कस्तो होला नेपाल आइडलका विजेताको सांगीतिक भविष्य ?

- साप्ताहिक संवाददाता

आश्विन २१, २०७४-

झन्डै पाँच महिना लामो प्रतिस्पर्धाबाट पोखराका बुद्ध लामाले पहिलो नेपाल आइडलको उपाधि आफ्नो पक्षमा पारे भने उर्लाबारीका निशान भट्टराई तथा ललितपुरका प्रताप दासले क्रमश: दोस्रो तथा तेस्रो स्थानमा चित्त बुझाए । 

दर्शकको मतका आधारमा विजेता छनौट गरिए पनि आमदर्शकमा तीनै जना प्रतिस्पर्धीको क्रेज लोभलाग्दो देखियो । निर्णायक प्रतिस्पर्धापछि काठमाडौंमा सम्पन्न पत्रकार सम्मेलनमा उपस्थित तीनै जना विजेताले नेपाल आइडल प्रतिस्पर्धा अवधिभर मात्र आफूहरू प्रतिस्पर्धी रहेको र आफूहरूबीच दाजु–भाइ तथा आत्मिय साथीको सम्बन्ध विकसित भएको दाबी गरे । 

नेपाल आइडलको अडिसनअघि सामान्य व्यक्ति भए पनि प्रतिस्पर्धाको विजेता बनेपछि सेलिब्रेटी बनेका यी तीनै जना युवा अहिले वल्र्ड टुर गर्ने क्रममा छन् । त्यसको थालनी उनीहरूले बेलायतबाट गर्ने निश्चित भैसकेको छ । यसबीच लोकप्रिय व्यक्तित्वका रूपमा आफ्नो परिचय स्थापित गरिसकेका यी तीनै जनाको सांगीतिक भविष्य कस्तो होला भन्ने विषयमा साप्ताहिकले केही संगीतकर्मीसमक्ष जिज्ञासा राखेको थियो । 

गायक तथा संगीतकार स्वरूपराज आचार्यले यी तीनै जना गायकको सांगीतिक भविष्य राम्रो हुनुपर्ने धारणा व्यक्त गर्दै भने– ‘राम्रो हुनुपर्छ र राम्रो होस् भन्ने कामना छ ।’ गायक आचार्यले रियालिटी शो जित्नु अथवा टप थ्रीमा पर्नुभन्दा ठूलो चुनौती अब सांगीतिक बजारमा आफ्नो उपस्थिति आफ्नै सिर्जनाद्वारा जनाउनु रहेको स्पष्ट पारे । ‘कालान्तरसम्म बजारमा काम पाउनु र सांगीतिक क्षेत्रमा टिक्ने अवस्था सिर्जना गर्नु अबको चुनौती हो, गायक आचार्यले आफू तथा सत्यराज आचार्यका तर्फबाट तीनै जना गायकलाई सफल सांगीतिक भविष्यको शुभकामनासमेत दिए । 

संगीतकार राजु सिंहले बुद्ध, निशान तथा प्रतापको सांगीतिक भविष्य उनीहरूले अब गाउने वास्तविक गीत, छनौट गर्ने शब्द तथा संगीतमा निर्भर रहने प्रतिक्रिया दिएका छन् । ‘तीनै जनाको वास्तविक सांगीतिक यात्रा बल्ल प्रारम्भ भएको छ, संगीतकार सिंह भन्छन्– ‘उनीहरूले सारा नेपाली श्रोता तथा दर्शकले गरेको विश्वास तथा सम्मानलाई अब प्रमाणित गरेर देखाउनुपर्ने बेला आएको छ ।’ नेपाली सांगीतिक क्षेत्रमा आफ्नो क्षमता तथा मौलिक पहिचान पुष्टि गर्न उनीहरूले आफ्नो आवाज तथा गीतको माध्यमबाट कर्णप्रिय स्वरले मात्र होइन साधना, सांगीतिक संस्कारको उदाहरण बनेर नेपाली संगीतमा इतिहास रच्ने बेला आएको छ— संगीतकार सिंहको भनाइ छ । 

गायक तथा संगीतकार हेमन्त शर्माले भने तीनै जना विजेताको सांगीतिक भविष्य राम्रो देखेको प्रतिक्रिया दिए । अन्य गायक–गायिकाले गाएका गीत गाएर यहाँसम्म आइपुगेका यी तीनै जना प्रतिभाले अबका दिनमा आफ्नो वास्तविक गीतबाट आफ्नो क्षमता पुष्टि गर्नुपर्ने ठूलो चुनौती रहेको गायक शर्माको भनाइ छ । 

गीतकार राजेन्द्र थापाको विचार केही पृथक् छ । थापा भन्छन्— ‘आजको समयमा गायक ब्रान्डेड नभै शब्द तथा संगीत ब्रान्डेड भैसकेको अवस्था छ । त्यसैले उनीहरूमध्ये जसले मुख–मुखमा झुन्डिने गीत–संगीत भेट्छ उही अघि बढ्छ ।’ गीतकार थापा यी तीनै जना प्रतिभाको सांगीतिक भविष्य उनीहरूको स्वरमा मात्र भर नपर्ने धारणा व्यक्त गर्छन् । उनका अनुसार यी तीनै जनाले एक वर्षसम्म सम्झौताविपरीत बाहिर कुनै पनि कार्यक्रममा सहभागिता जनाउन तथा नयाँ गीत रेकर्ड गराउन सक्दैनन् । यो अवधिमा उनीहरू प्रायोजित मञ्चमा नारायणगोपाल, भक्तराज आचार्य अथवा रामकृष्ण ढकालका कभर गीत गाएर हिंड्नेछन् । त्यतिबेलासम्म आमदर्शक तथा श्रोताको मुड नेपाल आइडल–२ मा पुगिसकेको हुनेछ । विगतका रियालिटी शोका विजेताहरूले समेत यही नियति भोगिसकेका छन् । गीतकार थापाको विचारमा बरु अबको एक वर्षमा उत्कृष्ट तीनभन्दा बाहिर अर्थात् टप टेनमा पर्न सफल प्रतिभाले भने आफ्नै मौलिक गीत गाउने तथा अघि बढ्ने मौका पाएका छन् ।

 

प्रकाशित :आश्विन २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्