घडी लगाउन मन लाग्दैन

  • अनुप बराल, नाट्यकर्मी

- अनिल श्रेष्ठ

आश्विन २४, २०७४-

म राम्रो चित्र पनि बनाउँछु 

रंगमञ्चदेखि चलचित्रको पर्दासम्म जमेका अनुप बराल बहुमुखी प्रतिभाका रूपमा चिनिन्छन् । एक्टर्स स्टुडियोमार्फत नाट्यकर्मी उत्पादन गरिरहेका अनुपले गम्भीर विषयवस्तुमा आधारित नाटकको निर्देशनका साथै अभिनय पनि गरेका छन् । चलचित्र ‘दासढुंगा’ बाट उत्कृष्ट नायकको एवार्ड हात पारेका अनुपको प्रतिभालाई कागबेनी, एक दिन एक रात, ब्याच नम्बर–१६ जस्ता चलचित्रले पनि उजागर गरेका छन् । पाँच दर्जनभन्दा बढी नाटक निर्देशन गरिसकेका बराल १४ वर्षको उमेरदेखि नै नाट्य विधामा सक्रिय भएका हुन् । 

ब्रेक डान्सर 

पोखरा लाहुरेहरूको सहर हो । मेरा धेरै साथी लाहुरे नै थिए । ०४५ साल तिर माइकल ज्याक्सनको डान्स आएको थियो । म माइकल ज्याक्सनको डान्स कपी गर्न खोज्थे । म पनि डान्स गर्न थालेको थिए, साथीहरूसँग मिलेर । कहिलेकाहीं त म ट्याक्सीको हुटमा पनि डान्स गर्थें । डान्स प्रतियोगितामा विजयी हुँदै एवार्डसमेत जितेको थिएँ मैले । त्यस क्रममा म बढीजसो ब्रेक डान्स नै गर्थें । 

कवि 

फुर्सदमा म कविता पनि लेख्छु । खाली समयमा त्यत्तिकै बस्न मन लाग्दैन । पोखरा जेसिजले आयोजना गरेको जिल्लास्तरीय कविता प्रतियोगिता म दुई पटक प्रथम भएको छु । नाटकमा लागेपछि कविता लेख्न छोडियो । कुनै एउटा विधामा लागेपछि त्यसमा फोकस हुनुपर्ने भएकाले कविता लेखन कम हुँदै गएको हो । धेरै चिजमा हात हाल्दा कुनैमा पनि सफल नहुने भएकाले अहिले कविता लेखनलाई थाती राखेको हुँ । 

चित्रकार 

बुवा चित्रकार भएकाले म पनि उहाँको चित्र अध्ययन गर्दै चित्र बनाउँथें । मैले अहिले पनि पेन्टिङ बनाउँदै आएको छु । चित्रकलामा विधागत रूपमा शिक्षा हासिल नगरे पनि म राम्रो चित्र बनाउन सक्छु । बुवा कहिलेकाहीं भन्नुहुन्छ— चित्र मात्र बनाएको भए तँ राम्रो चित्रकार बन्ने थिइस् । 

 दसवटा स्कुल फेरें

मलाई औपचारिक शिक्षा हासिल गर्न मन नलाग्ने । पोखरा एउटा सम्पन्न सांस्कृतिक सहर हो । त्यहाँ विभिन्न सामुदायको जात्रा हुन्थ्यो । म स्कुल नै ‘बङ्ग’ गरेर जात्रा तथा फिल्म हेर्न जान्थें । म जात्रा भनेपछि हुरुक्कै हुने मान्छे थिएँ । स्कुलबाट शिक्षकको कम्प्लेन बारम्बार मेरो घरमा पुग्थ्यो । बुवा–ममीले छोरा अर्को स्कुलमा पो राम्रो पढ्छ कि भन्दै नयाँ स्कुलमा भर्ना गरिदिँदा यसरी आठदेखि दसवटासम्म स्कुल चेन्ज गर्नुपर्‍यो । त्यस क्रममा म बोरा बोकेर जानेदेखि एकदमै सुविधासम्पन्न स्कुलसम्म अध्ययन गर्न पुगेको छुँ । 

जापानको घडी 

बुवाले मलाई जापानबाट घडी ल्याइदिनुभएको थियो । त्यो घडी बिग्रियो । बिग्रिएको उक्त घडी बुवाले देख्नुभयो भने पिटाइ खानुपथ्र्याे । बुवाले देख्नुहुन्छ भनेर मैले त्यो घडीलाई घरपछाडिको करेसाबारीमा खाल्डो खनेर लुकाएको थिएँ । दुई–तीन वर्षपछि मैले घडी गाडेको ठाउँमा हेर्दा त्यहाँ घडी थिएन । त्यसपछि मलाई घडी लगाउन पनि मन लागेन ।

 

 

प्रकाशित :आश्विन २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्