गुण्डाहरूको संरक्षणमा लज्जित हुनुपर्छ भन्ने बोधसम्म छैन

- जनक तिमिल्सिना, भिषा काफ्ले

आश्विन ३१, २०७४-

उपत्यकाका तीनवटै जिल्लाको प्रहरी कमाण्ड सम्हाल्छन्– महानगरीय प्रहरीका आयुक्त जयबहादुर चन्द । उनले केही समयअघि दसैं–तिहारलाई लक्षित गर्दै उपत्यकामा ‘विशेष सुरक्षा योजना’ सञ्चालन गरेका थिए । त्यही योजना चलिरहेकै बेला काठमाडौंको शान्तिनगर स्थित खरिबोटमा एक हाइप्रोफाइल व्यवसायीको गोली हानी हत्या भयो । जसका कारण काठमाडौं उपत्यकाको सुरक्षा योजनामाथि विभिन्न प्रश्न उठिरहेका छन् । अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) चन्दसँग उपत्यकाको सुरक्षा ब्यवस्थामाथि केन्द्रित रहेर साप्ताहिकका लागि जनक तिमिल्सिनाभिषा काफ्लेले गरेको कुराकानी :  

शान्तिनगरजस्तो सुरक्षित भनिएको स्थानमा दिनदहाडै हाइप्रोफाइल व्यक्ति मारिनुलाई कसरी लिनुहुन्छ ?

यो दुखद् घटना हो । हामीले सक्दो प्रयास एवं परिचालन गरेका छौं, यति गर्दा गर्दै पनि यो घटना घट्यो तर सँगसँगै हामीले के पनि बिर्सनु हुँदैन भने हत्याका लागि यस्तो स्थान छनौट गरिएको छ जहाँ प्रहरीको उपस्थिति छैन । त्यो सीसीटिभी नभएको स्थान हो । यी दुई कुरालाई मध्यनजर गरी उनीहरूले धेरै दिनदेखि प्लानिङ गरेको देखियो । काठमाडौंमा यस्ता थुप्रै ठाउँ छन् । राज्यसँग मेन टु मेन पुलिस दिन सक्ने अवस्था पनि छैन र हरेक ठाउँमा आइ कन्ट्याकमा पुलिस बस्न समेत सम्भव हुँदैन । त्यसकारण अब काठमाडौंमा टेक्नोलोजी वेश पोलिसी चाहिन्छ । यही कारणले हामी भन्छौं जहाँ हामी लुज कण्डिसनमा हुन्छौं त्यसैलाई समातेर अपराधीले अपराध गर्ने हो । यो खरीबोट काण्ड पनि त्यसकै उपज हो । 

पूर्वसूचना हुँदाहुँदै पनि प्रहरीले वास्ता गरेन भन्ने आरोप छ नि ?

म तपाईंलाई इमान्दारिताका साथ भन्छु, मलाई कसैले पनि भनेको छैन । कुनै पार्टीकुलर प्रहरीलाई भनेको थियो र त्यो सूचना आदान–प्रदान भएन भने त्यसमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुन्छन् । काठमाडौं उपत्यका प्रहरी प्रमुखको हैसियतमा मलाई कसैले पनि त्यस्तो सूचना दिएका थिएनन् ।

 

केही दिन पहिले रमेश बाहुनको समूहले गौचनमाथि हातपात गरेको थियो नि ? 

बाहुन समूह भनिने गुण्डाको एउटा समूहले गौचनमाथि आक्रमण गरेको भन्ने कुरा आएको छ । यो कुरा सूचना संकलनको क्रममा छ । अनुसन्धान टोलीले यी सबै सूचना एउटै बास्केटमा हालेर केलाउने काम गरिरहेको छ । त्यहाँबाट हामी क–कसको के–कस्तो कनेक्सन छ भन्ने निष्कर्षमा पुग्न सक्छौं । अपराधको योजना कहाँ बन्यो, कसरी बन्यो अनुसन्धान टोलीले खोजीअघि बढाइसकेको छ ।

 

झापड हान्ने समूहको नाइके जेलमा छ अनि कसरी त्यसले हमला गर्छ ? 

हामीले देखेका छौं, भारतीय जेलमा बसेका गुण्डाहरूले बाहिर आफ्नो समूह चलाइरहेका हुन्छन् । यहाँ पनि त्यहींबाट सिक्ने हो । अपराधीहरूले यस्तो गर्छन् पनि । उनीहरूले जेलमै बसेर आफ्ना सेनामेना प्रयोग गरिरहेका हुन्छन् । उनीहरूले आफू पैसाको डिल गर्छन् र रकम उठाउन आफ्ना सेनामेनालाई पठाउँछन् । कतिपय अवस्थामा मेरो नामबाट माग भनेर पनि अथ्र्याउँछन् । यस्ता कुरा हुँदै आएका छन् । यसमा हामीले केही भएको छैन भन्न मिल्दैन । कतिपय मानिसहरू यिनीहरूसँग किन झमेला गरिरहने भन्दै झमेलाबाट मुक्तिका लागि, डरका कारण तथा भोलि घट्न सक्ने सम्भाव्य घटनाका कारण पैसा दिन्छन् तर हामीलाई कुनै सूचना दिँदैनन् । नभनेपछि हामीले थाहा पाउने कुरा पनि भएन । कसैको मन भित्रको कुरा अभिव्यक्त गरे न थाहा पाउने हो । पुलिस पनि यही समुदायको मानिस हो,जादु गरेजस्तो चमत्कारिक रूपमा हामीले सबै कुरा थाहा पाउने होइन ।

 

हत्याको प्रकृति हेर्दा कारण के देखिन्छ ?

अहिले हामी प्रारम्भिक अनुसन्धानमै छौं । कारण भन्ने अवस्थामा पुगिसकेका छैनौं । अहिले नै यही भएको हो भन्न सकिँदैन । घटनाको प्रकृति हेर्दा आर्थिक लेनदेनको विषय नै घटनाको कारण हुनसक्ने देखिन्छ । 

काठमाडौंमा अपराधीले गोली हान्न नदी तथा खोलाको करिडोर क्षेत्र बढी रोजेको पाइएको छ । त्यसको कारण के हो ? 

विल्कुल ठीक कुरा हो । अहिले हाम्रा प्रहरीहरू पुल–पुलेसामा सधैं ड्युटीमा हुन्छन् । त्यसको कारण पनि त्यही नै हो । त्यस्तो ठाउँ भाग्न तथा हतियार खोलामा फाल्न उपयुक्त हुँदोरहेछ । त्यो अपराध मैत्री ग्राउन्ड हो त्यसैले अपराधीले त्यही ठाउँ रोज्छ । 

लोप्साङ लामा भन्ने व्यक्ति चर्चामा छन् ? को हुन ति ? 

मैले पनि सुनेको छु, त्यसले ठाउँ—ठाउँमा फोन गरेर मैले घटना घटाएको हो भन्दै आएको छ रे † तर ऊ को हो अहिलेसम्म विस्तृत जानकारी प्राप्त हुन सकेको छैन । त्यसको स्वर पनि चिन्न सकिएको छैन् । उमाथि अनुसन्धान भैरहेको छ तर फोन गर्ने लोप्साङ लामा नै हो भनेर ठोकुवा पनि गर्न सकिँदैन । 

उसले त नेपालमा अपराधको ब्रान्ड बन्न खोजेजस्तो देखिन्छ नि ?

हो, ऊ अहिले ब्रान्ड बन्न खोजे जस्तो देखिन्छ । पहिले–पहिले पनि यही नाममा फोन गरेको भन्ने कुरा छ तर त्यो सक्कली मानिस हो कि नक्कली ? उसको नाममा अर्कैले दाबी गरिरहेको छ कि यसै भन्न सकिने अवस्था छैन । यस्ता कुरा तत्काल भनी हाल्न पनि सकिँदैन । यति राम्रो प्लान गरेर अपराध गरिएको छ । यति चाँडै यसको ठोस परिणामको अपेक्षा गर्नु मनासिव हुँदैन । प्रहरी एउटा कोर्षका साथ अघि बढेको छ । राम्रो अनुसन्धान हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु । 

लोप्साङ त पहिले दावा केसमा पनि आएको नाम हो नि ? यत्रो समयमा पनि एउटा अपराधीका सम्बन्धमा प्रहरीले जानकारी बटुल्न नसक्नु कमजोरी होइन र ?

त्यसको अनुसन्धान भैरहेकै छ तर अनुसन्धान कहाँसम्म पुगेको छ ठ्याक्कै जानकारी मलाई पनि छैन । 

मनोज पुनको विषयमा पनि कुरा आएको छ । के उसले प्रभाव फैलाउँदै लगेको हो ?

मनोज पुन नेपालमा बस्दैन भन्ने सुनेको छु । प्रहरी अपराधीलाई खोज्ने कुरामा चुप लागेर बस्दैन । निरन्तर अनुसन्धान र पक्राउ गर्न प्रहरी लागि परिरहेको हुन्छ । कतिपय अवस्थामा अपराधीहरू समयमै हात लाग्छन् भने कतिपयलाई पक्राउ गर्न केही समय लाग्छ । ढिलो चाँडो प्रहरीले सफलता प्राप्त गरेरै छाड्छ । 

प्रहरी अधिकारीहरू त नेपालमा भएका सबै गुण्डा ग्याङ हाम्रो नजरमै हुन्छन् भनेर दाबी गर्छन् । खै त नियन्त्रण भएको ?

सम्भव भएसम्म हामीले निगरानी गरीरहेका हुन्छौं तर सबैको रिमोट हाम्रै हातमा छ भनिरहेका छौ भने त्यो पनि गलत हो । जो आफूसँग छैन, आफ्नो पकेटमा छैन भने त्यो मेरो नियन्त्रणमा छ भन्ने कुरामा म सहमत छैन र म त्यसो भन्दिन पनि । एक लेवलको वाचमा चाहिँ हुन्छन् तर सम्पूर्ण रूपमा हाम्रो बाक्साभित्र ताला–चाबी लगाएर राखेका छौं भन्ने कुरा चाहिँ गलत नै हो, त्यसो हुनै सक्दैन । 

पछिल्लो एक वर्षमा उपत्यका प्रहरी उदासीन भयो गुण्डाहरू फेरि सलबलाउन थाले भनिन्छ नि ? 

यो सरासर गलत हो । यसपालिको दसैंकै कुरा हेर्नुहोस् । अघिल्ला वर्षहरूमा दसैंमा कति घटना हुन्थे, यो वर्ष कति भए ? धेरै वर्षपछि यति शान्त दसैं मनाइएको छ । यही एउटा घटनाका कारण प्रहरीको त्यत्रो कन्ट्रीव्युसन बिर्सनु हुँदैन । यसका लागि हजारौं प्रहरीको पसिना बगेको छ । दैनिक २ देखि ३ हजार प्रहरी खटिइरहेका छन् । प्रहरीको मेहनतलाई एकतर्फी रूपमा अविश्वास त गर्नु भएन नि ! 

अपराधिक क्रियाकलापमा पेशेवर सुटरहरू प्रयोग हुने गरेका छन् । ती नेपालकै हुन् कि बाहिरबाट भाडामा ल्याइन्छन् ? 

कतिपय यहीकै छन् भने कतिपय बाहिरबाट पनि ल्याइएका हुन्छन् भन्ने कुरा विगतका घटनाहरूले देखाएका छन् । काठमाडौंमा विगतमा भएका घटनामा संलग्न कतिपय पक्राउ परेका छन् । कतिपय अनुसन्धानको क्रममा छन् । हामीसँग फरारहरूको सूची पनि छ । यद्यपि फलाना–फलाना सार्पसुटर हुन् भन्ने यकिन तथ्यांक भने छैन । 

हिजै तीन जना सुटर पक्राउ परे । कसरी ठाउँ–ठाउँको सुरक्षा जाँच छल्दै सुटरहरू काठमाडौं आइपुग्छन् ? 

उनीहरूलाई काठमाडांै छिर्न कुनै समस्या छैन, कुनै पनि बाटोबाट छिर्न सक्छन् । पुलिसको चेक भएकै ठाउँमा पनि एक किलोमिटर अघि नै ओर्लिएर हिँडे भैहाल्यो । प्रत्येक मिटरमा पुलिस राख्न सम्भव छैन । अपराधीले जहाँ प्रहरी छैन त्यहीँको बाटो समाउने हो । सवारी साधनमै ल्यायो भने पनि हामीकहाँ राम्रो स्क्यानर मेसिन छैन । एउटा ट्रकलाई राम्रोसँग जाँच गर्ने हो भने ५ घण्टा लाग्छ । त्यसरी जाँच गर्न सम्भव पनि हुँदैन । त्यसका लागि हामीले टेक्नोलोजी वेश सुरक्षा अपनाउनु अत्यन्त आवश्यक छ । प्रत्येक नाकामा अत्याधुनिक एक्सरे मेसिन, स्क्रिनिङ मेसिनहरू हुनु जरुरी छ । अहिलेको जस्तो हातले छामेको भरमा हुँदैन । यसका बाबजुद यहाँका डाँडाहरूमा पनि बाटाघाटा छन्, त्यहाँ पावरफुल सीसीटिभी राख्न जरुरी छ । व्यक्तिका घर बाहेक सहरका कर्नर–कर्नरलाई सीसीटिभी क्यामेरामा कैद गर्नुपर्छ । यहाँ यत्रतत्र प्रहरी मात्र हुन्छन् । विदेशबाट पहिलोपटक आएका मान्छे त यहाँको प्रहरी परिचालन देख्दा के अप्रिय घटना घटेछ भनेर आत्तिन सक्छन् । मैले माथि नै भने अब हामीले यी सबै कुरालाई टेक्नोलोजी वेश बनाउन सक्नुपर्छ ।

भनेपछि अपराध नियन्त्रणका लागि नेपाल प्रहरीसँग साधन स्रोतको अभाव छ ?

म भन्दिन हामीले शतप्रतिशत राम्रो काम गरिरहेका छौं तर साधन स्रोतमा हामी मजबुत पनि त छैनौं नि । यस्तो बेलामा प्रहरी एकदमै नालायक भयो भन्न थालियो भने तपाईंको पुलिस यही हो अर्को साट्न पनि मिल्दैन । प्रहरीले गरेको कामको प्रशंसा पनि जरुरी छ । कुनै एउटा दुर्भाग्यपूर्ण घटनालाई जोडेर सखापै भयो त भन्न भएन नि । संसारभरि यस्ता घटना यदाकदा घटिरहेका हुन्छन् नै । भारतमा आफ्नै बडीगार्डले प्रधानमन्त्रीलाई गोली हानेर मारिदिए । हाम्रो नेपालको दरबारकै कुरा गरौं । सुरक्षामा जहिले पनि १० प्रतिशत मात्र प्रहरीको काम हुन्छ । ९० प्रतिशत अन्य तत्वहरूको प्रभाव हुन्छ । 

लामो समयदेखि नेपाल प्रहरीमा हुनुहुन्छ । नेपालमा कस्तो मनोवृत्ति भएका व्यक्तिहरू ठूला–ठूला अपराध गर्न उद्यत हुँदा रहेछन् ? 

अपराधिक मनोवृत्ति भएकाहरू चाँडै ठूलो आम्दानीको आशा गर्ने, रातारात धनाढ्य हुन चाहने, आधुनिक सरसामग्रीको उपभोगमा लालच गर्ने खालका हुन्छन् । यस्तो चाहना बढे उसलाई ठूला अपराध गर्न पनि सहज लाग्छ । त्यस्ता व्यक्तिहरूले यस्ता घटनालाई अन्जाम दिन्छन् । यसलाई रोक्न हामीसँग केही छैन । हामीले एउटा कानुन मात्र बनाएका छांै । सँगसँगै यस्ता घटनामा सामेल हुनुहुँदैन भनेर शिक्षा फैलाउने कामसम्म हामीले राम्रोसँग गरिरहेका छैनांै । आध्यात्मिक भावना कमजोर हुँदै गएको छ । मानिस बढी आधुनिक भैरहेको छ । पापले धर्मको सीमा नाघिसकेको छ । आफ्नो हितका लागि मान्छे मार्नु पनि जायज हो भन्ने भावनाको विकास भएको छ । यस्तो भावनाले निम्त्याउने अपराध नै हो ।

कुन स्कुलिङका मानिसहरू यस्ता अपराधमा सहजै फसेका छन् ? 

गाउँका गाउँ मानिस चोरी चकारीमा संलग्न भएका, अपराधमा संलग्न भएका ठाउँका व्यक्ति बढी देखिन्छन् । एउटा घरको मानिसले अपराध गर्छ, त्यसपछि अर्को घरको मानिसले पनि अपराध गर्छ भने त्यो ठाउँको अर्को व्यक्ति पनि अपराधी नै हुन्छ । अपराध कुनै लाज–सरम लाग्ने विषय होइन भन्ने स्कुलिङ भएका धेरै व्यक्ति नै यो अँध्यारो दुनियाँमा आइपुग्छन् ।

 

गाउँबाट आएको एउटा सोझो युवा काठमाडौं छिरेको केही वर्षमा देशको नामुद गुण्डा नाइके बन्छ त्यसलाई केले प्रेरित गरेको छ ? 

उसलाई यहाँको वातावरणले त्यस्तो बनाएको हो । कुनै समय त यहाँ गुण्डा नभै बाँच्नै सकिँदैन भन्ने भैसकेको थियो नि, त्यसकै प्रभाव हो । केही वर्ष अघि यहाँ गुण्डा हुनु फेसन जस्तै थियो जुन नियन्त्रणको क्रममा छ । केही वर्ष लाग्छ, तर त्यसलाई निरुत्साहित गर्दै जानुपर्छ । यसका लागि राजनीतिक संक्रमणको अन्त्य हुनुपर्छ । त्यस्तो समय अवश्य आउँछ तर प्रयास भने गरिरहनुपर्छ । नयाँ कानुन र चेतनामूलक शिक्षाका लागि अघि बढ्नुपर्छ । हामी रोकथाम मात्र भन्छौं र शिक्षालाई बेवास्ता गर्छौं भने त्यो सफल हुँदैन । सँग–सँगै रोकथामका लागि प्रविधि र साधन स्रोतको पनि विकास गर्दै लानुपर्छ । 

राजनैतिक दलका नेताहरूले गुण्डालाई संरक्षण दिने कुरा कत्तिको अनुभव गर्नुभएको छ ? 

राजनीतिक संक्रमणका बेला त्यस्तो भएको हुनसक्छ । मैले पनि कहीलेकाहीँ अनुभव गरेको छु । कुनै गुण्डालाई पक्राउ गर्दा नेताहरूबाट सुविधा दिनुपर्‍यो, चाँडै छोडी दिनुपर्‍यो, सजाय कम गराउनु पर्‍यो जस्ता कुरा आउँछन् । त्यो एक किसिमको संरक्षण नै हो । हाम्रा कतिपय नेतामा गुण्डाहरूलाई संरक्षण गर्दा लज्जित हुनुपर्छ भन्ने बोधसम्म छैन । 

भनेपछि गुण्डाहरूलाई राजनीतिक छत्रछायाँका कारण शान्ति सुरक्षामा चुनौती छ ? 

तोकेर त भन्दिनँ तर कहीँ कतै संरक्षण त छ । अहिले पनि त्यसको अवशेष बाँकी छ । केही नेता त्यस्ता तत्वको संरक्षणमा अग्रसर हुँदै आएको धेरैले देख्दै–सुन्दै आएका पनि छन् । 

 

प्रकाशित :आश्विन ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्