एएफसी यू–१६ च्याम्पियनसिप: पुछारमा रहेको प्रदर्शन

- साप्ताहिक संवाददाता

आश्विन २०, २०७४-

एसियाली फुटबल महासंघ (एएफसी) यू-१६ च्याम्पियनसिपको समूह डीका खेल काठमाडौंमै सुरु हुनुअघि नेपालको दाबी थियो, छनौट लक्ष्य । यसका लागि समूह विजेता बन्न आवश्यक थियो र उत्तिकै उत्कृष्ट प्रदर्शन पनि आवश्यक थियो, जुन एक प्रकारले सम्भव थिएन । समूहमा रहेका अरू टिम थिए- इराक, भारत तथा प्यालेस्टाइन । यो आफैंमा निकै कठिन समूह थियो । त्यसमाथि इराक प्रतियोगिताकै डिफेन्डिङ च्याम्पियन थियो, अरु टिम पनि उत्तिकै बलिया थिए । 

छनौटका खेल सुरु हुनुअघि नेपाली प्रशिक्षक सुनिल श्रेष्ठले दाबी गरेका थिए- टिमको रणनीति हुनेछ, अल डिफेन्स अल अट्याक । उनको नीतिलाई खेलाडीले मैदानमा उतार्न सकेनन् । छनौटका क्रममा टिममा धेरै कमजोरी पनि देखिए । आखिरमा नेपाल चार टिम सम्मिलित छनौटको अन्तिम स्थान अर्थात् पुछारमा रह्यो । सम्भवत: यस्तो छनौटमा खेल सुरु हुनुअघि ठूल्ठूला दाबी नगरिएको भए हुन्थ्यो, दाबी गरेपछि कम्तीमा त्यसको छेउछाउमा रहने प्रदर्शन आवश्यक थियो । 

यी दुवै विकल्पमा नेपाल कमजोर सावित भयो । नेपालको पहिलो खेल इराकविरुद्ध थियो र त्यसमा नेपालले १–० को हार बेहोर्‍यो । यो स्कोर हेर्दा सम्भवत: नेपालले राम्रो प्रदर्शन गरेको अनुमान गर्न सकिन्छ, तर त्यसो होइन । मैदानमा नेपालले इराकविरुद्ध विरलै आक्रमण बुन्न सक्यो । इराकको टिम पूर्णत: व्यवसायिक थियो अर्थात् इराकले ठूलो अन्तरको जितमा ध्यान दिएन । भारतसँगको दोस्रो खेलमा नेपाल २–२ को बराबरीको प्रदर्शन गर्न सफल भयो । 

पूरा प्रतियोगितामा नेपालका लागि सम्झनलायक प्रदर्शन यही खेल थियो । अन्तिम खेलमा नेपालको प्रदर्शन फेरि खराब रह्यो र नेपाल प्यालेस्टाइनको हातबाट २–१ ले पराजित भयो । नेपालको प्रदर्शन किन निराशाजनक रह्यो त ? यसको एउटा मुख्य कारण टिमका चार प्रमुख खेलाडीले छनौट खेल्न नपाउनु पनि रह्यो । केही साताअघि मात्र नेपालमै यही उमेर समूहको साफ च्याम्पियनसिप भएको थियो । त्यसमा राम्रो गर्ने केही खेलाडीले अहिलेको छनौट खेल्न पाएनन् । 

यसरी खेल्न नपाउने प्रमुख खेलाडी थिए— मिडफिल्डर शिशिर लेखी । यसको औपचारिक कारण चोट बताइएको छ, तर यसको कारण बेग्लै मानिएको छ । ती खेलाडीले सम्भवत: बढी उमेरका कारण खेल्न पाएनन् । सबै खेलको समाप्तिपछि प्रशिक्षक श्रेष्ठले भने— समग्रमा नेपालको राम्रो प्रदर्शनको दाबी गलत थिएन, तर परिणाम हाम्रो पक्षमा देखिएन । 

प्रकाशित :आश्विन २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्