सम्झना देउसी–भैलोको

- साप्ताहिक संवाददाता

आश्विन ३१, २०७४

दसैं बिदा नहुँदै हामी तिहारको स्वागतका लागि तयार भैसकेका छौं । मंगलबार कागतिहारको दिनदेखि प्रारम्भ हुने यो वर्षको तिहार शनिबार भाइटीकाको दिनसम्म हर्षोउल्लासका साथ मनाइनेछ । फूलमाला, झिलिमिली बत्ती तथा देउसीभैलोको उमंगले तिहारलाई थप उल्लासमय बनाउँछ । रेडियो, टेलिभिजन तथा युट्युबमा यतिबेला तिहार विशेष गीतहरू घन्किन थालिसकेका छन् । बालबालिकादेखि किशोर–किशोरीसम्मले देउसी तथा भैलो खेल्ने समूहहरू बनाउन थालिसकेका छन् । 

पुराना चलचित्र निर्देशक तथा गीतकार यादव खरेलका अनुसार अहिले खेलिने भन्दा विगतमा खेलिने देउसी–भैलो नै रमाइलो हुन्थ्यो । दुई दशकभन्दा लामो समयदेखि प्रत्येक तिहारमा रेडियो तथा टेलिभिजनबाट दर्जनौं पटक प्रसारण हुने चलचित्र स्वर्गको तिहारै आयो लौ झिलिमिली...गीतका गीतकार खरेलका अनुसार दुई दशकअघिसम्म पनि र बिहान नहुञ्जेल रातभरि देउसी–भैलो खेलिन्थ्यो । त्यतिबेला देउसी–भैलोमा एउटा संस्कृति हुन्थ्यो । अहिले जस्तो राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्ने नियम थिएन । पहिले–पहिले महिलाहरू दिउँसो भैलो खेल्थे भने पुरुषहरू राति अबेरसम्म देउसी खेल्थे । देउसी–भैलो खेल्ने समूहले लोभलाग्दा आशिष दिन्थे । घरबेटीले देउसी–भैलो खेल्नेहरूलाई नाङ्लोमा दीप राखेर सेलरोटी, फूलपाती, चामल तथा पैसा प्रदान गर्थे । गीतकार खरेल अहिलेका देउसी–भैलोमा यस्ता कतिपय सांस्कृतिक पक्ष लोप हुँदै गएको बताउँछन् । 

व्यंग्यकार लक्ष्मण गाम्नागे दसैंलगत्तै हरेक तिहारमा सिस्नुपानी नेपालले प्रदर्शन गर्ने देउसी, भैलोको तयारीका लागि आफ्नो टोलीसँग छलफलमा व्यस्त हुन्छन् । उनी साथीहरूसँग देउसी–भैलोमा भट्याउने श्लोकहरू सिर्जना गर्छन् । झन्डै दुई दशकअघिदेखि सिस्नुपानी नेपालले मनाउँदै आएको देउसी, भैलो आममानिसका लागि चासोको विषय बन्दै गएको गाम्नागे बताउँछन् । गाम्नागेका अनुसार पहिले–पहिलेका देउसी, भैलो, महाभारत तथा रामायणका प्रसंगहरूमा सीमित हुन्थे । राम, रावण तथा पाण्डवकै कथा वरिपरि घुम्थे, तर सिस्नुपानीले उक्त चलन तोड्दै नयाँ परम्परा बसाल्यो । वर्षभरि सामाजिक एवं राजनैतिक क्षेत्रमा देखा परेका विकृति–विसंगतिहरू विरुद्ध व्यंग्य प्रहार गर्दै खेलिने देउसी–भैलोले दर्शकहरूको ध्यान तान्दै गयो र अहिले सिस्नुपानी नेपालको देउसी प्रतीक्षाको विषय भैसकेको छ । 

गायक रामकृष्ण ढकाललाई तिहारको सबैभन्दा रोचक र रमाइलो पक्ष नै देउसी–भैलो लाग्छ । गायक ढकालका अनुसार तिहार सांस्कृतिक रूपमा पनि उत्तिकै महत्व बोकेको चाड हो । देउसी–भैलो खेल्ने परम्परा त्यही संस्कृतिको एउटा मुख्य अंग हो । ढकाल सानो छँदा दसैंपछि नै देउसीको प्रतीक्षा गर्न थाल्थे । गाउँको तिहारमा उनी राति–रातिसम्म देउसी खेल्थे । गाउँका साथीभाइ बटुलेर दिउँसैदेखि देउसी खेल्न निस्किएको उनलाई हिजै जस्तो लाग्छ । त्यतिबेला आफ्नो भागमा जति रुपैयाँ परे पनि त्यो अति नै प्यारो र आफ्नै कमाइजस्तो लाग्थ्यो, गायक ढकाल सम्झन्छन्— ‘काठमाडौं आएर सांगीतिक क्षेत्रमा सक्रिय भएको केही वर्षसम्म पनि मैले देउसी खेल्ने कार्यक्रमलाई निरन्तरता दिएँ । 

संघर्षका क्रममा म गजल रेस्टुराँमा गीत गाउँथे, गजल गाउने समूहका संगीतकर्मीहरूसँग मिलेर दुई–तीनवटा तिहारमा देउसी खेल्दा खुबै रमाइलो भएको थियो । करिब १५ वर्ष भयो, मैले तिहारमा देउसी खेलेको छैन, तर तिहारका बेला घरमा आउने देउसेहरूको रमाइलो भने अहिले पनि चाख मानेर हेर्छु । स–साना भाइ तथा किशोरहरूले देउसी खेलेको देख्दा आफ्नो बाल्यकालको सम्झना आउँछ । हामी जति नै आधुनिक भए पनि तिहारमा देउसी खेल्ने परम्पराले निरन्तरता पाएको देख्दा खुसी लाग्छ । अहिले मेरो घरमा पहिले नै जानकारी गराएर ठूलै समूहमा आउने देउसेहरूले रमाइलो गर्छन् । बाजागाजासहित आउने देउसेहरूले गाउने गीत, उनीहरूले दिने आशिष यसका राम्रा पक्षहरू हुन् ।’ 

मोडल तथा अभिनेत्री सम्पदा बानियाँलाई पनि तिहारको सबैभन्दा रोमाञ्चक क्षण देउसी–भैलो नै लाग्छ । ‘वर्षमा एक पटक खेलिने देउसी–भैलो निकै मनोरञ्जक पनि हुन्छ, सम्पदा भन्छिन्— ‘तिहार आउन केही दिन बाँकि छँदै रेडियो तथा टेलिभिजनबाट बज्ने देउसी–भैली साँच्चीकै रमाइलो हुन्छ ।’ बाल्यकालमा सम्पदाले पनि धेरै पटक भैलो खेलेकी छिन्, तर एसएलसी दिएपछि भने उनी भैलो खेल्न घरबाट निस्किएकी छैनन् । 

छायांकार तथा कलाकार रवीन्द्र बराल भन्छन्— ‘भैलिनी आइन् आँगन तथा भन भन भाइ हो देउसी रे...यी दुई अति नै लोकप्रिय भाका सुन्न हामीले तिहार नै पर्खनुपर्छ । यी देउसी–भैलो गीत युट्यबमार्फत जहिले सुने पनि हुन्छ तर दसैं लगत्तैदेखि बज्ने यस्ता गीतको आफ्नै महत्व एवं विशेषता छ ।’ 

अभिनेत्री पूजना प्रधानलाई पनि बाल्यकालदेखि नै देउसी–भैलो मन पथ्र्यो । अहिले पनि उत्तिकै मन पर्छ । विगतमा भैलो खेल्दा उनको नृत्य देखेर उनीहरूको समूहले नै बढी दक्षिणा पाएको पूजनाले अझै बिर्सिएकी छैनन् । गायिका कोमल वलीका अनुसार तिहारको सबैभन्दा रमाइलो पक्ष देउसी–भैलो नै हो । पहिले–पहिले आफैं खेल्दा जति रमाइलो हुन्थ्यो, अहिले अरुले खेलेको हेर्दा–सुन्दा पनि उत्तिकै रमाइलो लाग्छ ।

प्रकाशित :आश्विन ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्