दाउदपथमा नेपाली डनहरू

  • रहस्यमा गौचन हत्या

- जनक तिमिल्सिना, भिषा काफ्ले

आश्विन ३०, २०७४-

२३ असोजमा शान्तिनगरको खरिबोटमा ‘हाइप्रोफाइल’ व्यवसायी शरदकुमार गौचनको गोली हानी हत्या भयो । निर्माण व्यवसायी संघका अध्यक्षसमेत रहेका डाँफे कन्स्ट्रक्सनका मालिक गौचन दिउँसो पौने तीन बजेतिर बा१३च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडीमा घरबाट निस्किएको केही मिनेटमै गाडीभित्रै मारिए । हत्या त्यतिबेला भएको थियो, जतिबेला दसैं तथा तिहारलाई मध्यनजर गर्दै महानगरीय प्रहरी परिसरले उपत्यकाका तीन जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको थियो । 

विशेष सुरक्षा योजनाकै बीच राजधानीकै मुटुमा भएको ‘हाइप्रोफाइल’को हत्या आमनागरिकका लागि अपत्यारिलो छ नै, प्रहरीका लागि समेत अप्रत्याशित बन्न पुगेको छ । ‘हामीले दसैं–तिहारका लागि विशेष सुरक्षा योजना लागु गरेका छौं, यस पटक दसैंमा कहीं पनि अप्रिय घटना भएन,’ महानगरीय प्रहरीका आयुक्त एआईजी जयबहादुर चन्दले साप्ताहिकसँग भने, ‘तर सोमबार अप्रत्याशित रूपमा अप्रिय घटना घट्न पुग्यो ।’ 

अपराधीले लामो समय अध्ययन गरेर योजनाबद्ध रूपमा सिसिटिभी जडान नभएको क्षेत्र छनोट गरी गौचनको हत्या गरेको देखिन्छ । प्रहरीका अनुसार सिसिटिभी जडान नभएको क्षेत्र भएकाले सुटरहरूको पहिचान गर्न प्रहरीलाई अप्ठ्यारो परिरहेको छ । हत्यालगत्तै प्रहरीले काठमाडौंको सुरक्षा व्यवस्था कडा मात्र पारेको छैन, दुईवटा अनुसन्धान टोली गठन गरेर घटनाको अनुसन्धान थालेको छ । यद्यपि बुधबार दिउँसोसम्म गौचनको हत्यामा संलग्न व्यक्ति वा समूहको स्पष्ट पहिचान हुन सकेको छैन । 

घटनाको प्रकृति गत वर्ष रुपन्देहीमा हत्या भएका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यासँग मिल्दोजुल्दो छ भने गुन्डा नाइके दावा लामामाथि गत चैतमा गौरीघाटमा गोली प्रहारको जिम्मा लिने व्यक्ति लोप्साङ लामाले यो घटनाको जिम्मा लिएको बताइँदैछ । लोप्साङ लामा तिनै व्यक्ति हुन्, जसले आफूलाई समीरमानसिंह बस्नेतको मान्छे बताउँछन् । समीरमान विदेशबाट अन्डरवल्र्ड शैलीमा फिरौती र कन्ट्याक्ट किलिङको र्‍याकेट चलाइरहेका मनोज पुनको गुटमा रहेर अपराधकर्ममा संलग्न भएको प्रहरीको भनाइ छ । ‘यो घटनामा अहिलेसम्म मनोजको समूहको संलग्नता पुष्टि भैसकेको छैन,’ प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकले भने, ‘हामी घटनाका सबै पक्षमा गहन अनुसन्धान गरिरहेका छौं ।’ 

अहिले मनोज र समीरमान छुट्टिएको खबर पनि प्रहरीसम्म पुगेको छ, तर यो सूचनाप्रति प्रहरी विश्वस्त भने छैन । ‘समीरमान र मनोज सँगसँगै रहेर विदेशबाट फिरौती र हत्याजस्ता अपराधकर्ममा संलग्न छन्,’ एक प्रहरी अधिकृत भन्छन्, ‘अन्डरवल्र्ड शैलीमा फिरौती र कन्ट्याक्ट किलिङका पेशेवर पुन र बस्नेत छुट्टिए भन्ने सूचना छ, तर त्यो पत्यारिलो सूचना होइन ।’ ती प्रहरी अधिकृतका अनुसार उनीहरू दुवै जना गत वर्षको जनवरीमा गोवामा प्रहरीको फन्दामा पर्नबाट बालबालले बाँचेका थिए । 

विदेशबाट धम्की दिएर फिरौती माग्ने र कन्ट्याक्ट किलिङ गराउने मनोजकै समूहलाई केन्द्रमा राखेर अहिले प्रहरीले आफ्नो अनुसन्धान अघि बढाइरहेको छ । प्रहरीले घटनाको प्रकृति, जिम्मा लिने व्यक्ति तथा आर्थिक लेनदेनलाई समेत मध्यनजर गर्दै उक्त समूहलाई आफ्नो अनुसन्धानको केन्द्र बनाएको हो । अर्को एक प्रहरी स्रोतकाअनुसार समीरमानले केही समयदेखि कुमार घैंटेको कारोबारको हिसाब माग्दै गौचनलाई धम्की दिने गरेका थिए । ‘लोप्साङ लामा भन्ने व्यक्तिले पैसा नदिएकाले हत्या गरेको हो भनेर फोन गरेको थियो,’ परिसर प्रमुख धानुकले थपे । प्रहरीले लोप्साङ भन्ने व्यक्तिलाई सन्देहको घेरामा राखेर अनुसन्धान गरिरहेको छ । ‘हामी लोप्साङले ब्रान्ड बनाउन यस्तो गरेको हो कि वास्तविकता के हो त्यसको पनि अनुसन्धान गर्दैछौं,’ एआईजी चन्दले भने । 

जेलमा रहेका अर्का गुन्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेल ग्याङमाथि पनि प्रहरीको दृष्टि छ । गौचनको मृत्युको तीन दिनअघि बाहुनको समूहले गौचनमाथि हातपात गरेको खबर प्रहरीले पाएको थियो । त्यही सूचनाका आधारमा प्रहरीले जेलमा रहेका रमेश बाहुनको समूहमाथि पनि अनुसन्धान गरिरहेको छ । मनोजको समूह, रमेश बाहुनका साथै घटनाका अन्य पक्षहरूमाथि प्रहरी अनुसन्धान जारी छ भनिए पनि व्यवसायी गौचनको हत्या रहस्यकै गर्भमा छ ।

को हुन् दाउद पथमा लागेका मनोज ? 

रुपन्देहीको देवदह खैरेनीका हुन्— २९ वर्षीय मनोज पुन । संगठित अपराध, हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योग मुद्दामा उनलाई प्रहरीले मोष्ट वान्टेडको सूचीमा राखेर खोजी गरिरहेको छ । २०७३ पुसमा मनोजकै निर्देशनमा रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या भएपछि उनी भारत फरार भएका हुन् । 

मनोज अहिले त्यहाँबाट पनि तेस्रो मुलुक पुगिसकेको हुन सक्ने आशंका प्रहरीको छ । फिरौती र कन्ट्याक्ट किलिङमा सक्रिय मनोज नम्बर नदेखिने इन्टरनेट फोन प्रयोग गर्छन्, जसबाट उनले व्यवसायीहरूसँग मोटो रकम माग गर्ने र नदिए हत्या गर्ने धम्की समेत दिँदै आएको बताइन्छ । 

तिवारीको हत्या गर्नु केही समयअघि उनी एमाले निकट युथ फोर्सको क्षेत्रीय कोषाध्यक्ष थिए । त्यसअघि उनले माओवादीको भ्रातृ संगठन वाईसीएलमा रहेर पनि काम गरे । जुनसुकै राजनीतिक दलको युवा संगठनमा लागे पनि उनको मुख्य उद्देश्य भनेको उद्योगी–व्यवसायीहरूसँग रकम असुल्ने नै हुन्थ्यो । संगठनमा रहँदा पनि उनले फिरौती माग्ने, गुन्डागर्दी गर्ने काम जारी नै राखेका थिए । युथ फोर्सको आडमा गुन्डागर्दी गरेको अरोपमा मनोज कारबाहीमा समेत परेका थिए ।

केही समय ढुंगा, गिट्टी, बालुवाको कारोबार पनि गरेका मनोज बाल्यकालमा भने निकै सोझा र सामान्य रहेको उनका छिमेकीहरू बताउँछन् । पुख्र्यौली घर म्याग्दी भएका पुनको परिवारमा भारतीय सेनाका सेवानिवृत्त बुबा, गृहिणी आमा, एक जना दाइ तथा दुई दिदी–बहिनी छन् । खैरेनी चोकबाट ५ सय मिटर भित्र लालपुर्जा नभएको जग्गामा मनोजको परिवारको चार कोठाको एकतले घर छ । मनोजका बुबा मधुमेहका बिरामी हुन् भने आमा पनि बाथको रोगी । मनोजकी विवाहित दिदी बेलायतमा बस्छिन् भने बहिनी नेपालमै अध्ययन गरिरहेकी छिन् । मनोजले आफ्नो घर नजिकैकी छिमेकी युवतीसँग विवाह गरेका छन् जसबाट एक छोरी पनि छिन् । 

तिवारीको हत्याको घटनापछि पुनको परिवारका कुनै पनि सदस्य घरमा बस्दैनन् । श्रीमती र छोरी माइतीमा बस्छन् । दाजु ससुरालीमा बस्छन् भने आमा, बा र बहिनी कहाँ छन् छिमेकीहरूलाई समेत जानकारी छैन । एकतले घरमा अहिले बाहिरबाट ताला लागेको छ । मनोज देवदहको खैरेनीमै हुर्के– बढेका हुन् । स्थानीय केरवानी माविबाट एसएलसीसम्म अध्ययन गरेका मनोज सानैदेखि पढाइमा खासै राम्रो नभएको उनलाई चिन्नेहरू बताउँछन् । एसएलसीपछि पढाइ छाडेर उनी अपराधिक कर्ममा जोडिन पुगे । बाल्यकालमा कुनै नराम्रो काम गरेको आफ्नो जानकारीमा नभएको स्थानीय बासिन्दा प्रेम थापा बताउँछन् । ‘सानोमा निकै सोझो थियो, कसैलाई दु:ख दिएको, लडाइँ–झगडा गरेको थाहा छैन,’ थापाले भने– ‘सम्भवत: त्यस्तै साथीहरूको संगतले उसलाई खराब बाटोमा हिंड्न प्रेरित गर्‍यो ।’ 

सीधासादा मनोज अपराध कर्ममा प्रवेश गरेपछि भने ठीकविपरीत ज्यादै क्रूर र पाशविक बन्दै गएको प्रहरीको ठम्याइ छ । मनोजले अपराध कर्ममा लागेर आफ्नो र परिवारका लागि कुनै सम्पत्ति जोडेको पनि नदेखिएको छिमेकीहरू बताउँछन् । अपराध कर्ममा जोडिएपछि मनोज घरमा बस्दैनथे । कहिलेकाहीं आक्कल–झुक्कल मात्र आउँथे जसले गर्दा बालिग भएपछिका मनोजसँग छिमेकीहरू परिचित थिएनन् । ‘ऊ कतिबेला घर आउँथ्यो कति बेला जान्थ्यो पत्तै हुँदैनथ्यो,’ छिमेकी गीता भट्टराईले भनिन् । 

तिवारीको हत्यापछि प्रहरीले उनको खोजीलाई प्राथमिकतामा राखे पनि सफलता हात पार्न सकेको छैन । इलाका प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले मनोजले मलेसियामा छु भने पनि उनी त्यहाँ नरहेको दाबी गरे । ‘ऊ मलेसियामा छैन, भारतकै उत्तर प्रदेशको कानपुर वा गोरखपुर कतै लुकेर बसेको छ,’ ती प्रहरी अधिकारीले भने– ‘उसका अधिकांश सहयोगी पक्राउ परिसकेका छन्, अब ऊ क्रमश: कमजोर बन्दै गएको छ, हामी उसको नजिक पुगिसकेका छौं ।’ यद्यपि राजधानीमा घटेको पछिल्लो घटनाले मनोज पुन अझै प्रहरीबाट निकै टाढा रहेको कुरालाई नै बल प्रदान गर्छ ।

अन्डरवल्र्ड शैली पछ्याउँदैं मनोज 

दाउद इब्राहिम अन्तर्राष्ट्रिय अपराधको दुनियाँको कुख्यात नाम हो । दाउद स्वयं अन्डरग्राउन्ड भए पनि विभिन्न देशमा आफ्नो अपराध सञ्जाल चलाइरहेका छन् । ठ्याक्कै त्यही शैली मनोज पुनले अपनाउन थालेका छन् । मनोजले पनि फिरौती माग्ने, नदिए गोली हानेर तर्साउने अनि त्यसबाट पनि नभए कन्ट्याक्ट किलिङ बाटो अपनाइरहेको बताइन्छ । 

मोष्ट वान्टेडको सूचीमा रहेका मनोजले २० साउनमा यही शैलीमा रुपन्देही मणिग्रामका एक व्यवसायीमाथि गोली हान्न लगाए । भाडाका सुटर प्रयोग गरेर मणिग्रामस्थित सिरिसा मार्बलका सञ्चालक दुर्गालाल भण्डारीमाथि दुई राउण्ड गोली प्रहार भएको थियो । 

कन्ट्याक्ट किलर प्रयोग गरेर भण्डारीमाथि गोली चलाइनुको मुख्य कारण थियो— फिरौती । 

आफू मलेसियामा रहेको बताउँदै मनोजले ४० लाख फिरौती मागेका थिए, तर भण्डारीले फिरौती नदिएपछि उनलाई तर्साउन मनोजले आफ्नो समूहका सदस्यहरूलाई गोली हान्न निर्देशन दिएका थिए । मनोजले फोन नै गरेर भण्डारीमाथि गोली प्रहारको जिम्मेवारी समेत लिएका थिए । 

मनोजकै योजनामा ४ पुस २०७३ मा नेकपा एमाले निकट युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भयो भने २९ चैत २०७३ मा काठमाडौंमा गुन्डा नाइके दावा लामामाथि पुनकै समूहले गोली हानेको जिम्मेवारी लियो । व्यवसायी गौचनमाथि गोली हानेको जिम्मेवारी पनि पुनकै समूहका भनिएका लोप्साङ लामाले लिएका छन् । ‘मार्ने योजनाअन्तर्गत नै उनीहरूले दावामाथि भाडाका सुटर प्रयोग गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘समीरमान घैंटेको ग्याङमा रहँदादेखि नै दावासँग सत्रुतापूर्ण सम्बन्ध भएको पाइन्छ ।’ 

मनोजले रुपन्देहीका साना–ठूला व्यवसायीहरूबाट फिरौतीबापत ठूलै रकम उठाइरहेका छन् । दुर्गा तिवारीको हत्यापछि पक्राउ परेका ११ जनाले मनोजको समूहले अब काठमाडौं ताक्ने सूचना प्रहरीलाई दिएका थिए, तर प्रहरीले उक्त सूचनालाई महत्व दिएन जसका कारण पछिल्ला सात महिनामा काठमाडौंमा दुई ठूला गोलीकाण्ड घटे । 

यतिमात्र होइन, विदेशबाट इन्टरनेट कलमार्फत व्यवसायीहरूलाई धम्की दिएर आतंकित तुल्याउने तथा रकम असुल्ने काम पनि तीव्र छ । गौचनको हत्या आफूले गरेको दाबी गर्ने लोप्साङले नै नेपाली कांग्रेसका सभासद तथा व्यवसायी जिपछिरिङ लामा, रुपन्देहीका सुजु मल्ल तथा पदम ढुंगाना आदिलाई पनि धम्कीपूर्ण फोन गर्दै फिरौती मागिरहेको बताइन्छ । यति मात्र होइन, संगठित अपराध गरिरहेका मनोजले आफ्नो ग्याङको विस्तारसमेत गरिरहेको सूचना प्रहरीसँग छ । 

कहाँ छन् मनोज ? 

दुर्गा तिवारी हत्यालगत्तै फरार रहेका मनोजलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरोले एउटा सेल नै बनाएको थियो,  सेलले मनोज गोवामा रहेको सूचना हात पार्‍यो अनि त्यही सूचनाका आधारमा गएको जनवरीमा प्रहरी सेलको टोली गोवा पुग्यो । 

गोवामा मनोज र उनीसँगै रहेका समीरमानलाई पक्राउ गर्ने अन्तिम तयारीमा थियो प्रहरी, तर अचानक अन्तिम अवस्थामा मनोज र समीरमान भाग्न सफल भए । सूचना लिक भएका कारण उनीहरू भाग्न सफल भएको आशंका प्रहरीको छ । ‘कसैले प्रहरी मुभमेन्टका सम्बन्धमा उसलाई जानकारी दिएको हुनुपर्छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘अन्यथा ऊ त्यसरी कसरी भाग्न सक्थ्यो । मनोज पक्राउ परेको भए निकै ठूलो सफलता हात लाग्ने थियो ।’ प्रहरीसँग लुकामारी गर्दै मनोज र समीरमान कहिले गोवा, कहिले विहार त कहिले मुम्बई पुगेको सूचना प्रहरीसँग छ । पछिल्लो समय भने मनोज भारतबाट मलेसिया वा अन्य मुलुक पुगेको हुन सक्ने आशंका समेत प्रहरीको छ । 

को हुन् लोप्साङ लामा ? 

गत चैतमा काठमाडौंको गौरीधारास्थित दिव्या पार्टी प्यालेसको गेटमै गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भयो । लगत्तै हङकङबाट लोप्साङ लामा भन्ने व्यक्तिले तत्कालीन काठमाडौं प्रहरी परिसरका प्रमुख छविलाल जोशीलाई फोन गर्दै दावामाथि गोली आफूले हान्न लगाएको दाबी गरे । 

लोप्साङ लामा उक्त गोलीकाण्डसँगै चर्चामा आएको नाम हो । त्यसपछि प्रहरीले ती व्यक्ति को हुन् भन्ने विषयमा अनुसन्धान थाले पनि स्पष्ट जानकारी भने अहिलेसम्म हासिल गर्न सकेको छैन । सोमबार निर्माण व्यवसायी गौचनको हत्यापछि पनि लोप्साङले नै काठमाडौं प्रहरी परिसरका प्रमुख रवीन्द्र धानुकलाई फोन गर्दै हत्याको जिम्मेवारी लिएका छन् । 

समीरमानको खास सहयोगी बताउने लोप्साङ भारतको तिब्बती शरणार्थी शिविरमा बस्ने आशंका समेत गरिएको छ, तर उनी कहाँका, को हुन् ? भन्ने स्पष्ट जानकारी भने अहिलेसम्म प्रहरीले फेला पार्न सकेको छैन । एआईजी चन्द अहिलेसम्म लोप्साङका बारेमा प्रहरीले स्पष्ट जानकारी हासिल गरिनसकेको कुरा बताउँदै कसैले ‘नक्कली क्राइम ब्रान्ड’ बनाउन फेक पात्र खडा गरेको हुन सक्ने आशंका समेत व्यक्त गर्छन् । 

मनोज–समीरमान कनेक्सन

काठमाडौं बाफलका गुण्डा हुन्— समीरमान सिंह बस्नेत । दिनेश अधिकारी ‘चरी’ तथा कुमार घैंटे कुनै समयमा एउटै समूहमा थिए । आपसी विवाद भएपछि चरीले आफ्नो छुट्टै ग्याङ बनाए । उनलाई काउन्टर दिन घंैटेले बस्नेतसँग मितेरी साइनो गाँसे । त्यसपछि बस्नेत घैंटेको समूहमा सक्रिय हुन थालेको बताइन्छ । 

३ भदौ २०७२ मा सामाखुसीको कपुरधारामा कुमार घैंटेको इनकाउन्टर भयो । त्यसपछि घैंटेको समूह तहस–नहस भयो । त्यतिबेला घैंटेले कमाएको अकूत सम्पत्तिसँग जोडिएर बस्नेत पनि चर्चा आए, तर इनकाउन्टरमा आफू पनि पर्ने डरले उनी अन्डरग्राउन्ड भए । 

अन्डरग्राउन्ड रहने क्रममै भारत पसेका बस्नेत बुटवलबाट भारत पसेका मनोज पुनको सम्पर्कमा पुगेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार केही समयअघि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पुनसँगै गोवामा देखेको थियो । प्रहरी परिसर काठमाडौंले गरेको गुन्डाहरूको ग्रेडिङमा उनी ‘ए’ ग्रेडमा छन् । बस्नेतलाई केही राजनीतिज्ञको समेत संरक्षण रहेको बताइन्छ ।

किन तानिए रमेश बाहुन ? 

अपहरण, असुली, गुन्डागर्दी, जबरजस्ती असुलीजस्ता कार्यमा संलग्न भनिएका रमेश बाहुन भनिने सुजन पौडेल अहिले केन्द्रीय कारागारमा छन् । रामेछाप स्थायी घर भएका बाहुन ललितपुरका कांग्रेस निकट गुन्डा मीनकृष्ण महर्जनलाई गोली हानेर भारत फरार भएका थिए ।

बाहुन नेपाली सेनाका भगौडा हुन् । कुनै समय उनी एमाले निकट गुन्डाका रूपमा चिनिन्थे । प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेका बाहुनलाई रमेश खरेल काठमाडौं प्रहरी प्रमुख हुँदा भारतबाट पक्राउ गरेर ल्याइएको थियो । त्यसयता उनी अपहरण, फिरौती, जबरजस्ती असुलीजस्ता अभियोगमा जेल सजाय काटिरहेका छन् । 

केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका बाहुनले त्यहीबाट ग्याङ चलाइरहेको कुरा व्यवसायी गौचनको हत्यासँगै सतहमा आएको छ । महानगरीय प्रहरीका आयुक्त चन्दले घटना लगत्तै रमेश बाहुन ग्याङका केही व्यक्तिले उनलाई गोली हान्नुभन्दा तीन दिनअघि गौचनमाथि हातपात गरेको सूचना आफूहरूले पाएको जानकारी सञ्चारमाध्यमहरूलाई दिएका थिए । 

प्रकाशित :आश्विन ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्