तिहारको रौनक पटाका र आतिसबाजी

- एकराज सुवेदी

कार्तिक १, २०७४-

 

 

तिहारमा पड्काइने पटाकाले यो पर्वमा रौनक थप्छ । रातको समयमा विभिन्न स्थानमा पटाका पड्काएर खास गरी बालबालिकाहरूसँगै युवा–युवतीहरू पनि रमाइरहेका हुन्छन् । यद्यपि यसमा विशेष सावधानी अपनाउनुपर्ने भएकाले कतिपय अवस्थामा पटाका पड्काउन प्रतिबन्ध लगाइएको पाइन्छ ।  आतिसबाजी पटाकाको अर्को रूप हो । आकाशमा उडाएर पड्काइने भएकाले यसलाई आतिसबाजी भनिएको हो । यद्यपि आतिसबाजी विभिन्न खुसीयाली एवं समारोहहरूमा पनि गरिन्छ । 

 

पटाका तिहारको मौसममा पड्काइने विस्फोटक पदार्थ हो । विभिन्न प्रतिबन्धका बाबजुद पटाकाको निर्माण एवं व्यापार बढिरहेको छ । नेपालमा विशेष गरी भारत तथा चीनबाट आयात गरिएका पटाका प्रयोग गरिन्छ । 

 

पटाकाभित्र बारुद र अन्य विभिन्न विस्फोटक पदार्थ हालिएको हुन्छ । हवाई पटाका पड्काएर आकाशमा छोड्दा एकैछिनमा जताततै उज्यालो प्रकाश छरिन्छ । यसरी पटाकामा उज्यालो अर्थात् प्रकाश राख्न विशेष प्रकारको रसायन प्रयोग गरिन्छ । रसायनअनुसार यसको रंग पनि फरक–फरक हुन्छ । 

भारतमा पटाका बनाउने थुप्रै कारखाना छन् । ती कारखानाले सरकारले दिएको निर्देशन पालना गर्दै पटाका निर्माण गर्छन् । निर्देशनअनुसार जहाँ पटाका बनाइन्छ, त्यहाँ विद्युत्को सुविधा उपलब्ध गराइँदैन । विद्युत् उपलब्ध भयो भने सर्ट सर्किट भएर आगलागी हुने डर हुन्छ । पटाका बनाउने कारखानाभन्दा केही दूरीसम्म मात्र विद्युत् सेवा उपलब्ध गराइन्छ । 

 

पटाका बनाउन दुवैतर्फ खुला भएको टहरो बनाइएको हुन्छ । पटाका बनाउने स्थानमा प्रशस्त उज्यालो होस् भन्ने उद्देश्यले त्यस्तो टहरा बनाइएको हो । कुनै प्रकारले दुर्घटना भैहाल्यो भने पनि तुरुन्तै भित्रका मानिसलाई बाहिर निकाल्न सकिन्छ भन्ने उद्देश्यले पनि यस प्रकारको टहरा निर्माण गरिन्छ । 

पटाका बनाउन धेरै चरण पार गर्नुपर्छ । एकै पटक ठूलो परिमाणमा पटाका बनाउँदा कुनै कारणले दुर्घटना भयो भने ठूलो नोक्सान हुन्छ । त्यसैले सकेसम्म कम नोक्सान होस् भन्ने उद्देश्यले यसरी अनेकौं चरणमा यसको निर्माण पूरा गरिन्छ । 

 

भारतको शिवकाशीमा पटाका निर्माण गर्ने थुप्रै कारखाना छन् । यसको पनि खास कारण छ । पटाका बनाउन सुख्खा मौसम चाहिन्छ । शिवकाशीको मौसम भारतका अन्य स्थानभन्दा फरक छ । यहाँ तिहारको मौसमभन्दा पहिले खासै पानी पर्दैन । अन्य स्थानमा पानी पर्दा पनि यहाँ सुख्खा नै हुन्छ । तिहारको समयमा बल्ल उत्तर–पूर्वी मौसम शिवकाशी पुग्छ । यस्तो अवस्थामा यहाँबाट देशका अन्य भागमा पटाका पुर्‍याइ सकिएको हुन्छ । 

 

दुई प्रकारका पटाका

पटाका साउन्ड क्र्याकर र एरियल क्र्याकर गरी दुई प्रकारका हुन्छन् । धमाकेदार आवाज आउने पटाकालाई साउन्ड क्र्याकर भनिन्छ । आवाज आउने पटाका निर्माण गर्न पोटासियम नाइट्रेट, एलुमिनियम पाउडर तथा सल्फर प्रयोग गरिन्छ । यसबाहेक पटाकाका लागि कागज तथा अन्य सामग्रीसमेत चाहिन्छ । 

 

माथि हावामा गएर पड्किने पटाकालाई एरियल क्र्याकर भनिन्छ । रकेट तथा अन्य विभिन्न प्रकारका स्काई सटहरूलाई एरियल क्र्याकर भन्न सकिन्छ । यसमा गन पाउडर राखिन्छ । उक्त पाउडरका कारण यसमा झड्का लाग्छ र पटाका हावामा उड्छ । 

 

रकेट तथा स्काई सटमा गन पाउडरको मात्रा यसको आकारका आधारमा तय गरिन्छ । रकेटको लम्बाईका आधारमा गन पाउडर राखिन्छ । ६ इन्चको रकेटका लागि २ ग्रामसम्म गन पाउडर आवश्यक हुन्छ । २ ग्राम गन पाउडरलाई बारुदमा मिसाइन्छ । उक्त मिश्रणलाई ठोस बनाएर रकेटमा भरिन्छ । यसमा मसिनो जुटको धागो राखिन्छ, जसमा आगो सल्काउन सकिन्छ । बारुदमा मिसाइएको गन पाउडरमा आगोले भेट्दा नै झट्का लाग्छ र त्यसपछि रकेट हावामा उड्छ । 

 

पटाकाको धूवाँमा लगभग ७५ प्रतिशत पोटासियम नाइट्रेट, १० प्रतिशत सल्फर तथा १५ प्रतिशतसम्म कार्बन हुन्छ । यसमा कपर, जिंक नाइट्रेट, नाइट्रेट, म्याग्नेसियम, सोडियम, चारकोल, सल्फर, आल्मुनियम परकोलेट, बेरियम नाइट्रेट जस्ता रसायन समेत प्रयोग गरिन्छ । 

 

पटाकाको एड्भान्स रूप आतिसबाजी मानिन्छ । सामान्य रूपमा पड्काइने पटाकालाई विशेष रंगीन बनाएर आकाशमा पड्काउनुलाई आतिसबाजी भनिन्छ । सन् १८९२ मा अमेरिकामा कोलम्बसको आगमनको चार शताब्दी पुगेको अवसरमा ब्रकलिन ब्रिजमा आतिसबाजी गरिएको थियो । 

 

रंगीन आतिसबाजीको प्रदर्शन पहिलो पटक जापानमा गरिएको थियो । उक्त आतिसबाजी ३ हजार फुटको उचाइमा पुगेर २ हजार फिटको ब्यास बनाएर घुमेको थियो । सन् १९८८ को फेब्रुअरी २० मा युनाइटेड ग्लाएसियन युथ मुभमेन्टद्वारा सर्वाधिक लामो पटाका आकाशमा छोडिएको थियो । उक्त प्रदर्शन ९ घण्टा २७ मिनेटसम्म चलेको थियो । यसमा ३३ लाख ३८ हजार ७ सय ७७ पटाका तथा ६ 

सय ६६ किलोग्राम बारुद प्रयोग गरिएको थियो । 

 

अग्लो स्थानमा आतिसबाजी

जापानको होन्सु टापुमा सन् २०१४ सेप्टेम्बर ९ मा सम्पन्न कटाकाई–मत्सुरी फेस्टिभलमा गरिएको आतिसबाजीलाई हावामा उडाइएको सर्वाधिक ठूलो आतिसबाजी मानिन्छ । अहिले पनि प्रत्येक वर्षको सेप्टेम्बर ९ र १० मा त्यहाँ यस्तै आतिसबाजी गरिन्छ । उक्त आतिसबाजीले ८ सय ५० मिटर अर्थात् २ हजार ७ सय फुटको उचाइमा पुगेर ८ सय मिटरको व्यास बनाएको थियो । 

 

अग्लो भवनमा आतिसबाजी

सन् २०१५ को नयाँ वर्षको अवसरमा संसारकै सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खलिफामा ८ सय २८ मिटर अग्लो स्थानबाट चारैतिर आतिसबाजी गरिएको थियो । उक्त अवसरमा १० मिनेट भित्र १ दशमलव ६ टन भन्दा बढी आतिसबाजी छोडिएको बताइन्छ ।

 

छोटो समयमा बढी आतिसबाजी

दुबईमा नयाँ वर्ष मनाउँदा सन् २०१३ मा छोटो समयमा सर्वाधिक संख्यामा आतिसबाजीका सेल छोडिएको कीर्तिमान छ । उक्त अवसरमा ६ मिनेटमा ४ लाख ७९ हजार ६ सय ५१ सेल छोडिएको थियो, जस अनुरूप प्रतिमिनेट ७९ हजार ९ सय ४१ सेल छोडिएको कीर्तिमान कायम भएको थियो । 

 

सर्वाधिक ठूलो आतिसबाजी

सन् २०१६ को नयाँ वर्ष मनाउने क्रममा फिलिपिन्सको मनिलास्थित फिलिपिन्स एरेनामा गरिएको आतिसबाजीलाई सर्वाधिक ठूलो मानिन्छ । यसमा ८ लाख १० हजार ९ सय ४ अतसबाजीको प्रयोग गरिएको थियो । उक्त आतिसबाजी आकाशमा १ घण्टा १ मिनेट ३२ दशमलव ३५ सेकेन्डसम्म चलेको थियो । 

 

सबैभन्दा धेरैले हेरेको आतिसबाजी

सन् २००८ को बेइजिङ ओलम्पिकमा गरिएको आतिसबाजीले नयाँ कीर्तिमान कायम गरेको थियो । यसलाई सबैभन्दा धेरै दर्शकले हेरेको आतिसबाजी पनि मानिन्छ । ओलम्पिकको उद्घाटन समारोहमा १५ हजार मानिसले ३० हजार आतिसबाजी फ्याँकेका थिए । उक्त आतिसबाजीलाई संसारका ४ अर्बभन्दा बढी मानिसले टेलिभिजनमार्फत हेरेको अनुमान छ । यसमा करिब १० करोड डलर खर्च भएको थियो ।  

 

पटाका तथा आतिसबाजीसम्बन्धी केही तथ्य

 

 भारतको राजधानी दिल्लीमा यो वर्ष तिहारका अवसरमा पटाका वा आतसवाजी प्रयोग गर्न नपाइने त्यहाँको सर्वोच्च अदालतले आदेश दिएको छ । यसका कारण निकै खैलाबैला मच्चिएको छ । गत वर्षको तिहारमा भारतको राजधानी दिल्लीमा मात्र पटाकाकै कारण ६० गुणा प्रदूषण बढेको थियो भने १ हजार ८ सय विद्यालय बन्द गर्नुपरेको थियो । गत वर्ष दीपाललीमा दिल्लीमा पड्काइएको पटाकाको असर ५ दिनसम्म रहेको थियो । 

 

 भारतमा प्रतिवर्ष करिब १ खर्ब भारतीय रुपैयाँ बराबरको पटाकाको कारोबार हुने अनुमान गरिएको छ । जसमध्ये करिब १५ अर्ब करोड चाइनिज पटाकाको कारोबार हुन्छ । 

 

 भारतमा निर्माण हुने पटाकामध्ये ८५ प्रतिशत पटाका शिवकाशीमा निर्माण हुन्छन् जहाँ ठूला साना गरी ८ सय पटाका कारखाना छन् । 

 

 भारतको पटाका उद्योगमा करिब ३ लाख मानिस संलग्न छन् । 

 

 आयरल्यान्ड तथा चिलीमा पटाका वा आतिसबाजीमा रोक लगाइएको छ । त्यहाँ पटाका बेच्नु वा पड्काउनुलाई अपराध मानिन्छ । यो नियम तोडे १ हजार ७ सय डलर वा ६ महिना कारावासको सजाय दिइन्छ । 

 

 त्यसैगरी बेलायत, न्युजिल्यान्ड, नर्वे, अस्ट्रेलिया, नेदरल्यान्ड, स्वीडेन, फिनल्यान्ड, आयरल्यान्ड, स्विट्जरल्यान्ड तथा फ्रान्समा पटाका बिक्री गर्न वा खरिद गर्न नपाइने कडा नियम छ । 

 

 कुनै–कुनै देशमा पटाका बेच्न वा किन्न न्यूनतम १८ वर्ष पुगेको हुनुपर्ने नियम छ । स्वीडेन तथा नर्वेजस्ता देशमा कुनै निश्चित दिनमा मात्र पटाकाको कारोबार गर्न पाइन्छ ।

प्रकाशित :कार्तिक १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्