नांगिने युवती

  • केही लघुकविता

- रेहान खान

आश्विन १७, २०७४-

१. नांगिने युवती

कोठाभित्र

तिम्रो झरेको फरिया र चोलो

टिपेर तिमीलाई लगाइदिँदा

आफू नै

नांगिएजस्तो भयो

आफूलाई के थाहा

तिमी महफिलमा पो

नांगिने युवती हौं । 

२. दोष कसको ?

खडेरीमा पनि

बर्खा लागेको देख्छु

मरुभूमिमा पनि

हरियाली छाएको देख्छु

औंसीमा पनि

जून उदाएको देख्छु

आखिर दोष कसको ?

मेरो नजरको

वा, उनको असरको ?

३. नसोध्नु मलाई

नसोध्नु मलाई

म कुन घरको हुँ

म कुन गाउँको हुँ

म कुन सहरको हुँ

म कुन ठाउँको हुँ

म त एक अल्लारे हुँ

एक आगन्तुक हुँ

एक पागल हुँ

जो भौतारिँदैछ—

गाउँ–गाउँ

सहर–सहर

गल्ली–गल्ली

कुना–कुना

आफ्नो ऋणी ओठको

मुस्कान खोज्दै

शरीरको अन्तिम थकाइ मेट्ने

चिहान खोज्दै

र, ती चिहानमा आँसु झार्नेको

पहिचान खोज्दै । 

४. आदत भैसक्यो

म अचेल अचानक हाँस्न पुग्छु

दुनियाँले मलाई पागल भन्छ

तर मेरो हाँसोको

मतलब यो होइन प्रिय

कि म खुसी छ्,

रुँदारुँदै 

हाँस्ने मेरो आदत भैसक्यो । 

प्रकाशित :आश्विन १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्