गोरु पुज्ने चाड

- अधिकारी रवीन्द्र

आश्विन ३१, २०७४

 

 

आदिम कालदेखि मानिसको जीवनमा जनावरहरूले अभिन्न महत्व राख्दै आएका छन् । पेट एनिमलका रूपमा कुकुर, बिरालो र लाइभस्टकका रूपमा गाईभैँसी, बाख्रा, बंगुर आदि पालिन्छ । विभिन्न धर्म, सम्प्रदाय एवं समुदायमा विभिन्न जनावरलाई बेग्ला–बेग्लै हिसाबले पुजिन्छ र उनीहरूप्रति सम्मान प्रकट गरिन्छ । चीनमा मिआओ सम्प्रदायका रैथानेहरूले प्रत्येक वर्ष सेप्टेम्बरको सुरुवातमा कुकुरलाई मिष्ठान्न भोजन गराएर, मानिसको पोसाक पहिर्‍याएर उलिनकाठमा बोकी सहर परिक्रमा गराउँछन् । आगामी वर्ष राम्रो अन्न फलोस् भन्ने कामना गर्दै त्यहाँका मानिसहरू घरघरबाट निस्किएर कुकुरप्रति कृतज्ञता व्यक्त गर्छन् । यो एउटा दुर्लभ उदाहरण हो, जुन हाम्रो नेपालमा कति छन् कति  ! 

हिन्दू धर्मअन्तर्गत तेत्तीस कोटी देवता छन् । हिन्दूधर्ममा घाँस (दूबो), झार (तुलसी), रूख (पीपल), ढुङ्गा (शालिग्राम) को मात्र नभै पञ्चतत्वका रूपमा हावा, आकाश, अग्नि, माटो तथा पानीको समेत पूजा गरिन्छ । त्यति मात्र नभै विभिन्न जीव–जनावरहरू देवीदेवताका अवतार वा बाहानका रूपमा पुजिन्छन् ।

गणेशको बाहान मुसाको अनि नागपञ्चमीमा सर्पको पूजा गरिन्छ । तिहार एउटा यस्तो चाड हो जसमा दिनहुँ फरक–फरक जनावरको पूजा हुन्छ । गाईसम्म त ठिकै पनि हो किनभने गौमातालाई वर्षैभरि श्रद्धा गरिन्छ तर काग, कुकुर र गोरुको पनि पूजा गरिने चाड यही तिहार हो । 

कागलाई संस्कृतमा काक, अंग्रेजीमा क्रो तथा वैज्ञानिक भाषामा कर्वस भनिन्छ । काग अरू चराजस्तो रङ्गिबिरङ्गी हुँदैन । कागको आवाज पनि साह्रै झर्कोलाग्दो हुन्छ । प्राय: सधैं फोहोरको डंगुर वरिपरि सिनो वा कुहिएका खानेकुरा खान घुमिरहने काग प्रात:कालीन समयमा का–का गर्दै घर अगाडि आयो भने कुनै अप्रिय समाचार ल्याएको मानिन्छ । काग यमदूत समेत भएकाले उसले प्राय: मृत्युको समाचार ल्याउँछ भनिन्छ । यस्तो चारै तिरबाट घृणित चरालाई हामी कार्तिक कृष्ण त्रयोदशीका दिन बोलाई–बोलाई मीठो–मसिनो ख्याउँछौं । 

कुकुरलाई संस्कृतमा स्वान, अंग्रेजीमा डग तथा विज्ञानको भाषामा क्यानिस भनिन्छ । सम्भवत: जनावरभरिमा कुकुरजस्तो निच जन्तु अरू छैन । रिस उठेका बेला कसैलाई गाली गर्दा पनि गधा वा कुकुर भनिन्छ । कुकुरको दु:खलाई उदाहरणका रूपमा यसरी लिइन्छ– फलानाले कुकुरले नपाएको दु:ख पायो । 

कुकुर हिन्दू संस्कृतिअनुसार भैरवको बाहान हो । स्वाननिन्द्रालाई जीवजगत्मै सबैभन्दा पातलो निन्द्रा मानिन्छ र त कुकुरले कुनै पनि खतराविरुद्ध चाँडै जागिहाल्छ । त्यसैले यमदूतका रूपमा यमपञ्चकको दोस्रो दिन कुकुरलाई फूलमाला लगाइ दिएर मीठामीठा खाने कुरा ख्वाएर पूजा–अर्चना गरिन्छ । कुकुरले नर्कको ढोका कुर्ने विश्वासले यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । 

तेस्रो दिन गाई र लक्ष्मीको पूजा गरिन्छ भने चौथो दिन गोवद्र्धन पहाड र गोरुको पूजा गरिन्छ । संस्कृतमा वृष, अंग्रेजीमा अक्स भनिने गोरुको वैज्ञानिक नाम बोस टारस हो । गोरुलाई अबुझ तथा लिंडे जनावरका रूपमा लिइन्छ, त्यसैले त्यस्ता मानिसलाई कस्तो गोरुजस्तो भनिन्छ । पहिले–पहिले जोर गोरुलाई हलीले हलोजुवामा राखी खनजोतमा प्रयोग गर्थे । उतिबेला प्रजननका लागि बहरका रूपमा कुनै एउटा घरमा गोरु पालिन्थ्यो र गाईले बहर खोजेपछि त्यही गोरु प्रयोग हुन्थ्यो । कृत्रिम गर्भाधानको प्रविधिका कारण अब गोरु कुनै कामको रहेन । सहरभरि सडक छेउछाउ गोरुहरू देखिनुको मुख्य कारण यही हो । हो, वर्षमा एक दिन ती अपहेलित गोरुले पनि इज्जत पाउँछन्, राम्रो खान पाउँछन् । 

हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारलाई दीपावली पनि भनिन्छ र यसमा थुप्रै विशेषता र पूजा आरधनाका विधिहरू छन् । रातभरि साङ्गीतिक प्रदर्शन, बाद्यवादन, देउसीभैलो, घरदैलो र छानोमा रङ्गिबिरङ्गी ध्वजापताका एवं बत्तीहरूले औंसीको अँधेरी रातलाई झिलिमिली तुल्याउने, सयपत्रीका सुनौला मालाहरूले झ्याल ढोका सजाउने, लक्ष्मीपूजाको दिन आँगनमा रङहरूको बुट्टा बनाइ पूजा गर्ने, मैन र दियोको बत्ती रातभरि बाल्ने, अन्तिम दिन भाइ वा दाजुहरू पुज्ने, दिदी–बहिनीहरूलाई उपहार प्रदान गर्ने अनि नेवार समुदायमा म्ह (आफ्नो) पूजा गर्ने जस्ता थुप्रै विविधता तिहारको पाँच दिनमा समेटिएका छन् । यो पर्वले मानिसको विभिन्न पशुपन्छीसँगको अन्तरसम्बन्धलाई एकैपटक व्यक्त गर्छ । 

 

                                                                   ravinems@iom.edu.np

 

प्रकाशित :आश्विन ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्