सार्वजनिक सवारीमा यौनजन्य हिंसा बढ्दो छ

- जनक तिमिल्सिना

आश्विन २५, २०७४-

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीकी महिला सेल प्रमुख हुन्, शर्मिला गुरुङ । मेट्रो प्रहरीले गुरुङकै नेतृत्वमा गत साउनदेखि उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरूमा महिलामाथि हुने सेक्सुअल ह्यारेसमेन्ट नियन्त्रणका लागि सेफ्टी पिन स्ट्रिङ अपरेसन चलाइरहेको छ । यौनजन्य हिंसा नियन्त्रणका लागि स्ट्रिङ अपरेसनसँगै प्रहरीले जनचेतनालाई पनि सँगसँगै अघि बढाइरहेको छ ।  

सेफ्टी पिन स्ट्रिङ अपेरसनका बारेमा केही बताइदिनुस् न ?

हाम्रो सेफ्टी पिन अपरेसन साउन १८ गतेदेखि सुरु भएको हो । यो स्ट्रिङ अपरेसन मात्र होइन, सँगसँगै जनचेतनामूलक कार्यक्रम पनि भैरहेका छन् । उपत्यकाअन्तर्गत २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्र छन्, ती सबैले जनचेतनामूलक प्रचार–प्रसारका काम गरिरहेका छन् । त्यसबाहेक सेक्सुअल ह्यारेसमेन्टजस्तो अपराधमा संलग्न हुनेहरूलाई कानुनी दायरामा ल्याउन हामीले स्ट्रिङ अपरेसन सञ्चालन गरिरहेका हौं । 

कतिवटा समूह परिचालन गरिएको छ ? 

काठमाडौंबाट १५, ललितपुरबाट १०, भक्तपुरबाट ३ तथा मेट्रोबाट ५ गरी जम्मा ३३ वटा टिम स्ट्रिङ अपरेसनमा परिचालन गरिएको छ । एउटा बसमा तीन जना चढ्छन् । जुनियर प्रहरी अधिकृतको कमान्डमा तीन जनाको टोली बनाइएको छ, जसमा महिला प्रहरी अनिवार्य हुन्छन् । यसमा महिला कर्मचारी खटाइनुको कारण जति महिलाले फिल गर्न सक्छन्, त्यति पुरुषले गर्न सक्दैनन् भनेरै हो । 

अपरेसन कसरी हुन्छ ? 

सार्वजनिक सवारीमा बढी भीड हुने गरेको छ । भीडको बहानामा सेक्सुअल ह्यारेसमेन्टका घटना पनि सार्वजनिक सवारीमै बढी हुने गरेका छन् । भीडमा छोइहालिन्छ नि, यो सामान्य कुरा हो भन्ने बहाना बनाएर यस्ता घटनाले प्रोत्साहन पाउने गरेका छन् । त्यसैले हामीले गाडीमा बढी चाप हुने समय पारेर टिम परिचालित गरेका छौं । जस्तो बिहान ९ देखि १२ बजेसम्मको पिक आवर र बेलुकाको रस आवरमा हाम्रा टिम सादा पोसाकमा ड्युटीमा तैनाथ हुन्छन् । 

यो अभियान कुन क्षेत्रमा बढी केन्द्रित छ ? 

हामीले काठमाडौं, भक्तपुर र ललितपुरमा चल्ने सबै सार्वजनिक सवारी साधनलाई टार्गेट गरेका छौं । कुनै पनि रुट नछुट्ने गरी प्रत्येक रुटमा टिमहरू डिप्लोय गरेका छौं । अहिले सार्वजनिक सवारीमा मात्र केन्द्रित गरेर यो अभियान चलाइएको छ । कालिमाटी, कोटेश्वर, कलंकी, बसपार्क, जावलाखेल, भक्तपुर आदि ठाउँमा बढी सेक्सुअल ह्यारेसमेन्टका घटना भएका छन् । 

सार्वजनिक सवारी साधनलाई नै टार्गेट गर्नुको कारण ? 

डान्स रेस्टुराँमा हुने यौनजन्य हिंसा आदिका लागि छुट्टै निर्देशिका, कानुन आदि छन् । सेक्सुअल ह्यारेसमेन्ट वर्क प्लेस वा घरमै पनि हुन्छ, तर हामीले बसमै टार्गेट गर्नुको कारण त्यहाँ भएको सेक्सुअल ह्यारेसमेन्टलाई पीडितहरू आफैंले बाहिर ल्याउन नचाहनु पनि हो । किनभने उनीहरू एक ठाउँबाट अर्को गन्तव्यमा पुग्ने हतारमा हुन्छन् । यस किसिमको ह्यारेसमेन्ट युजअल्ली हो भनेर यसलाई ठूलो हिंसाका रूपमा लिइँदैन । त्यसकारण हामीले त्यहाँ रहेका पीडकलाई यो सामाजिक अपराध हो र यो कानुनअनुसार पनि दण्डनीय छ भनेर सचेत गराउन यो अभियान चलाएका हौँ ? जो पीडित हुन्छ उसलाई पनि यसरी चुप लागेर बस्नु हुँदैन, चुप लागेर बस्नु भनेको पीडकलाई प्रोत्साहन दिनु हो भनेर जागरुक बनाउन र बसमा बाँकी रहेका अन्य यात्रु जसले हिंसा भैरहेको देख्छन्, उनीहरूलाई हिंसा हुँदा चुप लागेर बस्दा भोलि आफैं पनि यसको सिकार हुन सक्छौं र तिम्रा आफन्त पनि यो हिंसाको भागी हुन सक्छन्, त्यसैले आवाज उठाउनुपर्छ भनेर सार्वजनिक यातायातलाई टार्गेट गरिएको हो । अन्य ठाउँमा हुने सेक्सुअल ह्यारेमेन्टमा त प्राय: आवाज उठिरहेकै हुन्छ तर गाडीमा हुने दुव्र्यवहारसम्बन्धी आवाज कमै उठ्ने गरेको छ । 

सेफ्टी पिन स्ट्रिङ अपरेसन सुरु गर्नुपूर्व त्यस्ता केही उजुरी आएका थिए ? 

हो, एक्ज्याक्टल्ली समस्या नै यही छ । म मेट्रोमा आएलगत्तै मातहतका भक्तपुर, ललितपुर र काठमाडौं सार्वजनिक यातायातमा कस्ता खालका समस्या छन्, कस्ता केसहरू आउँछन्, त्यसलाई कसरी डिल गरिएको छ भनेर डाटाहरू हेरे, तर यस्ता केसहरू नै छैनन्, आए भने महिनामा एक/दुईवटा मात्र आएको पाइयो, त्यो पनि मेलमिलापमै टुंगिएको रहेछ । त्यसले पीडकलाई उत्साहित मात्र तुल्याइरहेको पाएपछि हामीले प्रचार–प्रसारसँगै स्ट्रिङ अपरेसन पनि थाल्यौं । 

हिंसा पुरुषबाट मात्र हुँदो रहेछ कि महिलाबाट पनि ? 

अहिले हामीसँग पुरुष साथीहरूले सोध्ने प्रमुख प्रश्न नै यही हो । उहाँहरू हाम्रा बारेमा कसैले कुरा उठाउँदैनन् भन्नुहुन्छ । पुरुषविरुद्ध पनि हिंसा नभएको होइन, तर महिलाविरुद्ध बढी हिंसा छ । अहिलेसम्म सार्वजनिक यातायातमा महिलाबाट यौन हिंसा भएको घटना फेला परेको छैन । बरु, कतिसम्म छ भने भिक्टिमले नै कुरा उठाउन चाहँदैनन् । एउटा घटनामा कलेज जाने किशोरीमाथि हिंसा भैरहेको थियो, हाम्रो टोलीले रेस्क्यु गर्‍यो । पीडकलाई कानुनी दायरामा ल्याउन पीडितसँग सहयोग मागियो, तपाईंहरू पनि जानुपर्छ भनियो । पीडित पनि आउन तयार तर पीडितकी आमा पनि सँगै यात्रा गरिरहेको हुनुहुन्थ्यो । उहाँले हामी पुलिसको झमेलामा पर्न चाहँदैनौं, यो कुरालाई यही स्टप गरौं, हामी कहीँ जाँदैनौं भन्नुभयो । यसरी कोअपरेट नगरिदिँदा पुलिसलाई च्यालेन्ज भैरहेको छ । हाम्रो स्ट्रिङ अपरेसनमा खटिने जो प्रहरी कर्मचारीहरू हुनुहुन्छ, उहाँहरू सेक्सुअल ह्यारेसमेन्टको विरुद्धमा खटिएका भए पनि पुलिस भएका नाताले बसमा घट्ने अन्य घटनामा आँखा चिम्लेर बस्नुहुन्न । त्यसैले पाकेटमारका साथै सार्वजनिक यातायातमा हुने अन्य अपराधमा संलग्नहरू पनि पक्राउ परिरहेका छन् । 

अहिले झन्डै दुई महिनाभन्दा बढी भयो स्ट्रिङ अपरेसन चलेको, उपलब्धि कस्तो छ ? 

अहिलेसम्म हामीले ७६ जनालाई नियन्त्रणमा लिइसकेका छौं । पहिले–पहिले महिनामा एक दुईवटा केस आए पनि त्यसमा मिलापत्र गराएर पठाइन्थ्यो र त्यसलाई ठूलो हिंसाका रूपमा लिइँदैनथ्यो । हाम्रो मुख्य टार्गेट नै यस्ता केसमा संलग्नलाई कानुनी दायरामा ल्याउने हो । हामीले अहिले २१ जना विरुद्ध सार्वजनिक अपराध ऐन, २०२७ अन्तर्गत मुद्दा नै चलाइसकेका छौं । 

७६ जना समातिएकामध्ये २१ जनालाई मात्र मुद्दा किन ? 

यसमा कति गम्भीर अपराध गरेको हो भन्ने कुरा पनि हेर्नुपर्छ । कतिपयलाई प्रहरी कार्यालयमा उपस्थिति गराउनु पनि ठूलो सजाय हो । कसैका लागि मुद्दा नै चलाउनुपर्ने हुन सक्छ भने कसैलाई एक दिन थुन्दा पनि हुन सक्छ । त्यसैले घटनाको गाभीर्यतालाई हेरेर अनुसन्धानबाट के निस्कन्छ, त्यहीअनुसार 

मुद्दा चलाउने हो । 

सेक्सुअल ह्यारेसमेन्ट बढी बोलेर हुने गरेको छ कि छोएर ? 

बढी फिजिकल छ । अश्लील शब्द बोल्ने घटना पनि छन्, नभएका होइनन् तर त्योभन्दा बढी फिजिकल्ली ह्यारेसका घटना बढी छन् । ७६ जनालाई नियन्त्रणमा लिइएकोमा ३९ जनाले फिजिकल ह्यारेसमेन्ट, १० जनाले अश्लील हर्कत र बाँकी १४ जना भर्बल वर्डहरू युज गरेको र जेस्चरमार्फत ह्यारेसमेन्ट गरेको पाइयो । यसमध्ये कपल्सहरू पनि छन् । उनीहरू सार्वजनिक सवारीभित्र डाइजेस्ट नै गर्न नमिल्ने किसिमका इन्टिमेसी देखाउँदै यात्रा गरिरहेका कारण पक्राउ परेका छन् । हामीले ८ जना पाकेटमारलाई पनि समातेका छौं । अन्य ५ जना कुटपिट एवं झगडा गर्ने लगायतका कार्यमा सम्लग्न भएकाले पक्राउ परेका छन् । 

सेक्सुअल ह्यारेसमेन्ट गर्नेहरूमा बढी कुन उमेर समूहका छन् ? 

हामीले एक महिना पुग्नेबितिकै ७० जनाको एनालाइसिस गरेर हेर्दा १५ देखि २५ वर्ष उमेर समूहका बढी छन् । 

एजुकेसनका हिसाबले कस्ता मानिसहरू छन् ? 

धेरैजसो अन्डर एसएलसी नै छन् । पढ्दै नपढेका मान्छेले मात्र होइन, प्लस टुदेखि मास्टर्सभन्दा माथिल्लो डिग्री हासिल गरेकाले पनि सेक्सुअल ह्यारेसमेन्ट गरेका छन् । प्रतिशतका आधारमा भन्ने हो भने अन्डर एसएलसी ७० प्रतिशत छन् भने स्नातकोत्तर वा त्यसभन्दा माथिका २ प्रतिशत देखिन्छन् । प्रमाणपत्र तहका १७ प्रतिशत छन् । अप्रेसन सुरु गर्नुअघि एकदमै लो प्रोफाइलका मानिसहरूले मात्र यस किसिमको काम गर्छन् भन्ने लाग्थ्यो तर एकदमै हाइप्रोफाइलका मानिसहरू पनि यस्ता केसमा संलग्न भएको पाइयो । टिचिङमा संलग्नदेखि समाजमा राम्रै नाम कमाएका मानिसहरू पनि यस्तो केसमा पक्राउ पर्नुभएको छ, नामचाहिँ डिस्क्लोज नगरौं । 

म्यारिड र अनम्यारिडमा कुन बढी छन् ? 

म्यारिड नै बढी छन् । म्यारिडहरू ४७ प्रतिशत छन् । बिहान र बेलुकाको समयका आधारमा हेर्ने हो भने बेलुका बढी सेक्सुअल ह्यारसमेन्ट भएको पाइन्छ । यसमा अँध्यारोको फाइदा उठाइएको देखिन्छ । बिहानभन्दा बेलुका बढी भीड हुनु पनि यसको अर्को कारण हो । कतिपयले नियत तथा कतिपयले सिचुएसनका कारण हिंसा गरेको देखिन्छ ।

 

केसहरू कस्ता छन्, प्रकृति बताइदिनुहोस् न ? 

एक ठाउँमा चढ्ने, स्पेस देख्नेबितिकै नजिकिँदै जाने । कता छुँदा उनीहरूलाई स्याटिस्फ्याक्सन हुन्छ त्यतै केन्द्रित हुने । फिजिकल्ली टच गर्दै जाने । कतिपय भिक्टिमहरू छुँदा पनि केही नबोल्ने फेयरका कारणले हो वा इज्जतका कारणले हो, चुप लागेर बसेको देखेपछि अझ हौसिएर सेन्सेटिभ अंगहरूमा टच गर्ने केस बढी पाइएको छ । 

भीडमा छोइन सक्छ नि, होइन र ? 

हो, भीडमा छोइन सक्छ भन्ने प्रश्न उठ्छ तर मानिसको इन्टेन्सन त थाहा हुन्छ नि । हाम्रो टोलीले आफूले बोकेको स्मार्टफोनमार्फत थाहा नपाउने गरी बसभित्रको दृश्य खिचिरहेको हुन्छ, त्यसलाई हामी मुद्दा चलाउन सजिलो होस भनेर प्रमाणका रूपमा राख्छौं । त्यसैले बेकसुर पर्ने सम्भावना कम हुन्छ । हामीले सेफ्टी पिन अपरेसन चलाइसकेपछि कतिपय ‘भीडमा भैहाल्छ, अब यसमा सबैले जोगिएर हिँड्नुपर्ने भयो, छुन पनि नपाउने, छुन पनि नहुने’ यताउता भन्नुहुन्छ तर, जसको इन्टेन्सन गलत छैन अर्थात् सही तरिकाले हिँड्ने कोही पनि स्ट्रिङ अपरेसनमा समातिनुभएको छैन । अहिलेसम्म जति पनि पक्राउ पर्नुभएको छ, उहाँहरूले इन्टेन्सनल्ली नै सेक्युअल ह्यारेसमेन्ट गर्नुभएको छ । हामीसँग प्रमाण हुने भएकाले त्यो देखाएपछि उहाँहरूले नाइँ भन्न सक्ने अवस्था नै रहँदैन । 

कहिलेसम्म जारी रहन्छ यो अपरेसन ? 

जनचेतना र स्ट्रिङ अप्रेसनका दुईवटा कारवाही सँगसँगै अघि बढिरहेको छ । स्ट्रिङ अप्रेसनलाई तीन महिनाका लागि मात्र टार्गेट गरेका हौं । स्ट्रिङ अप्रेसन एन्टियोबाटिक हो, जुनसुकै बेला स्ट्रिङ अप्रेसन गरियो भने त्यसको कुनै भ्यालु रहँदैन । हामीले जनचेतनामा बढी जोड दिइरहेका छौं, भिक्टिमहरू आफैं आवाज उठाउन सक्ने र पीडकले त्यो काम छाड्ने बनाउन यो अभियान चलाइएको हो । तीन महिनामा कस्तो रिजल्ट आउँछ, त्यसलाई हेरेर आवश्यक परिमार्जनसहित थप अघि बढ्न सकिन्छ वा त्यही स्टप गरेर जनचेतनालाई प्राथमिकताका साथ अघि लान सकिन्छ । 

 

प्रकाशित :आश्विन २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्