्छ, उसैले नेताको आशीर्वाद पाउँछ । जसले आर्शिवाद पाउँछ टिकट पनि उसैले हात पार्छ । भट्याउन नजान्ने इमान्दार कार्यकर्ता देउसी रे भनिरहन्छ, भट्याउन जान्ने अपराधी टिकट पाएर उल्टै भन भन भाइ हो भन्दै राजनीतिमा इमान्दारिताको पाठ पढाउँन थाल्छ ।

सरकार परिवर्तनको बेलाको देउसी हेर्नुपर्छ, अहो ! क्या झिलिमिली देखिन्छ । हाम्रा देउसेहरू कहिले दिल्ली दरबारको आँगनमा समर्थन मागिरहेका देखिन्छन् । कहिले विदेश दूतावासमा आशीर्वाद लिइरहेको अवस्थामा फेला पर्छन् । यता विदेशी दूत पनि नेताका कोठरीमा देउसी खेल्दै हुन्छन् ।

आफ्नो मान्छेलाई राम्रो मन्त्रालय दिलाउन भट्याइरहेका भेटिन्छन् । कम्ती रमाइलो हुन्छ त यस्तो देउसी । अर्को दर्दनाक देउसीको कुरा सुन्नुहोस् । नेपाली युवाहरू विदेशी भूमिमा श्रमको देउसी खेल्छन् । तातो बालुवामा पसिनाको माला लगाउँछन् । थकित शरीरको लौरो टेक्दै दक्षिणा भेला गर्छन् र स्वदेश पठाउँछन् । यो पनि एक प्रकारको देउसी नै हो ।

यता स्वदेशमा नेताहरू त्यही जनताको श्रम देउसी देखाएर हामीले देशको आयस्रोत बढायौं भनेर भट्याउँछन् । मन्त्रीहरू यही रेमिट्यान्सलाई आधार मानेर राज्य बलियो हुँदैछ भन्छन् । भट्याउने नेता भट्याउँछन् र माथि पुग्छन् तर देउसी रे भन्ने जनताचाहिँ जहाँको तहीँ रहन्छन् । 

गजुरियल विश्लेषण भन्छ, हाम्रो देश नै देउसीले चलेको छ । एनजीओ, आईएनजीओहरू अमेरिकन, युरोपियन युनियनहरूको आँगनमा देउसी खेल्छन् । अधिकार र कर्तव्यको देउसी रे गाउँछन्, तर जनताले न आशिष पाउँछन् न दक्षिणाको सानो अंश नै उनीहरूसम्म पुग्छ । यसरी देउसी खेलेर, भट्याएर देश बन्नुको साटो देशको चारकुने आँगनसमेत भत्किने गजुरियल ठम्याइ छ । 

प्रकाशित :कार्तिक ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्