वैभव र मनोरञ्जनको संसार लस भेगास

- साप्ताहिक संवाददाता

आश्विन २१, २०७४-आइतबार राति मनोरञ्जन संसारको अन्तर्राष्ट्रिय राजधानी मानिने लस भेगास संगीतमा झुमिरहेको थियो । स्थानीय मन्डले वे रिसोर्टबाहिर तीनदिने कन्सर्टको अन्तिम दिन थियो । झन्डै २९ हजार मानिस कसन्र्ट हेर्न ओइरिएका थिए, तर त्यही सांगीतिक सरगर्मी अचानक मसानघाटमा परिणत भयो । एक व्यक्तिले मन्डले वे रिसोर्टबाहिर खुला ठाउँमा चलिरहेको कन्सर्टमा भीषण गोलीकाण्ड मच्चाए । स्टेभेन प्याडक नामक ब्यक्तिले अर्को एक होटलको ३२ औं तलाबाट सांगीतिक समारोहमा अन्धाधुन्ध गोली चलाउँदा ५९ जना मारिए भने ५ सय २७ जना घाइते भए । प्याडकले पहिलो पटक ९ सेकेन्ड र त्यसपछि ५ सेकेन्ड अटोमेटिक हतियारबाट सांगीतिक कन्सर्टमा भेला भएका संगीत पारखीहरूलाई गोलीको निशाना बनाएका थिए । त्यसलगत्तै त्यहाँ ठूलो कोलाहल र भागदौड मच्चियो । प्याडकले गोली चलाउनुको कारणका सम्बन्धमा प्रहरीले छानबिन गरिरहेको छ । 

घटनालाई अमेरिकाको इतिहासकै सबैभन्दा डरलाग्दो मानिएको छ । १६ दिनदेखि बन्दुकधारी बसेको होटलको सुइटबाट अमेरिकी प्रहरीले १६ वटा बन्दुक बरामद गरेको छ भने नेभेदास्थित उनको घरबाट थप १८ वटा हतियार प्रहरीले फेला पारेको सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले दुई पटक अन्धाधुन्ध गोली हानेपछि आफैंलाई पनि गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । ती बन्दुकधारीको आतंकारी संगठनहरूसँग सम्बन्ध रहेको अहिलेसम्म पुष्टि हुन सकेको छैन । 

लाखौं रंगीचंगी लाइटले रात्रिकालीन लस भेगासलाई पृथ्वीकै सबैभन्दा चम्किलो ठाउँ बनाउँछ । सहरका सडकहरूमा आउटिङ लाइटिङ डिस्प्लेहरू जगमगाउँछन् । संसारका सबैभन्दा ठूला होटलमध्ये २० वटा होटल लस भेगासमै छन् । संगीत, जुवा, किनमेल तथा खानपिनका लागि विश्वमै प्रख्यात लस भेगास उपत्यकामा १ सय ५० भन्दा बढी क्यासिनो तथा झन्डै डेढ लाखभन्दा बढी साना–ठूला होटल रुम छन् । त्यसैले त रातभर ननिदाउने यो सहरलाई दुनियाँकै सर्वाधिक जीवन्त सहर मानिन्छ । 

वयस्कलाई चाहिने सबै प्रकारका मनोरञ्जनका लागि अनुमति दिइएका कारण यो सहरलाई ‘सिन सिटी’ नामबाट पनि चिनिन्छ । लस भेगासले दुनियाँकै मनोरन्जनको राजधानीका रूपमा पनि आफूलाई प्रस्तुत गरेको पाइन्छ, त्यसको कारण ठूला होटल, क्यासिनो एवं मनोरञ्जनका साधनहरूको उपलब्धता र प्रख्याति हो । यो सहर फिल्म र टिभी कार्यक्रमहरूको सुटिङका लागि पनि कहलिएको छ ।

 सन् १९०५ मा स्थापित भएको लस भेगास १९५१ मा आधिकारिक रूपमा सहरका रूपमा दर्ता भएको थियो । सन् २०१० को जनगणनाअनुसार लस भेगासको जनसंख्या ५ लाख ८३ हजार ७ सय ५६ थियो, जुन सन् २०१६ सम्ममा ६ लाख २३ हजार ७ सय ४७ पुगेको अनुमान गरिएको थियो । जनसंख्याका हिसाबले अमेरिकाको २८ औं ठूलो सहरमा पर्ने लस भेगासलाई फोब्र्सले ११ औं सर्वाधिक विस्तारित महानगरीय क्षेत्रका रूपमा समेत उल्लेख गरेको छ । यो नेभेदा राज्यको आर्थिक, ब्यापारिक तथा सांस्कृतिक केन्द्र पनि हो । 

संस्कृतिक सहर 

सन् १९८९ देखि आधुनिक रिसोर्टहरूको विकास भएको सो सहरमा ३० तला माथिका ४० बटा व्यवसायिक भवन छन्, जसमा १ सय २२ तले स्टाटओस्पीहियर टावर पनि छ । त्यहाँका मानिसहरूको आम्दानीको प्रमुख स्रोत पर्यटन व्यवसाय नै हो । गेमिङ र कन्भेन्सन पनि यहाँका महत्वपूर्ण आयस्रोत हुन् । 

यो सहरमा अनेकौं संग्रहालय छन् । २० औं शताब्दीको ऐतिहासिक सांगीतिक धुन सुन्न पाइने नियोन संग्रहालय तथा मव संग्रहालय जसलाई प्राकृतिक ऐतिहासिक संग्रहालय पनि भनिन्छ, यहाँका प्रसिद्ध संग्रहालय हुन् । त्यस्तै लस भेगासमा डिस्कभरी चिल्ड्रेन संग्रहालय पनि छ । लस भेगासले संग्रहालयका लागि मात्र नभएर कलाकौशलका लागिसमेत प्रसिद्धि कमाएको छ । 

डाउनटाउन आर्ट डिस्ट्रकले प्रत्येक महिनाको पहिलो शुक्रवार कला, साहित्य, संगीत, स्थानीय खानपान तथा रहनसहनका बारेमा गल्लीमै मेला लगाउँछ । लस भेगासमा रात्रिकालीन मनोरञ्जनका सबै साधन उपलब्ध भएकाले पनि पर्यटकहरू बढी ओइरिने गरेका छन् । 

 

प्रकाशित :आश्विन २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्