मान्छे र रबर

- सुविन भट्टराई

आश्विन २८, २०७४-

दसैँ सकिएलगत्तै एउटा सानो ट्रेकिङका लागि झोला बोकेर हिँडियो । यात्रा त आफैँमा मीठो हुन्छ नै, तर यात्रासँगै गाँसिएर आउने अनुभवहरू आफैँमा सम्झनलायक हुन्छन्— मेरो हरेक यात्राको अनुभव ।

चार दिनसम्म सात–आठ किलोको झोला बोकेर ननस्टप हिँडेको हिँड्यै । जंगलै जंगल । भीर–पहरा । कतै पहिरोले झारेको रूख पन्छाउँदै, कतै बाटो बिराउँदै ।

कतै बाटो बनाउँदै । अन्धमुष्ठि रातमा, बीस–पच्चीस पर्सेन्ट चार्ज बाँकी रहेको मोबाइलको लाइटको भरमा । बिना खानेकुरा । बिनाआराम । पसिनामा पूरै चोबलिएर । शरीर च्याप–च्याप भएको छ । ठाउँमा पानी पिउन नपाएर मुख सुकेको छ । ठाउँमा खान नपाएर पेट दुखेको छ । घना जंगलबीच हराएर अनि मान्छेको अनुहार देख्न नपाएर मन अत्तालिएको छ । मरिन्छ कि भन्ने भयले सताएको छ । 

हो, त्यही यात्रामा सम्झिएँ, यति धेरै क्षमता भएको मान्छे म कहाँ घरमा खाटमा पल्टिएर एक गिलास पानीसमेत सारेर खान नसक्दा कति बेरसम्म प्यासै रहन्थेँ ।

सम्झिएँ, पुराना कुरा । ५ सय मिटरको दूरीमा समेत हिँड्न अल्छी लागेर गाडी चढेका प्रसङ्गहरू ।

त्यही यात्रामै, घण्टौँसम्म जंगलमा भोकभोकै हराउँदा सम्झिएँ, घरमा दस मिनेट ढिलो खाना पाक्दा भोकले झोक्किएका घटनाहरू । 

त्यही यात्रामा घण्टौसम्म जंगलमा पानी परेर भिज्दा सम्झिएँ, पानी परिरहेका बेला बस स्टपबाट बसको ढोकासम्म जाँदा पनि दस थोपा पानीबाट जोगिन छाता खोलेको घटना ।

सम्झिएँ कैयौँ कुरा । यो शरीरलाई माया गर्नुपर्छ भन्ने धारणाले कति धेरै पुलपुल्याएको रहेछु ? बाआमाले एक्लो सन्तानलाई पुलपुल्याएजस्तै । त्यसैले त यो बेला बेलामा मात्तिन्छ । निहुँ खोजिरहन्छ । 

त्यो यात्रामा निस्किएर चार दिनसम्म लगातार हिँडिसकेपछि मलाई यो कुराको ज्ञान भयो कि मानिसभित्र क्षमताका असंख्य गोदाम छन्, तैपनि ऊ तिनमा आलस्यको ताल्चा ठोकेर बस्न अभिषप्त हुँदो रहेछ ।

मानिसभित्र इच्छाशक्तिको तलाउ हुँदाहुँदै पनि त्यसलाई चिन्न नसकेर सफलताको मृगतृष्णामा तड्पिन्छ ऊ ।

मानिसभित्र सहनशीलताको बलियो ढाल हुन्छ, तैपनि त्यसलाई कतै बेवारिसे पारामा मिल्काएर जिउन विवश हुँदो रहेछ ऊ ।

मनिसभित्र हिम्मतको धारिलो तरबार हुँदाहुँदै पनि ऊ केही अवरोधका डोरी काट्न नसकेर कहाँ–कहाँ अल्झिएको हुँदो रहेछ ।

सिकाइ न हो, कहाँ कुन कुरामा गएर के सिकिने रहेछ । यो यात्राले यस्तै सिकायो । मैले यो पनि बुझ्ने मौका पाएँ कि मानिस रबरझैँ लचिलो छ जो यतिकै कुनै कुनामा रबर हुनुको मजा समेत लिन नपाई मिल्किएको हुन सक्छ । 

रबर, जो तीनवटा अवस्थामा रहन्छ । पहिलो, रबर भए पनि कुनै कुनामा मिल्किन अभिषप्त छ । दोस्रो तन्किने अवसर प्राप्त गर्छ र तेस्रो तन्किएर चुँडिने दुर्भाग्य पनि उसैको हुन्छ । 

यी तीनवटै अवस्थाको अवसर पनि मानिसमै हुन्छ । आलस्य र अकर्मण्य भएर थन्किएको रबर हुने पनि उसकै हातमा छ । आफ्नो क्षमताको सक्दो प्रदर्शन गरेर तन्किने पनि मानिसकै इच्छाशक्तिमा भर पर्छ र आवश्यकता अनि क्षमताभन्दा बढी तन्किने दुस्साहस गरेर चुँडिने पनि मानिसकै कर्ममा भर पर्छ ।

 

प्रकाशित :आश्विन २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्