लाटीको छोरो

- किशोर नेपाल

आश्विन २५, २०७४-

नयाँ पुस्ताका निर्देशक सुलक्षण भारतीको नाटक ‘लाटीको छोरो’ को परिचयात्मक पाम्फलेटमा नयाँ पुस्ताका अर्का निर्देशक राजन खतिवडाको टिप्पणी छ— नाटकको नामसँग म सहमत छैन । यो सोसियल(ल्ली) र पोलिटिकल(ल्ली) इनकरेक्ट छ । मलाई लाग्छ, म र मण्डला यो कुरामा सचेत छ । मलाई आशा छ नाटकले यसलाई प्रमाणित गर्ला ।

राजन खतिवडा जस्तो नाट्य विधामा ‘ह्याप्पेनिङ’ व्यक्तित्वले सामाजिक तथा राजनीतिक रूपले बेठीक मानेको यो नाटकमा त्यस्तो कुरा के छ जो अहिलेको सामाजिक तथा राजनीतिक परिवेशका लागि अनुचित छ ? प्रकटमा त्यस्तो केही देखिँदैन । नाटकमा केही शब्द र आशय जानी–जानी प्रयोग र प्रकट गरिएका छन् । ती शब्द र आशयहरू राजनीति एवं सामाजिक जीवनसँग अपरिचित छैनन । लाटीको छोरोमा ती आशय र शब्दहरूको प्रयोग स्वभाविक ढंगमा गरेका छन् सुलक्षणले । निर्देशकका रूपमा उनले नाटकलाई ‘सेन्सेसनल’ बनाउन खोजेकै हुन्, तर कथाले पञ्चायतकालीन विषयवस्तु समातेकाले यसमा चुकेका छन् उनी । तैपनि उनले यसलाई फर्मुला फिल्मजस्तै फर्मुला नाटक बन्नबाट भने जोगाएका छन् । नाटक यथार्थवादी धरातलमा तयार गरिएको छ । प्रस्तुतीकरणको शैली र दृश्यहरूको संयोजनमा त्यति ध्यान नदिएकाले नाटक हेर्दा दर्शकलाई के नपुगेको जस्तो लाग्न सक्छ । नाटकका निर्माता तथा निर्देशकले खेल्ने पर्याप्त फ्रेम छैन नेपालका थिएटरहरूमा । जे छ त्यही नै अनुपम छ । 

कथाकार श्याम शाहको कथाको नाट्य रूपान्तरण गर्दा सुलक्षण बढी नै उदार भएका छन् । यसले गर्दा नाटक अस्वभाविक हिसाबले लामो भएको छ । पात्रहरूद्वारा सटीक संवाद बोलाइएको छैन । गनगन अलि लामै छ । पात्रहरूमा केनिपा सिंहको अभिनय गज्जबको छ । केनिपालाई आफू के गर्दैछु ? भन्ने कुराको पर्याप्त ज्ञान छ । त्यस्तै पवित्राको भूमिकामा पशुपति राईको अभिनय सुरुवातमा सन्तुलित छ भने पछिल्ला दृश्यहरूमा अलिकति चर्को छ । टिनएजर प्रेमी पुनीतका रूपमा सुदीप खतिवडा स्वभाविक देखिन्छन् । राजन काफ्ले व्यापारी सीताराम अग्रवालका रूपमा जमेका छन् । उनको अभिनय बेजोडको छ । खास गरेर पुनीतको पिताका रूपमा उनको अभिनयको प्रशंसा गर्नैपर्छ । 

हवल्दार बच्चु यादवको भूमिकामा प्रकाश दहाल, शिक्षकको भूमिकामा सन्देश लामिछाने, नाउको भूमिकामा मिलन कार्कीको अभिनय राम्रो छ । हवलदार बच्चुको उछलकुद आफ्नो ठाउँमा छ, तर पञ्चायती नेताको विश्वासपात्रका रूपमा उनी जमेका छन् । कुन्दन चौधरी सुर्जा डोमको अभिनयमा जमेका छन् । रियर राई, रोशन सुवेदी र आयान खड्काको अभिनयमा कुनै खोट छैन । खारिएका कलाकार टीका पहारीको अभिनय नदीको प्रवाहजस्तो हुनु स्वभाविक हो । बिषनाथको चरित्रमा उनी र लाटीको छोरोका रूपमा अर्विन खड्का खुब जमेका छन् नाटकमा । यी दुई पात्रलाई बाबु–छोराका रूपमा सांकेतिक ढंगले प्रस्तुत गर्न सुलक्षण चुकेका छैनन । अभिनेता टीका पहारीको उपस्थितिले नाटकका परिदृश्यलाई अलिकति ‘डोमिनेट’ गरे पनि उनको परिपक्व अभिनय नाटकको ‘हाइलाइट’ हो भन्न मिल्छ । 

निर्माण परिकल्पनाकार प्रकाश दाहालको दाबीअनुसार, नेपाली रंगमञ्चमा यो नाटक पहिलो पटक प्रोडक्सन डिजाइन अर्थात् निर्माण परिकल्पनाको अभ्यासबाट तयार पारिएको हो । ‘कथाको नाटकीय मर्मलाई अन्याय नगरी नाटकीय कला कसरी प्रस्तुत गर्न सकिन्छ’ भन्नेमा हरसम्भव प्रयास गरिएको छ भनिए पनि नाटकमा प्रस्तुतिको ‘मनोटोनी’ को दु:ख छैन । नेपालमा नाटकहरू लोकप्रिय भैरहेका छन् । यो निकै राम्रो कुरा हो, तर सबै नाटक राम्रा छैनन् र पनि लोकप्रिय भएका छन् । यस्तो लोकप्रियता टिकाउ हुन सक्दैन ।

सुलक्षण भन्छन्, ‘निर्देशन गर्न सार्‍है गाह्रो ।’ लाटीको छोरो नाटकमा यो गाह्रो काम उनले सरल ढंगले निर्वाह गरेका छन् । यति भन्न सकिन्छ, सुलक्षणमा प्रशस्त निर्देशकीय सम्भावना छ । उनी गतिला कलाकार हुन् । अभिनयमा दक्ष र पोख्त कुनै पनि कलाकारका लागि निर्देशन असहज होइन । सुलक्षणको निर्देशनले परिमार्जन खोजेको छ । उनले विषय बुझेका छन्, तर विषयको यथार्थ र विषयको भर्चुअल भनेको दुई बेग्ला–बेग्लै पाटा हुन् । यथार्थ र भर्चुअलको चटके बन्धनबाट मुक्त हुनु कुशल निर्देशकको काम हो ।

 

प्रकाशित :आश्विन २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्