एसिया कप खेल्ने अवसर

- साप्ताहिक संवाददाता

आश्विन २०, २०७४-

दसैंअघि नेपाली क्रिकेटबाट पनि एउटा मीठो समाचार सुन्न पाइयो । लगातारको विवाद र अन्यौलबाट गुज्रिरहेको नेपालले मलेसियामा भएको यू–१९ इस्टर्न रिजनको उपाधि जित्यो र यो जितसँगै नेपाल यू–१९ एसिया कपमा छनौट भएको छ । उक्त प्रतियोगिता अर्को महिना मलेसियामै हुनेछ र यसमा नेपालले सामना गर्नेछ, वास्तविक चुनौती । 

गैरटेस्ट मान्यताप्राप्त देशबीच उमेर समूह क्रिकेटमा नेपाल बलियो मानिन्छ । त्यसैले नेपालको वास्तविक चुनौती आउने यू–१९ एसिया कपको फाइनल चरणकै खेलहरूमा देखिनेछ । के त्यसो भए नेपालका लागि यू–१९ इस्टर्न रिजन खासै चुनौतीपूर्ण थिएन त ? यसको उत्तर हो भन्ने नै हुनेछ । प्रतियोगिताअघि नै नेपालले उक्त उपाधि सजिलै जित्ने अनुमान गर्न सकिन्थ्यो र आखिर त्यही भयो । 

नेपालले फाइनलमा हङकङको सामना गरेको थियो र त्यसमा सजिलै विजय प्राप्त गर्‍यो । नेपालले उक्त फाइनलमा जितका लागि ७७ रनको झिनो लक्ष्य पाएको थियो र त्यसलाई नेपाली टिमले सजिलै १४ दशमलव ४ ओभरमा पूरा गर्न सक्यो । जितको अन्तर भने रह्यो, ५ विकेट । नेपालले सेमिफाइनलमा मलेसियालाई हराएको थियो । समूह चरणमा सिंगापुर, थाइल्यान्ड र भुटानविरुद्ध नेपालले सबै तीन खेल जितेको थियो । 

वास्तवमा नेपालका लागि यो निकै सहज प्रतियोगिता रह्यो र नेपालका जति पनि प्रतिद्वन्द्वी थिए, त्यसमा एकाध टिमलाई छाडेर अरू कसैसँग क्रिकेटको राम्रो जग थिएन । यस्तोमा नेपालको जित अपेक्षित थियो । नेपालले प्रतियोगितामा कुनै एक खेल मात्र गुमाएको भए पनि त्यसले स्पष्ट संकेत गर्ने थियो, नेपाली क्रिकेटको स्तर खस्कँदैछ ।

 

प्रकाशित :आश्विन २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्