भैलिनी खेल्दा म डान्स गर्थें
- निशा अधिकारी, अभिनेत्री
कार्तिक २, २०७४
भैलिनी खेलेर कति जम्मा पार्नु हुन्थ्यो ?
बाल्यकालमा अनि किशोरी छँदा खेलियो । त्यति बेला हाम्रो भैलिनी समूहकी सबैभन्दा जेठी सदस्यले गोलो घेरा बनाएर एक, एक, एक, दुई, दुई, दई, पाँच, पाँच, पाँच भन्दै पैसा बाँड्नु हुन्थ्यो । यत्ति नै हुन्थ्यो भनेर सम्झना त छैन, तर एक साता बरफ तथा चकलेट खान अनि नक्कली गगल्स तथा गुडिया किन्न पुग्थ्यो ।
भैलिनी जाँदा गाउनुहुन्थ्यो कि नाच्नुहुन्थ्यो ?
म प्राय: डान्स गर्थें भने समूहमा भैलिनी पनि गाउँथें । बाल्यकालमा त भैलिनी मात्र होइन देउसी पनि खेलियो ।
पाँच जना अभिनेत्रीबीच रंगोली बनाउने प्रतिस्पर्धा भयो भने तपाईंले कुन स्थान हासिल गर्नुहुन्छ ?
हाहाहा...खै ? त्यो त थाहा भएन तर सबैले स्वच्छ मनले बनाएको रंगोलीको आ–आफ्नै विशेषता भने पक्कै होला ।
पूजा गर्दा लक्ष्मी प्रसन्न भएको कसरी थाहा पाउने ?
मन भित्रको लोभलाई हटाउन सकियो र धन सम्पत्ति भन्दा नारीलाई सम्मान र मानवता नै सबैभन्दा ठूलो धन हो भनेर, हरेक दिन धनी हुन पाउँ, जगत भलोमा लाग्ने शक्ति पाउँ भनेर मागियो भने लक्ष्मी प्रसन्न हुन्छिन् कि ? नकारात्मक भावना तथा लोभ–लालच त्याग्न सके हामी सबै प्रशन्न हुन्छौं अनि हामीभित्रकी लक्ष्मी पनि प्रसन्न हुन्छिन् ।
भाइटीकामा पाएको सबैभन्दा मूल्यवान उपहार ?
एकपटक दादा अमेरिकाबाट आउँदा भाइटीकाको दिन म पर सरें । म घरमा ममीको मन्दिर बाहेक अरू कुरा बार्दिनँ । तैपनि एकपटक दादासँग सोध्छु भनेर टीका के गर्ने भनेर सोधें । दादाले केही हुँदैन, टीका लगाउँ भन्नुभयो । त्यो माया र सम्मान मेरा लागि सबैभन्दा ठूलो उपहार थियो ।
भाइटीकाको दिन दाजुभाइबाट यही नै उपहार चाहिन्छ भन्नुभएको छ कि छैन ?
कहिलेकाहीं भन्छु । भाइटीकाकै लागि दादा विदेशबाट आउनु हुन्छ । त्यसक्रममा परफ्यूम अनि अन्य कुराहरू मगाइरहन्छु । कहिलेकाहीं चाहिँ केही पनि मगाउँदिन । दादाले आफैं ग्याजेट्हरू ल्याइदिनुहुन्छ ।
प्रकाशित :कार्तिक २, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्