कमजोरी

- सुविन भट्टराई

आश्विन २४, २०७४-

मानिस आकाश हो, जहाँ कमजोरीका बादल यत्रतत्र फिँजिइरहेका हुन्छन् । मानिस जंगल हो, जहाँ कमजोरीहरू च्याउसरि उम्रिएका छन् । कहिलेकाहीं मानिसको ह्दय मरुभूमि बनिदिन्छ, जसलाई कमजोरीले ऊष्ण बनाइदिन्छ । मानिस यात्रा हो भने कमजोरी उसका पाइला हुन् । कुनै पनि मानिस कहिल्यै पूर्ण हुँदैन र अपूर्ण रहनु, पूर्णताको खोजी गर्नु नै जीवन हो । मानिस कुवा हो भने कमजोरी तिर्खा हो, जो मानिसलाई खोज्दै–खोज्दै जसरी जहाँ पनि पुगेकै हुन्छ ।

मानिस फूल हो भने कमजोरी उसको सुगन्ध हो । मान्छेमा कमजोरी नहुनु भनेको ऊभित्र अलिकति मान्छेको तत्व नहुनु हो । कमजोरी अभाव होइन, मानवीय स्वभाव हो । कमजोरी न अपसोच मान्ने चीज हो न दोष मान्ने चीज हो । 

यहाँ कति कमजोरीभित्र अपरिमित शक्ति सञ्चित भएका हुन सक्छन् । यहाँ फोहोरबाट त मोहोर निस्कन्छ भने कमजोरी पनि यस्सै निकम्मा रूपमा बसिरहन सक्दैन ।

अब कुरा रह्यो, कमजोरीलाई हीनताका रूपमा लिने कि शक्तिमा बदल्ने ? कमजोरीलाई पनि शक्तिमा बदल्न सक्नुपर्छ । संसारमा त्यस्ता महान् व्यक्ति धेरै छन्, जसले आफ्नो कमजोरी नै प्रयोग गरेर प्रसिद्धि कमाए । कमजोरीलाई कमजोरीमै सीमित रहन दिएनन् । कमजोरीलाई जित्न दिए, हावी हुन दिए त्यसले आफैँलाई सिध्याउँछ, कमजोरीमाथि हावीहुने प्रयास गरे त्यसले संसार जिताउँछ । हरेक कमजोरी एउटा ठाउँमा कमजोरीझैँ देखिएला तर त्यही कुरा अर्को ठाउँमा कमजोरी नदेखिएर सुन्दरता देखिइरहेको 

हुन सक्छ ।

एउटा सत्य घटनामा आधारित चलचित्र ‘द किंग्स स्पिच’ को एउटा सानो प्रसङ्ग सम्झना आउँछ । चलचित्र प्रिन्स अल्बर्टको भकभकाउने कमजोरी छ, जसबाट उनी अनेक थेरापी गर्दागर्दै पनि निकास पाउन सफल हुन सकिरहेका हुँदैनन्, तर उनकी पत्नी एलिजाबेथ आफ्ना पतिलाई हतास परिस्थितिहरूमा भन्छिन्, ‘तिमीले यसरी भकभकाएर निकालेको बोलीलाई म प्रेम गर्छु ।’

मानिसमा भएको कमजोरीलाई सबैले मन पराउँदैनन् भन्ने छैन । कसैले आफूलाई सोझो हुनु कमजोरी मान्ला, तर यो संसारमा सोझो मान्छेलाई मन पराउने हजारौँ छन् । कागजस्तो बाठो मान्छेको पनि ठूलै स्कोप छ । बढी भावुक मान्छे पनि धेरैका आँखामा प्रिय हुन्छन् । भावनामा भन्दा तर्कमा चल्नेहरूलाई मान्ने जमात पनि उतै छ । घमन्डीका वरपर झुम्मिने पनि धेरै छन्, भद्रलाई आफ्ना आँखामा थुन्ने पनि धेरै छन् ।

स्वार्थीले पनि घर बनाएकै छन्, सहयोगीले पनि जीवन चलाएकै छन् । लजाउनेको लाजले धेरैको मन जितेकै छ, देखाउनेको चर्तिकलाले पनि दुनियाँ पिटेकै छ । सबैका आँखामा त को नै पो प्रिय हुन सक्ला र ? बोल्नेले बोलेरै खाइरहेको छ । बोल्न नजान्नेले चुपचाप काम गरेरै देखाइरहेको छ । यसर्थ कमजोरी रोग होइन । बरु बुझ्न सके कमजोरी एउटा अवसर हो ।

हामी आफूलाई कमजोर यस कारणले मान्छौँ, किनभने हामी आफूमा भएको कमजोरी ठ्याक्कै अरूमा देख्दैनौँ । हामी आफूमा भएको कमजोरी ठ्याक्कै अरूमा नहोला, तर अरूमा हामीमा नभएका कमजोरीहरू हुन्छन् । 

कमजोरी जोसित पनि हुन्छ । फरक फरक प्रकृतिका होलान्, तर हुन्छ । मान्छेसँगै उसको कमजोरी पनि हुर्कंदै गएको हुन्छ, जसलाई यसै बदल्न सकिँदैन । कमजोरीले अरूलाई हानि–नोक्सानी गर्छ भने बदल्ने सक्दो प्रयास गर्नुपर्छ । गर्दैन भने कमजोरी स्वीकार गर्नुपर्छ ।

मानिसमा कमजोरी हुनु र साँच्चैको कमजोर देखिनुचाहिँ फरक कुरा हुन् । स्वामी विवेकानन्दले भनेका छन्, ‘सबैभन्दा ठूलो अपराध आफैँलाई कमजोर सम्झनु हो ।’ यसर्थ आफूसित कमजोरी लिएर हिँड्नु हाम्रो नियति होला तर कमजोर महसुस गरी हिँड्नु वा कमजोरी देखाउँदै हिँड्नुचाहिँ 

आफ्नै खति हो । 

 

प्रकाशित :आश्विन २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्