अशिष्माको सपना र आग्रह ‘लाखे भाजु’

- साप्ताहिक संवाददाता

आश्विन २५, २०७४-

अभिनेत्री अशिष्मा नकर्मीले सिने नगरीमा रमाउँदै गर्दा आफ्नो मातृ भाषाको चलचित्रको एउटा सपना देखेकी थिईन् । अब उनको त्यो सपना साकार हुने भएको छ । उनकै सपना र आग्रह अनुसार नेपाल भाषाको चलचित्र लाखे भाजु बन्ने भएको छ । यो चलचित्रमा अशिष्मा प्रस्तुतकर्ताका साथै मुख्य कलाकारका रुपमा देखा पर्ने भएकी छिन् । उक्त चलचित्रको सोमबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको छ । 

यो चलचित्रका परिकल्पनाकार प्रदीपकुमार उदयले भने, ‘नेपाली फिल्म त हामीले वर्षौंदेखि बनाउँदै आएकै हो । तर आफ्नै जात र भाषाका फिल्म निर्माणमा किन अगाडि आउन सकेनौं ?’ आफ्नै मनमा आफैंका लागि उब्जिएको प्रश्नको जवाफकै फलस्वरुप आइन्दा वर्षेनी कम्तीमा एउटा नेपालभाषाको चलचित्र निर्माणमा जुट्ने भद्र सहमति भएको पनि उनले सुनाए । ‘अब हामी नेपालभाषाको चलचित्रलाई देशमा मात्रै सीमित नगरी विश्वव्यापी बनाउन खोजिरहेका छौं । ताकि यसले गर्दा हाम्रो कला, संस्कृति र भाषा बाहिरी विश्वसँग परिचित हुन पाउनेछ,’ प्रदीपकुमारले भने ।

आर्यम नकर्मीको लेखन तथा निर्देशन रहने ‘लाखे भाजु’ विशुद्ध प्रेमकथामा निर्माण हुने चलचित्र निर्माण यूनिटले जनाएको छ । चलचित्रमा अशिष्मा नकर्मी, सोहित मानन्धर, मदनदास श्रेष्ठ, नगिना जोशी, गणेशराम लाछी, कृष्णभक्त महर्जन, नारायणदेवी प्रधान, प्रकाश श्रेष्ठ, अन्नपूर्ण श्रेष्ठ, रुपेन श्रेष्ठ, सुरज व्यञ्जनकार लगायतका कलाकारले अभिनय गर्ने भएका छन् । सुसन प्रजापतीको सिनेमाटोग्राफी रहने फिल्ममा मनराजा नकर्मीको संगीत समावेश गरिने भएको छ । 

 

 

प्रकाशित :आश्विन २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्