दीपावली मनाउने अनौठो शैली

- युवराज गौतम

आश्विन ३१, २०७४-

हिन्दूहरूको चाड तिहारलाई उज्यालोको पर्वका रूपमा लिइन्छ । यमपञ्चकका पाँच दिनमध्ये लक्ष्मीपूजाका दिन विशेष उल्लासपूर्ण वातावरणमा दीपावली गरिन्छ । नेपाल तथा भारतबाहेक अन्यत्र पनि फरक अवसरमा फरक शैली एवं विशेष महत्वका साथ दीपावली मनाइन्छ । कतिपय देशमा कुल देवताको पूजा गरी नयाँ वर्षको स्वागत स्वरुप दीपावली गर्ने चलन छ ।

एसिया, युरोप तथा अफ्रिकाका कतिपय मुलुकमा दीपावलीको विशेष महत्व छ । ती देशहरूमा स्थानीय धर्म, संस्कृति एवं संस्कारअनुरूप दीपावली गर्ने चलन छ । कतिपय मुलुकमा सूर्यको आराधना गर्दै दीपावली गरिन्छ । विश्वका विभिन्न देशमा रहेका भारतीय तथा नेपाली मूलका नागरिकले मात्र होइन, विश्वभर छरिएर रहेका आप्रवासी हिन्दूहरूका कारणले पनि दीपावलीको प्रभाव संसारभर परेको हो । 

भारतमा दिवाली

तिहारका अवसरमा गरिने दीपावलीलाई भारतमा दिवाली भनिन्छ । यो अवसरमा भारतका विभिन्न ठाउँमा मेला लाग्छ भने बजार तथा ठूला सहरहरूमा आतिसबाजी गरिन्छ । दीपावलीको दुई दिन पहिले त्रयोदशीका दिन धनतेरस मनाइन्छ । धनतेरसका दिन भाँडाहरू किन्नु शुभ मानिन्छ । दीपावलीको दिन मिठाईका विभिन्न परिकार बनाइन्छ । उक्त दिन धूमधामका साथ गणेश तथा लक्ष्मीको पूजा हुन्छ । मानिसहरू आफन्त तथा साथी–भाइको घरमा पुगेर मिठाई तथा उपहार बाँडछन् । दियो–बत्ती तथा आतिसबाजीका कारण उक्त रात भारतका गाउँ–सहरहरू जगमगाउँछन् । सोही दिन पवित्रताको प्रतीक रंगोली बनाइन्छ । लक्ष्मीपूजाका दिन बनाइने रंगोलीले घरमा सुख–शान्ति तथा समृद्धि भित्र्याउने विश्वास गरिन्छ । 

चीनमा नेइ महुआ

बौद्ध, ताओ तथा कन्फुसियस धर्मको बाहुल्यता रहेको चीनमा हिन्दूहरूको पनि राम्रै प्रभाव छ । चीनमा दीपावलीलाई नेइ महुआ भनिन्छ । त्यहाँ बसोबास गर्ने हिन्दूहरूले आफ्नै तरिकाले तिहार मनाउँदै दीपावली गर्छन् । गैरहिन्दूहरूले भने दीपावलीको दोस्रो दिनदेखि चीनमा नयाँ संवत् सुरु हुने भएकाले अलिक भिन्न रुपले दीपावली गर्छन् । त्यहाँ दीपावलीलाई प्रकाशको पर्वका रूपमा पनि लिइन्छ । व्यापारीहरूले हिसाबकिताबको नयाँ खाता खोल्दै धूमधामसँग यो प्रकाश पर्व मनाउँछन् । यतिबेला झिलीमिली बत्ती बालेर आतिसबाजीसमेत गरिन्छ । घरको मूल ढोकाका दुवैतर्फ मानव आकृतिका कागज टाँसिन्छ । रंगीविरंगी प्रकाश छर्ने लाल्टिन राखिन्छ भने मीठा–मीठा परिकार बनाएर दीपावली मनाइन्छ । 

जर्मनीमा स्वास्थ्यका लागि दीपावली

क्रिस्चियन धर्मावलम्बीहरूको बाहुल्यता रहेको जर्मनीमा पनि दीपावाली गर्ने चलन छ । त्यहाँ दीपावलीलाई स्वास्थ्य पर्वका रूपमा मनाइन्छ । यो अवसरमा एक–अर्काको सु–स्वास्थ्य एवं दीर्घायुको कामना गर्दै गिर्जाघरहरू झिलीमिली पारेर सजाइन्छ । त्यहाँ पनि ऋतु परिवर्तनबाट हुने रोगबाट छुट्कारा प्राप्त गर्न धूमधामका साथ आतिसबाजी एवं दीपावली गर्ने परम्परा छ । 

मलेसियामा हरि दीपावली

खराबका विरुद्ध असल पक्ष विजयी भएको उपलक्ष्यमा मलेसियामा दीपावली गर्ने चलन छ । हरि दीपावली भनिने यो उत्सवमा रावणविरुद्ध रामले विजय प्राप्त गरेको अवसरको स्मरण गरिन्छ । करिब ८ प्रतिशत हिन्दूको बसोबास भएको मलेसियामा दीपावली गर्दा फूल तथा तेलको दियोले घर सिंगारिन्छ । यो अवसरमा रमाइलो मेला, सांगीतिक कार्यक्रम एवं आकर्षक खेलहरूको समेत आयोजना गरिन्छ । 

म्यानमार र थाइल्यान्डमा बेग्लै रौनक

म्यानमारमा गौतम बुद्ध धरतीमा अवतरण भएको अवसर पारेर दीपावली तथा आतिसबाजी गर्ने चलन छ । यो दिन बौद्ध मठमा गएर पूजाअर्चना गर्ने, आ–आफ्नो घर रंगीविरंगी प्रकाशले सजाउने एवं खुसियाली मनाउने गरिन्छ । थाइल्यान्डमा भने अनिश्चितताबीच जीवनलाई निरन्तरता दिने विश्वासका साथ केराले बनेको दियोमा मैनबत्ती, सिक्का एवं धूप राखेर दीपावली गर्ने चलन छ । थाइल्यान्डमा शिख, जैन, बौद्ध तथा हिन्दू परम्पराका आधारमा दीपावली गरिन्छ । 

सिंगापुर र इन्डोनेसियामा रमाइलो

सिंगापुर र इन्डोनेसियामा पनि हिन्दूहरूको बाक्लो बसोबास छ । स्थायी रूपमा बसोबास गरिरहेका हिन्दूहरूले तिहारमा धूमधामका साथ दीपावलीको आयोजना गर्छन् । यो अवसरमा सिंगापुरमा सार्बजनिक विदा नै दिने चलन छ । सिंगापुर प्रहरीमा रहेका हिन्दूहरूले विशेष कार्यक्रमहरूको आयोजना गर्छन् । इन्डोनेसियामा पनि हिन्दूहरूको बसोबास रहेकाले धुमधामका साथ दीपावली गरिन्छ । विशेषगरी त्यहाँ रहेका तमिलहरूले दीपावलीका दिन बिहानै तेलले स्नान गरेर नयाँ पहिरन लगाउने, उपहार आदान–प्रदान एवं मन्दिरमा गएर पूजा गर्ने चलन छ ।

अमेरिकामा दीपावलीलाई मान्यता

हिन्दूहरूको राम्रै बसोबास भएको मुलुक अमेरिका पनि हो । भारत, भुटान, बंगलादेश, नेपाल आदि देशबाट अमेरिका पुगेका हिन्दूहरूले तिहार तथा दीपावली भब्य रुपले मनाउँछन् । सन २००३ मा ह्वाइटहाउसमा पहिलो पटक दीपावली मनाइएको थियो । अमेरिकी कंग्रेसमा पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले दीपावलीलाई आधिकारिकता प्रदान गरेका थिए । सन् २००९ मा तत्कालिन राष्ट्रपति बराक ओबामा पनि दीपावलीमा रमाएका थिए । २०११ मा अमेरिकामा भब्य दीपावलीको आयोजना गरिएको थियो । अमेरिकाका थुप्रै सहरमा हिन्दू परम्पराअनुसार दीपावली गर्ने चलन छ । 

अस्ट्रेलियामा सामूहिक दीपावली

अस्ट्रेलियाका विभिन्न सहरमा भारतीय तथा नेपाली मूलका मानिसहरूको बाक्लो बसोबास रहेकाले दीपावलीमा बेग्लै उत्साह देखिन्छ । सन् २००६ मा मेलबर्नको फेडरेसन स्क्वायरमा भब्य रुपमा सामूहिक दीपावलीको आयोजना गरिएपछि अस्ट्रेलियाका अन्य शहरमा पनि दीपावली मनाउन थालिएको हो । त्यहाँ रहेका नेपालीहरूका संघ–संस्थाहरूले समेत दीपावलीको आयोजना गर्छन् । अस्ट्रेलियामा प्रतिष्ठित व्यापारिक भवनहरूलाई भव्य रूपमा सजाएर दीपावली मनाइन्छ ।

 

बेलायतमा दीपावली उत्सव

बेलायतमा भारतीय तथा नेपालीहरूको बसोबास रहेकाले भव्य रूपमा दीपावली गर्ने चलन छ । त्यहाँ लक्ष्मी मन्दिरमा गएर पूजाआजा गर्ने चलनसमेत छ । दीपावलीका अवसरमा मानिसहरूले आफ्नो घरलाई दीप तथा मैनबत्तीले सजाउँछन् । यतिबेला लक्ष्मीको प्रसादका रूपमा मिठाई वितरण गरिन्छ । बेलायतमा रहेका गोर्खा पल्टनमा पनि भव्य रूपले दीपावली मनाइन्छ । यो अवसरमा बेलायती प्रधानमन्त्रीले स्थानीय हिन्दू समुदायलाई शुभकामना दिन्छन् । 

श्रीलंकामा दीपावली

श्रीलंकामा तमिल समुदायका हिन्दूहरूले विशेष रुपमा दीपावली मनाउँछन् । उक्त अवसरमा तेलको दियो बालेर धनकी लक्ष्मी देवीको आराधना गरिन्छ । त्यहाँ तेलले स्नान गर्ने, मिठाई वितरण गर्ने तथा मन्दिरमा गएर पूजा गर्ने चलन छ । रातभर घर आँगन झिलीमिली बनाइन्छ । श्रीलंकामा दीपावलीका अवसरमा विभिन्न खेल, आतिसवाजी, गायन, नृत्य एवं संगीतको प्रस्तुतिका साथ भोजको समेत आयोजना गरिन्छ । 

 

प्रकाशित :आश्विन ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्