भ्रष्टाचारीलाई सजायको दायरामा ल्याउन सजिलो छैन

- नरेन्द्र रौले

आश्विन २१, २०७४

पत्रकार तथा लेखक हरिबहादुर थापाको पुस्तक ‘रजगज’ यतिबेला चर्चामा छ । दल, दरबार, अदालत र अख्तियारभित्रका भ्रष्टाचारको चिरफार गरिएको यो पुस्तक हालै फाइन प्रिन्टले बजारमा ल्याएको हो । थापाले विशेष गरी राजनीति, कर्मचारीतन्त्र, सत्ता र शक्ति केन्द्रबाट हुने गरेका विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध लगातार कलम चलाउँदै आएका छन् । सुशासन र न्यायका पक्षमा कलम चलाउने लेखक थापाका दलीय द्वन्द्व, विदेशी सहायताका विसङ्गति, राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्रजस्ता पुस्तक प्रकाशित छन् । थापासँग नरेन्द्र रौलेले गरेको कुराकानी :

तपाईंको पछिल्लो पुस्तक रजगजका सम्बन्धमा पाठकहरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

भ्रष्टाचार र सुशासनलाई मूल विषय बनाएर लेखिएको ‘रजगज’लाई पाठकहरूले उत्सुकतापूर्वक लिएको पाएको छु । सामाजिक सन्जालमा भएको अत्यधिक चर्चा–परिचर्चाले मलाई उत्साही बनाएको छ । पुस्तकको नाम ‘रजगज’ को अर्थ खोज्नेहरू पनि धेरै देखिए । यद्यपि यो हाम्रो चलनचल्तीकै शब्द हो । ‘रजाइँ’, हैकम चलाउने, ‘हालीमुहाली’कै पर्यायवाची शब्द हो यो । शासकीय वृत्तमा रहेर राज्यको ढुकुटी, नीति र कानुनमाथि आफ्नो स्वार्थका खातिर मनमस्ती रजाइँ गर्ने पात्रहरूको फेहरिस्त हो, ‘रजगज’ । 

पुस्तकमा नामै तोकेर लेखिएका उच्च व्यक्ति जस्तो कि राजपरिवारसँग सम्बद्ध व्यक्ति, लोकमानसिंह कार्की, पूर्वमन्त्री, प्रशासकहरूले कुनै टिप्पणी जनाए कि ? वा कतै धम्की दिने, तर्साउने हर्कत पनि भयो कि ?

हामीकहाँ भ्रष्टाचार, आर्थिक अनियमितताका सवालमा बोल्ने र लेख्नेहरूको शैली ‘गोस्वारा’ प्रकृतिको छ अर्थात् गोलमटोल रूपमा सबैलाई मुछेर बोल्ने तथा लेख्ने चलनले वास्तविक तथ्य लुक्न पुग्छ । यो पुस्तकले भ्रष्टाचारका सम्बन्धमा तथ्यबद्ध भएर बोल्न मद्दत गर्छ । ‘रजगज’मा त्यस्ता पात्र एवं प्रवृत्तिहरू समेटिइएको छ । पुस्तकमा सामेल पात्रहरूबाट अनौपचारिक रूपमा असन्तुष्टि त प्राप्त भैरहेको छ तर हालसम्म कसैबाट धम्की आएको छैन । अख्तियारमा रहेर लोकमानसिंह कार्कीले चलाएको ‘समानान्तर सत्ता’ का सम्बन्धमा पुस्तकमा विस्तृत जानकारी समेटिएको छ । सर्वाेच्च अदालतले अख्तियारका निम्ति अयोग्य घोषित गरेसँगै कार्की सम्पत्ति र परिवारसहित बाहिरिइसकेका छन्, त्यसकारण उनीबाट कुनै धम्की आएको छैन ।

यो पुस्तक दल, दरबार तथा कर्मचारीतन्त्रमा हुने भ्रष्टाचार एवं बेथितिमाथि केन्द्रित छ, त्यसबाहेक नेपालमा अरू पनि थुप्रै विषय छन् । त्यसमाथि किन चर्चा गर्नु भएन ?

खासमा यो पुस्तक भ्रष्टाचारकेन्द्रित छ । एउटै विषयवस्तुमा केन्द्रित रहेर लेख्दा त्यसभित्रका विविध क्रियाकलाप समेट्न सकिन्छ । एउटै पुस्तकमा धेरै विषय समेट्न खोजियो भने प्रस्तुति गहन बन्न सक्दैन, त्यसकारण लेखकहरू विषयकेन्द्रित हुनुपर्छ । दरबार, भारदार, तिनीहरूको संरक्षणमा रहेर कमिसन असुल्नेदेखि अवैध व्यापार गर्नेहरूका कर्तुत अझ बाहिर आउन सकिरहेको छैन । तिनले सत्ता कब्जा गरी असुलेको धनका सम्बन्धमा विस्तृतमै लेखिनुपर्छ । हामीकहाँ वीरशमशेरको पालादेखि नै शासकहरूले राज्य धन कब्जामा लिएर स्वदेशमा विलासी जीवन बिताउने र ठूलो परिमाणमा विदेशमा धन पुर्‍याउने गरेका छन् । त्यो प्रवृत्ति निरन्तर मात्र छैन कि यसको दायरासमेत व्यापक फराकिलो भएको छ । त्यसैले नेपालको कुनै आर्थिक सम्बन्ध नभएको पनामादेखि ब्रिटिस भर्जिन आइल्यान्डसम्म अवैध धनको सम्बन्ध जोडिन पुगेको छ ।

पुस्तक लेख्ने क्रममा सूचना बटुल्न कत्तिको मेहनत गर्नुपर्‍यो ? वा, कतै सूचना लुकाउने, कसैलाई सम्पर्क गर्दा पन्छिन खोज्ने घटनाहरू कत्तिको झेल्नुपर्‍यो ?

पत्रकार भएका नाताले तथ्य खोज्न र बटुल्न सजिलो हुन्छ । अझ लामो समयदेखि यही विषयमा लेखिरहेको हुँदा कतिपय मानिस तथ्य दिन पनि उत्सुक भएको पाइयो । यो लामो समयदेखि बटुलिएको तथ्यमा आधारित पुस्तक हो । 

रजगजले भ्रष्टाचार तथा बेथितिको नालीबेली समेटेको छ, यस्ता पुस्तकले भ्रष्टाचार न्यूनीकरणमा कस्तो भूमिका खेल्न सक्छन् ?

भ्रष्टाचार सफेदपोश अपराध मानिन्छ अर्थात् यो राज्यका उपल्ला शक्तिसम्पन्न पात्रहरूबाट हुने अवैध र अनुचित अपराध–कर्म हो, तसर्थ भ्रष्टाचार पत्ता लगाउन र तिनलाई सजायको दायरामा पुर्‍याउन सजिलो छैन, किनभने राज्यसंयन्त्रमा बस्ने र कानुन खेलाउने पात्रहरू स्वयं शक्तिशाली, पहुँच भएकाहरू हुन्छन् । कतिपय बेला त तिनीहरू कानुन र संविधानभन्दा पनि माथि हुन्छन् । त्यस्ता पात्र कानुनी सजायको भागीदार बन्न सकिरहेका हुँदैनन् । कम्तीमा तिनका बारे लिपिबद्ध भए समाजबाट बहिष्कृत गराउन सकिन्छ भन्ने हो । कानुनी कारबाहीको दायरामा पर्न नसकेकाहरूलाई समाजले किनारा लगाउन सक्छ, चुनावका बेला होस् वा अन्य सन्दर्भमा पनि । भ्रष्टाचारको सन्दर्भमा सामाजिक कारबाहीलाई कानुनी सजायभन्दा शक्तिशाली मानिन्छ । अवैध सम्पत्तिको तुजुक प्रदर्शन गर्नेलाई समाजले तिरस्कार गर्‍यो भने त्यस्ता भ्रष्ट पात्रहरू स्वत: निरुत्साहित हुन्छन् । समाजमा तिनको शिर ठाडो हुन सक्दैन । भ्रष्ट र अवैध कर्मबाट धन आर्जन गर्नेहरूविरुद्ध जबसम्म समाजले हेर्ने दृष्टिकोण एक हुन सक्दैन, तबसम्म त्यस्ता पात्र प्रभावशाली रहन्छन् । भ्रष्टाचार गर्नेहरू अनेक रूप र आवरणमा देखिन्छन् । अति भएपछि कुनै दिन त्यस्ता पात्रलाई समाजले किनारा लगाउँछ, संसदीय कालखण्डका त्यस्ता पात्रहरू २०६० पछि किनारा लागेकै हुन् । आज शक्तिशाली भनिएकाहरू कुनै न कुनै दिन सजायको फन्दामा पर्न सक्छन् । 

पछिल्लो समय पत्रकारहरू धमाधम लेखकका रूपमा स्थापित भैरहेका छन् । पत्रकार हुँदा लेखक बन्न सहज हुन्छ हो ?

पुस्तक लेख्नु भनेको गहन अध्ययनमा डुब्नु पनि हो । पुस्तक लेखनले पत्रकारहरूलाई कुनै पनि विषयको गहिराइसम्म पुुर्‍याउँछ । पत्रकारहरूको धर्म तथ्यलाई समाजसम्म पुर्‍याइदिनु हो, त्यसमध्ये पुस्तक पनि एउटा विधा हो । हामीकहाँ लेख्नुपर्ने अनगिन्ती विषय छन्, धेरै विषयमा केही लेखिएकै छैन । पत्रकारहरूले आफ्नै ‘बिट’ र समाजका चासोका विषयमा अलि गहिरिने हो भने अनुसन्धानमूलक पुस्तक सहजै लेख्न सकिन्छ । पछिल्लो समयमा पत्रकारहरू पुस्तक लेखनतर्फ आकर्षित छन् भने यसलाई सकारात्मक मान्नुपर्छ र उनीहरूलाई लेख्न प्रेरित गर्नुपर्छ ।

प्रकाशित :आश्विन २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्