जेलमा के गर्दैछन् ‘हाइप्रोफाइल’ ?

- जनक तिमिल्सिना

आश्विन २६, २०७४-

हालैको एक मध्यान्ह डिल्लीबजार कारागारको भेटघाट कक्षको चौतारीमा दिनभरजसो चेसमा मग्न थिए— नेपाल प्रहरीका पूर्वआईजीपीद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ । साँघुरो ठाउँ, बाक्लो ओहोर–दोहोर र ठाउँ–ठाउँमा भैरहेका भेटघाटले पूर्वभीआईपीद्वयको चेसमाथिको एकाग्रता रत्तिभर डगमगाएको थिएन् । बरु, सामान्य किसिमको हरियो कार्पेटमाथि बसेर चेसबोर्डका गोटी पालैपिच्छे चालिरहेका थिए उनीहरू । चेसमार्फत उनीहरूले जेलको पट्टयारलाग्दो दैनिकीलाई सामान्यीकरण गर्न खोजिरहेको देखिन्थ्यो । 

१७ वैशाखमा सर्वोच्च अदालतले सुडान घोटालाको अन्तिम फैसला सुनाउँदै भ्रष्टाचारी करार गरेपछि जेल पुगेका राणा तथा गुरुङ नेपाल प्रहरीका १९ औं तथा २० औं आईजीपी हुन् । नेपाल प्रहरीका तीन जना पूर्व चिफलाई सर्वोच्चले सुडानकाण्डमा भ्रष्टाचारी ठहर गरेर जेल एवं जरिवानाको सजाय सुनाएको थियो, तर १ वर्ष कैद र ४० हजार जरिवानाको सजाय पाएका २१ औं प्रहरी प्रमुख रमेशचन्द्र ठकुरी भने अझै फरार छन्, उनीसँगै सुडानकाण्डमा जेल सजाय पाएका नेपाली ठेकेदार शम्भु भारती पनि जेल गएका छैनन् । 

२ वर्ष कैद एवं ५० हजार जरिवाना सजाय पाएका राणा तथा १ वर्ष कैद एवं ४० हजार जरिवाना सजाय पाएका गुरुङले भने सर्वोच्चको फैसलाको झन्डै डेढ महिनापछि ७ असारमा सर्वोच्च अदालतमा पुगेर आत्मसमर्पण गरेका थिए । पूर्वआईजीपीद्वय राणा र गुरुङसहित भ्रष्टाचारमा १ वर्ष कैद र ४० हजार जरिवाना सजाय सुनाइएका नेपाल प्रहरीका पूर्वएआईजी दीपकसिंह थाङ्देन र ६ महिना कैद तथा ३० हजार जरिवाना सुनाइएका पूर्वडीआईजी दीपक श्रेष्ठले पनि ७ असारमै सर्वोच्चमा आत्मसमर्पण गरेका थिए । आत्मसमर्पण गर्दा २० प्रतिशत सजाय मिनाहा हुने कानुनी व्यवस्था छ । सर्वोच्चमा आत्मसमर्पण गरेपछि सबैलाई सोही दिन डिल्लीबजार कारागार चलान गरिएको थियो । १ वर्ष कैद र ४० हजार जरिवाना सुनाइएका अर्का एआईजी श्याम थापा भने ११ असारमा आत्मसमर्पण गरेर डिल्लीबजार जेल पुगेका थिए । 

जेल पुगेको भोलिपल्टदेखि नै यी पूर्वप्रहरी उच्च अधिकारीहरूको दैनिकी एकै प्रकारले बितिरहेको छ । जेलभित्र उपलब्ध हुने खेलहरू खेल्ने, सुत्ने, भजन कीर्तन गर्ने, भेटघाट गर्ने तथा सामान्य लेखपढ मै उनीहरूको दिन बित्छ । ‘तडक–भडक छैन्, सामान्य लाइफ छ,’ डिल्लीबजार कारागारका एक अधिकारीले साप्ताहिकसँग भने, ‘बाहिर उहाँहरू भीआईपी हुनुहोला, तर यहाँभित्र आएपछि सबै हाम्रा लागि कैदी नै हुन् । उनीहरूले आफ्नो तथाकथित भीआईपी स्वाङ वा रवाफ पनि देखाएका छैनन् ।’ 

जीवनको उत्तराद्र्धमा पुगेका यी दुई पूर्वभीआईपी भ्रष्टाचारमा नमुछिएका हुँदा हुन त अहिले समाजमा मानसम्मान र सानको जिन्दगी बिताइहेका हुने थिए, तर सुडानकाण्डले जीवनको उतराद्र्धमा उनीहरूलाई भ्रष्टाचारी सावित गर्‍यो । पूर्वआईजीद्वयसहित जेल पर्ने प्रहरीका पूर्व उच्च अधिकारीहरू अहिले डिल्लीबजार जेलको ‘क’ ब्लकमा रहेको लाइबेरीमा सुत्छन् । उनीहरू अन्य कैदी/बन्दीसरह राति १० बजे सुतिसक्छन् भने बिहान ५ बजेतिर उठ्छन् । ‘केही अझ ढिलो गरी पनि उठ्छन्,’ ती सरकारी अधिकारीले थपे, ‘ब्याडमिन्टन, लुडो तथा चेस खेल्ने, गफ गर्ने, पत्रपत्रिका एवं पुस्तक पढ्ने घर र बाहिरबाट भेटघाटका लागि आउने मानिसहरूसँग भेटघाट गर्ने, कहिलेकाहीं फोन गर्नेमै उनीहरूको दिन बितिरहेको हुन्छ ।’ केही दिन पहिले समूहमै जेल प्रशासनलाई भेट्न पुगेका आईजीद्वयले आफूहरूलाई लेख्ने वातावरण बनाइदिन माग गरेका थिए । 

अरू कैदी/बन्दीजस्तै पूर्व भीआईपीहरूको खानपिन पनि उस्तै छ । उनीहरू बिहान चिया, बिस्कुट, पाउरोटी तथा ११–१२ बजेतिर खाना खान्छन् । दिउँसो चिया, पाउरोटी तथा कहिलेकाहीं घरबाट आएका खाजा र फलफूल खान्छन् । बेलुका अधिकांशले रोटी खान्छन् । पूर्व एआईजी श्यामसिंह थापा अमेरिकाबाट ब्लड क्यान्सरको ट्रिटमेन्ट गराएर फर्किएका कारण नियमित अस्पताल धाउँछन् । 

डिल्लीबजार कारगारका एक अर्का अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा उनीहरूको खानपिन अन्य कैदी बन्दीसरह नै भएको दाबी गरे । ‘केहीको घरबाट सामान्य फलफूल र पैसा आउँछ होला, तर अरू सबै कुरा सामान्य नै छ,’ उनले थपे, ‘यहीको मेसमा खान्छन् ।’ डिल्लीबजार कारागारका जेलर विष्णुकुमार कार्की जेलमा आइसकेपछि कोही पनि हाइप्रोफाइल नहुने बताउँछन् । ‘जेलमा आइसकेपछि भीआईपी र हाइप्रोफाइल भन्ने हुँदैन,’ उनले भने, ‘अरू जसरी बसेका छन्, सबैले त्यसरी नै बस्नुपर्छ । सुविधा सबैका लागि बराबर नै हो ।’ यस्तै जेलमा लाइनमा लगाएर टेलिफोन सुविधा पनि सबै कैदीलाई बराबर दिने गरिएको छ । जेलर कार्कीका अनुसार कैदी/बन्दीले जेलको नियमअनुसार लाइनमा लागेर फोनको उपयोग गर्न पाउँछन् । 

सुडानकाण्डमा जेलसजाय भुक्तान गरिरहेका पूर्वआईजीपीद्वय राणा र गुरुङका साथै प्रहरीका तत्कालीन उच्च अधिकारीहरू मात्र होइन, देशका विभिन्न जेलमा विभिन्न अपराधकर्मको सजाय भोगिरहेका ‘पूर्व हाइप्रोफाइल’हरूको दैनिकी पनि योभन्दा फरक छैन । चाहे जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोटका मुख्य आरोपी पूर्वराज्यमन्त्री सञ्जय साह हुन वा आफ्नै सहकर्मीको हत्या गर्ने योजना बनाएर जेलमा जाकिएका अर्का पूर्वसभासद रामचन्द्र प्यासी नै किन नहुन् ? श्रीमतीको हत्यापछि सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका रञ्जन कोइराला हुन वा अर्बौं रकम ठगी गरेपछि डिल्लीबजारस्थित जेलमा सजाय काटिरहेका पूर्व हाइप्रोफाइल व्यवसायी सुधीर बस्नेत । उनीहरू सबैको दैनिकी यो भन्दा फरक छैन ।

को कहाँ छन् ? 

१८ असोज २०७० मा एमाले केन्द्रीय सदस्य महमुद आलममाथि बाराको लिपनीमाल—४ चावासोती मिल नजिकै गोली प्रहार भयो । गोली प्रहारबाट घाइते भएका आलमको उपचारका क्रममा ८ दिनपछि काठमाडौंको शिक्षण अस्पतालमा निधन भयो । प्रहरीले आलम हत्याको अनुसन्धान सुरु गर्‍यो । त्यसको तार एमालेकै अर्का नेता तथा पूर्वसभासद रामचन्द्र प्यासीसँग जोडियो । प्यासीले उम्मेदवार बन्न नपाएको झोकमा भारतबाट सार्प सुटर मगाएर आलमको हत्या गराएको रहस्य खुलेपछि १० कात्तिक २०७० मा प्रहरीले प्यासीसहित तीन जनालाई पक्राउ गरेर सार्वजनिक गर्‍यो । १५ बैशाख २०७३ मा जिल्ला अदालत बाराले उनलाई १० वर्ष कैदको सजाय सुनाएको थियो । 

तिनै प्यासी २ वर्षदेखि केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका छन् । केन्द्रीय कारागारको ७ नम्बर ब्लकमा बस्ने प्यासी ढाडको अप्रेसन गरेका कारण धेरैजसो समय सुतेरै बिताउँछन्् । ढाडको त्यही बिरामीका कारण उनी बेला–बेलामा अस्पताल पनि जान्छन् । योग गर्नु, पढ्नु, टेलिभिजन हेर्नु, सामान्य हिँडडुल गर्नु उनको नियमित जीवनचर्या हो । शाकाहारी प्यासीलाई भेट्न कहिलेकाहीं उनकी श्रीमती र छोरा आउँछन् । उनका लागि कहिलेकाहीं तराईबाट तरकारी र चामल आउँछ । ‘नेताको जस्तो हाउभाउ छैन, बिहान योग गर्छन्, मेसमा खाना खान्छन्,’ सेन्ट्रल जेलका एक अधिकारी भन्छन्, ‘टिभी हेर्छन्, नेता भएकाले होला कैदीका समस्यामा स्पष्ट र कडा रूपमा प्रस्तुत हुन्छन् ।’

१८ जेठ २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको बम विस्फोटका मुछिएका सञ्जय साह पनि अहिले डिल्लीबजार जेलमा छन् । झण्डै डेढ वर्ष सिरहास्थित जेलमा रहेका उनी केही समयअघि मात्रैं काठमाडौं सारिएका हुन् । डिल्लीबजार कारागारमा उनी अधिकांश समय धार्मिक कार्यमै बिताउने गर्छन् ।  सिराहामा पनि आफ्नो अधिकांश समय पुजाआजामै खर्चन्थे । (हेर्नुहोस् बक्स) सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइराला आफ्नी श्रीमती गीता ढकालको हत्या गरेपछि जेल सजाय भोगिरहेका छन् । २७ पुस २०६८ मा विवादपछि उनले श्रीमती गीताको योजनाबद्ध रूपमा हत्या गरेर लास मकवानपुर पुर्‍याई जलाएर फालेका थिए । उक्त हत्यामाथि छानविन हुँदै जाँदा रञ्जनको संलग्नता देखियो भने ८ माघमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढायो । त्यसपछि उनीमाथि अदालतमा कर्तव्य ज्यानमुद्दा दायर गरियो । रञ्जनलाई अदालतले ७ वैशाख ०७१ मा हत्यारा ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । 

रञ्जन अहिले डिल्लीबजार जेलमा छन् भने उनी पनि अन्य कैदी/बन्दीकै फम्र्याटमा छन् । अध्ययन, भेटघाट, खेलकुद तथा टेलिभिजनमै उनको दैनिकी बितिरहेको छ । सन्की स्वभावका भनिने रञ्जन जेलभित्र भने एकदमै सामान्य देखिन्छन् । उनको दैनिकी पनि टिभी, पत्रपत्रिका एवं भेटघाटमै बितिरहेको हुन्छ । 

कुनै समय रोलमोडल व्यवसायीको छविमा देखिएका सुधीर बस्नेत यतिबेला अर्बौं रुपैयाँ ठगी गरेको आरोपमा कारवासको जीवन बिताउन बाध्य छन् । हाउजिङ र घरजग्गा व्यापारबाट चम्किएका बस्नेत बैंक तथा सर्वसाधारणको अर्बौ रकम ठगी गरेपछि जेल पुगेका हुन् । उनलाई काठमाडौं, भक्तपुर र ललितपुरको अदालतले कुल ५ वर्ष ६ महिना कैद तथा ६ करोड १३ लाख जरिवाना सजाय सुनाएको थियो । अदालतको फैसलापछि उनी फरार रहँदै आएका थिए, तर १२ पुस २०७३ मा उनी धापासीबाट पक्राउ परेर डिल्लीबजार कारागार चलान भए । अहिले उनी त्यहाँ अन्य कैदी/बन्दीझै सामान्य जीवन बिताइरहेका छन् । बस्नेत धेरैजसो समय पत्रपत्रिका पढ्न र टिभी हेर्नमै बिताउँछन् । त्यसबाहेक जेलभित्रैका कैदीबन्दीहरूसँग गफ गर्नु, मर्निङ वाक गर्नु उनको दैनिकी हो ।

हाइप्रोफाइलको रोजाइ डिल्लीबजार नै किन ? 

डिल्लीबजार कारागारमा कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले १६ महिना बिताएका थिए । त्यतिबेला डिल्लीबजार जेलमा उनले गर्ने गतिविधि निकै चर्चामा रहे । खुमबहादुरले जेलमा पनि आफ्नो ‘पावर शो’ गरेको र जेल प्रशासन मौन बसेको भन्दैं आलोचनासमेत भयो । खड्का मात्र होइन, भ्रष्टाचारमा जेल परेका नेता चिरञ्जीवी वाग्ले र जयप्रकाशप्रसाद गुप्ताले पनि डिल्लीबजारमै सजाय काटेका थिए । अपहरण मुद्दामा जेल सजाय भोगेका श्यामसुन्दर गुप्ता पनि लामै समय डिल्लीबजार कारागारमा बसे । त्यसपछि उनी केही समय नख्खु कारागारमा समेत सारिए । 

डिल्लीबजार कारागारमा हाइप्रोफाइलहरूको उपस्थिति यत्तिकैमा सीमित छैन । अहिले पनि विभिन्न अपराधकर्ममा सजाय भोगिरहेका झन्डै एक दर्जन हाइप्रोफाइलहरू डिल्लीबजार कारागारमा सजाय काटिरहेका छन्, जसमा सुडान घोटालामा जेल सजाय काटिरहेका नेपाल प्रहरीका पूर्वआईजी तथा एआईजीद्वय, डीआईजीसमेत छन् । पूर्व राज्यमन्त्री साह, श्रीमतीको हत्या गरेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला, अर्बौ रुपैयाँ ठगी गरेपछि जेल परेका व्यवसायी सुधीर बस्नेत पनि डिल्लीबजार जेलमै छन् । 

आखिर ‘हाइप्रोफाइल’हरूले किन रोज्छन् त डिल्लीबजार कारागार ? जेलर कार्की डिल्लीबजार कारागार सेन्टरमा पर्ने, संख्या पनि कम भएको र भेटघाटका लागि सहज हुने भएकाले धेरैको यो कारागार रोजाइमा परेको हुन सक्ने बताउँछन् । 

कतिपयले डिल्लीबजारमा पावर र पैसा हुनेहरूलाई फरक व्यवहार हुने, भेटघाट सहज गराइदिने, जेलभित्र राम्रो सुविधा उपलब्ध गराउने, फोन सुविधा पनि सजिलो पारिदिने, राम्रो कोठामा राख्ने गरेका कारण सबैले डिल्लीबजार कारागार रोजेको बताउने गरेका छन् । यद्यपि जेल प्रशासनले भने ती सबै आरोपमा सत्यता नभएको बताएको छ । सात–आठवटा कोठा भएको डिल्लीबजार कारागारमा अहिले झन्डै ५ सय बढी कैदी/बन्दी छन् ।  

ओमविक्रम राणा,पूर्वआईजीपी, नेपाल प्रहरी

 

कसुर 

भ्रष्टाचार

सजाय

२ वर्ष कैद र ५० हजार जरिवाना

हेमबहादुर गुरुङ , पूर्वआईजीपी, नेपाल प्रहरी

कसुर

भ्रष्टाचार

सजाय 

१ वर्ष कैद र ४० हजार जरिवाना

 

सुधीर बस्नेत, व्यवसायी 

कसुर

ठगी 

सजाय

५ वर्ष ६ महिना कैद

 

सञ्जय साह, पूर्वराज्यमन्त्री 

कसुर

हात हतियार र सार्वजनिक अपराध

सजाय

१ वर्ष ९ महिना कैद

 

रामचन्द्र प्यासी, पूर्वसभासद

कसुर

हत्या 

सजाय 

१० वर्ष कैद

 

रञ्जन कोइराला, पूर्व डीआईजी, सशस्त्र प्रहरी 

कसुर

हत्या 

सजाय

सर्वस्वसहित जन्मकैद

 

पूर्वराज्यमन्त्रीको जेल डायरी

पहिलो संविधानसभा निर्वाचनबाट राजनीतिमा उदाएका हुन जनकपुर नगरपालिका–२ का ३९ वर्षीय सन्जयकुमार साह । त्यसअघि ठेक्का पट्टा र व्यापार व्यवसायमा सक्रिय साह पहिलो संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरमबाट टिकट पाएर धनुषा क्षेत्र नम्बर ४ को चुनावी मैदानमा उत्रिएर निर्वाचितसमेत भए । 

पहिलो संविधानसभा निर्वाचनमा जितसँगै उनको राजनीतिक यात्रा सुरु भयो । यद्यपि सञ्जय मधेसी जनअधिकार फोरममा टिक्न भने सकेनन् । दोस्रो संविधानसभा निर्वाचनमा उनले राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट धनुषाको पुरानै क्षेत्र नम्बर ४ बाट जित हासिल गरे । पहिलो र दोस्रो संविधानसभाको जितसँगै उनी राजनीतिक वृत्तमा छाउन सफल भए ।

सञ्जय माधव नेपालको प्रधानमन्त्रीत्वकालमा ३१ वर्षकै उमेरमा भौतिक योजना तथा निर्माण राज्यमन्त्री बन्न सफल भए तर, दुर्भाग्य छोटो समयमैं राजनीतिक उचाइमा पुग्न सफल साहको उँचो कद धेरैदिन टिक्न सकेन् । साह २०७१ वैशाख २५ देखि बन्दी जीवन जीउन बाध्य छन् । धनुषा जिल्ला अदालतको थुनछेकको आदेशअनुसार कर्तव्य ज्यान मुद्दामा उनी जलेश्वर, सिरहा, काठमाडौंको जगन्नाथ देव, डिल्लीबजार कारागार हुँदै २०७३ मंसिर १ देखि सिरहा कारागारमा बिताए ।

सभासद र राज्यमन्त्री हुँदासम्म राजनीतिक भेटघाटमा व्यस्त रहने साह अहिले कारागारमा अध्यात्मिक चिन्तनमा लिन पाइन्छन् । त्यसो त साह कारागार पुग्नुभन्दा अघि पनि धार्मिक प्रकृतिका थिए । उनी पहिले पनि नियमित पूजापाठ गर्थे तर, कारागारमा उनको पूजापाठको समय लम्बिएको छ ।

सिरहा कारागारमा उनको दिनचर्या बिहान साढे ४ बजे प्रारम्भ हुन्थ्यो । ‘बिहानीको नित्यकर्म सकेपछि साढे ५ बजेबाट ९ बजेसम्म पूजापाठ र ध्यानमा बस्छु’ सिरहा कारगारमा हुँदा उनले साप्ताहिकसँग भनेका थिए, ‘कारागारमै रहेको शिव, भगवती तथा हनुमानको मूर्ति अंकित मन्दिरमा दुर्गा, सरस्वती पाठ गर्छु । भगवती मन्त्र जप गर्छु । हनुमान लगायतका इष्ट देवताको पूजा अर्चना गर्छु ।’

साह सोमबार, मंगलबार र शनिबार व्रत बस्छन् । व्रतको बेला फलफूलमात्र सेवन गर्छन् उनी । ‘मंगलबार हनुमानको तथा शनिबार शनिदेवको व्रत बस्छु, उनले सुनाए ‘साउन महिनामा सोमबारको दिन पनि व्रत बस्न थालेको छु ।’

बिहान १० बजे खाना खाएपछि उनी एक घण्टा कारागारभित्रको टेलिफोन बुथमा हुन्छन् । घरपरिवार तथा इष्टमित्रसँग एक घण्टा टेलिफोन गफपछि उनी चारबजेसम्म पत्रपत्रिका एवं पुस्तकहरू अध्ययन गर्छन् । कारागरमैं उनले रुकमाङ्गद कटुवालको आत्मकथा, महात्मा गान्धी तथा बीपी कोइरालाको जीवनीका साथै राजनीतिक घटनाक्रमसँग सम्बन्धित थुप्रै पुस्तक पढ्न भ्याए । 

‘गान्धी, बीपी कोइराला लगायतका व्यक्तित्वको आत्मकथा पढ्दा जीवनको उतारचढाव यस्तै रहेछ भन्ने महसुस गरे’ सञ्जयले थपेका थिए, ‘आत्मकथा पढेपछि जीवनलाई मैले सरलीकृत रूपमा लिए । अब म जीवनलाई सामान्यीकरण गर्न सक्ने भएको छु ।’ व्यापार व्यवसाय र राजनीतिक क्षेत्रमा लागेपछि पुस्तक अध्ययन गर्न नपाएका सञ्जयले कारागारमा पुस्तक अध्ययन नै आफ्नो दिनचर्या भएको बताए । 

२०४८ सालमा कन्टिन झा नमुना मावि वभनगामा धनुषाबाट एसएलसी, भारत विहारबाट आइएल तथा आइकम उत्तीर्ण गरेका साहको बिकम अध्ययन भने अपुरो रह्यो । आइएल उत्तीर्ण साहले कारागारमा रहेका कैदीबन्दीहरूले भोगेका फौजदारी मुद्दा र न्याय प्रणालीसम्बन्धी पुस्तक लेख्न थालेको पनि जानकारी दिए । साँझको खाना ४ बजे नै खाइसक्ने साह साँझ टेलिभिजन समाचार हेरिसकेपछि ढिलोमा साढे १० बजे सुत्छन् । साहको कोठामा ९ जना सुत्छन् तर उनी एउटै कोठाका कैदीबन्दीसँग पनि भलाकुसरी गर्न रुचाउँदैनन् । 

कैदीबन्दीसँग घुलमिल नगर्ने, एकान्त रुचाउने साह कारागारका चौकीदार श्रीदेव कापरसँग भने राजनीतिक कुरा गर्दै गफिन्थे । ‘बढी पूजापाठ र पुस्तक अध्ययनमैं रमाउँछन्’ लागूऔषध मुद्दामा सजाय काटिरहेका चौकिदार कापरले त्यो बेला साप्ताहिकसँग भनेका थिए, ‘पहिले नेता, कार्यकर्तासँग भेटघाट, उठबस धेरै भएकाले होला, नेताजी मसँग बाहेक राजनीतिक कुराकानी गर्दैनन्, रुचाउँदैनन् पनि ।’

कारागारभित्र अरू कैदी बन्दीले खाँदै आएका दाल, भात, सागसब्जी आदि नै भोजन गर्छन् साह । साह कारागारमा आउने शुभचिन्तक, नेता कार्यकर्ताहरूसँगको भेटघाट बाहेक अन्य समय पूजापाठ, ध्यान र अध्ययनमै तल्लिन रहने चौकीदार कापरले बताएका थिए । 

‘कारागार जीवन असहज नै हुन्छ, आध्यत्मिक ध्यान, जप र अध्ययनले अलिकति सहज बनाएको छ’ पूर्वसभासद एवं पूर्वराज्यमन्त्री साहले भनेका थिए, ‘समयको पनि चरण हुँदो रहेछ, कारागारको बसाइले मलाई धेरै समय अध्यात्ममा दिन बाध्य बनायो । यसले मेरो कारागार बसाइलाई सहज पनि बनाएको छ ।’ आफूमाथिको मुद्दा २०६९ सालमा सुरु भए पनि अहिलेसम्म छिनोफानो नभएको प्रतिभने उनले दु:खेसो पोखेका थिए । 

                             -भरत जर्घामगर

प्रकाशित :आश्विन २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्