साहसिक पर्यटन हब पोखरा

- राजाराम पौडेल

आश्विन १४, २०७४-

पुतली जहाज (अल्ट्रालाइट)

पोखरा आउने अधिकांश पर्यटक पुतली जहाज (अल्ट्रालाइट) चढेर आकाशबाट दृश्यावलोकन गर्न रुचाउँछन् । सन् १९९६ देखि सञ्चालनमा आएको पुतली जहाज सेवा उपलब्ध गराउन एभिया क्लब नेपाल, फिस्टेल अल्ट्रालाइट, पोखरा अल्ट्रालाइट जस्ता कम्पनी सक्रिय छन् । यी कम्पनीले स्वदेशी तथा विदेशी पर्यटकका लागि चारवटा प्याकेज तयार पारेका छन् । ती प्याकेजअन्तर्गत १५ मिनेटका लागि विदेशीलाई १ सय १३ डलर, नेपालीलाई ७ हजार ५ सय रुपैयाँ, ३० मिनेटका लागि विदेशीलाई १ सय ९८ डलर, नेपालीलाई १३ हजार ५ सय रुपैयाँ, १ घण्टाका लागि विदेशीलाई ३ सय १२ डलर, नेपालीका लागि २३ हजार ५ सय तथा ९० मिनेटका लागि विदेशीलाई ४ सय ४६ र नेपालीलाई ३३ हजार रुपैयाँ लिन्छन् । यो यात्रामा विभिन्न ताल, सेती नदी, हिमश्रृंखला, अनेकौं ट्रेकिङ रुटलगायतका प्राकृतिक छटा नियाल्न पाइन्छ । अगस्टदेखि नोभेम्बरसम्म तथा फेबु्रअरीदेखि अप्रिलसम्म मुख्य सिजन भए पनि सबैजसो समयमा अल्ट्रालाइट सेवा सेवा उपलब्ध हुन्छ । 

हेली एयर

साहसिक गतिविधिमा रमाउन चाहनेहरूका लागि पोखरामा हल्का हेलिकप्टर समेत थपिएको छ । हेली एयर नेपालले हल्का हेलिकप्टर (ग्योरोकप्टर) सञ्चालनमा ल्याएको छ जुन करिब १८ हजार फिट माथिसम्म उड्न सक्छ । ३ सय ६० डिग्रीमा दृश्यावलोकन गर्न पाइनु यसको प्रमुख विशेषता हो । हेली एयरका विभिन्न पाँचवटा प्याकेज उपलब्ध छन् ।

पोखरा सहर, सराङकोट, फेवाताल, विश्व शान्ति स्तूप, रानीवन, लेकसाइड आदिको १५ मिनेटको प्याकेजका लागि १ सय ४९ डलर पर्छ । फिस्टेल हिमाल, अन्नपूर्ण श्रृखला, सेती नदी, पञ्चासे गाउँ, गुरुङ गाउँ र अस्ट्रेलियन क्याम्पको दृश्यावलोकन गर्न पाइने ३० मिनेटको प्याकेजको २ सय ४९ डलर लाग्छ । सिक्लेस गाउँ, अन्नपूर्ण श्रृंखला, कान्छी हिमाल, लमजुङ हिमाल, सेती नदी, मादी हिमाल दृश्यावलोकन हुने १ घण्टाको प्याकेजको ३ सय ९८ डलर पर्छ । अघिल्ला तीनवटै प्याकेजलाई ९० मिनेटमा उडान गराइने अर्को प्याकेजका लागि ५ सय ४८ डलर तिर्नुपर्छ । अल्पाइन टुर प्याकेज नामक दुईघण्टाको प्याकेजका लागि ६ सय ९८ डलर तिर्नुपर्छ । दुई घण्टाको प्याकेजमा बलेवा एयरपोर्टमा माउन्टेन कफीसमेत ख्वाइन्छ । हेली एयरमा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटक दुवैका लागि एउटै शुल्क निर्धारण गरिएको छ । 

पेट्रोलबाट चल्ने यो हेलिकप्टर लगातार ३ घण्टा वा ८ सय किलोमिटरसम्म उड्न सक्छ । हावाहुरी लागेका बेला तथा अँध्यारोमा समेत उड्न सक्ने ग्योरोकप्टरमा पाइलटसहित दुई जनाले उडान भर्न सक्छन् ।

प्याराग्लाइडिङ

प्याराग्लाइडिङमार्फत पोखरा अनि आसपासको दृश्यावलोकन गर्नेहरूको संख्या निरन्तर बढ्दै गएको छ । अहिले प्याराग्लाइडिङमा नेपाली युवा–युवतीहरूको आकर्षण देखिन्छ । बाह्रै महिना प्याराग्लाइडिङको उडान भर्न मिल्ने भए पनि मुख्य सिजन सेप्टेम्बरदेखि डिसेम्बरसम्म हो । यसमा विदेशीका लागि १५ देखि ३० मिनेटको १० हजार रुपैयाँ, ३५ देखि ६० मिनेटको १३ हजार रुपैयाँ शुल्क लाग्छ । नेपालीको हकमा १५ देखि ३० मिनेटको ६ हजार ५ सय रुपैयाँ, ३५ देखि ६० मिनेटको ९ हजार रुपैयाँ शुल्क लाग्छ । यातायात, कर र इन्स्योरेन्स शुल्क यसमै समावेश छ । प्रत्येक उडानमा यात्रुले २० हजार डलरबराबरको इन्स्युरेन्स सुविधा प्राप्त गर्छन् । फ्लाइटका लागि बिहान १० बजे, ११.३० बजे तथा दिउँसो १.३० बजेको समय तोकिएको छ । मौसमका कारण कहिलेकाहीं समय हेरफेर हुन सक्छ । 

पोखराबाट करिब १० किलोमिटरको दूरीमा पर्ने सराङकोट झन्डै २५ मिनेटमा पुगिन्छ भने झन्डै १५ किलोमिटरको दूरीमा रहेको तोरीपानी ४५ मिनेटमा पुगिन्छ । सराङकोट र तोरीपानीबाट उडान गरी फेवाताल किनार खपौदीमा अवतरण गरिने प्याराग्लाइडिङ उडान स्थलसम्म लाने र अवतरण स्थलबाट ल्याउने व्यवस्था कम्पनीले नै गर्छ । पोखरामा सञ्चालित ५५ वटा प्याराग्लाडिङ कम्पनी नेपाल हवाई खेलकुद संस्थामा दर्ता छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पोखरालाई आधार बनाएर स्वीकृति लिने कम्पनीको संख्या अझ बढी छ । नेपाल हवाइए खेलकुद संस्थामा आबद्ध पाइलटको संख्या २ सय छ । 

क्यानोनिङ

पोखरा क्यानोनिङ प्रालिले कास्कीको घलेल गाउँमा सुरु गरेको क्यानोनिङ खेलको आकर्षण बढ्दै गएको छ । हालसम्म ४ हजारभन्दा बढीले क्यानोनिङ खेलको मज्जा लिइसकेका छन् । नेपालमा क्यानोनिङका प्रमुख गन्तव्य अन्नपूर्ण पदमार्गअन्तर्गत मस्र्याङ्दी उपत्यका, भोटेकोसी क्षेत्र, सुनकोसी क्षेत्र तथा काठमाडौंको ककनी क्षेत्रलाई मानिन्छ । पछिल्लो समय कास्कीको घलेल गाउँ पनि क्यानोनिङको प्रमुख गन्तव्यका रूपमा विकसित हँुदै गएको छ । कास्कीको बिरेठाँटीमा पनि क्यानोनिङ खेल खेलाउने तयारी भैरहेको छ । कास्कीकै ल्वाङमा ड्रिमल्यान्ड लङ क्यानोनिङ सञ्चालनमा छ भने घाचोकमा पूर्वाधार तयार भएको छ । पोखराबाट जाने–आउने र खाना तथा खाजा खाने सुविधा लिन ३ हजार ९ सय रुपैयाँ तिर्नुपर्छ भने एक रात बस्ने सुविधासहितको प्याकेजलाई ४ हजार ९ सय रुपैयाँ तोकिएको छ । विदेशीको हकमा ५९ डलर बराबरको नेपाली रुपैयाँ लाग्छ । कास्कीका अतिरिक्त मनाङ, मुस्ताङ, लमजुङ, म्याग्दी, बाग्लुङ, स्याङ्जा आदि ठाउँमा पुगेर समेत क्यानोनिङ गर्न सकिन्छ । 

र्‍याफ्टिङ तथा कायाकिङ

पोखरा आउने साहसिक पर्यटकले र्‍याफ्टिङ तथा कायाकिङको समेत मज्जा लिन सक्छन् । पोखराबाट कालीगण्डकी, अपर सेती, लोअर सेती, मस्र्याङ्दीलगायतका नदीमा र्‍याफ्टिङ तथा कायाकिङ गर्न सकिन्छ । यसरी र्‍याफ्टिङ तथा कायाकिङको मज्जा लिन चाहनेहरूलाई ट्राभल 

एजेन्सीहरूले विभिन्न प्याकेज उपलब्ध गराउँछन् । 

जिप फ्लायर 

पोखराको सराङकोटमा नेपालकै पहिलो जिप फ्लायर सञ्चालित छ । जिप फ्लायरमार्फत सराङकोटदेखि हेम्जासम्मको १ हजार ८ सय मिटर दूरी ९० सेकेन्डमा पूरा गर्न सकिन्छ । जिप फ्लायर गर्न नेपालीका लागि ३ हजार ५ सय रुपैयाँ तथा विदेशीका लागि ६८ डलर लाग्छ । यो जिप फ्लायर हाइग्राउन्ड एडभेन्चर नेपालले सञ्चालनमा ल्याएको हो । सन् २०१२ मा प्रारम्भ भएको जिप फ्लायरको आनन्द लिनेहरूको संख्या १५ हजारभन्दा बढी पुगिसकेको छ । अक्टुबरदेखि डिसेम्बरसम्म तथा मार्च–अप्रिल महिनामा जिप फ्लायरको आनन्द लिनेहरूको संख्या बढी हुन्छ । 

बन्जिजम्प 

पोखराको सराङकोटमा मिनी बन्जिजम्पसमेत गर्न पाइन्छ । हाइग्राउन्ड एडभेन्चर नेपालले बन्जिजम्प गर्न चाहने साहसिक पर्यटकका लागि यो सेवा उपलब्ध गराएको छ । बन्जिजम्प गर्न नेपालीका लागि ३ हजार ५ सय रुपैयाँ तथा विदेशीका लागि ६८ डलर तोकिएको छ । सन् २०१४ देखि सञ्चालनमा आएको यो बन्जिजम्पको अनुभव हालसम्म ७ हजारभन्दा बढीले लिइसकेका छन् । अक्टुबर, नोभेम्बर, डिसेम्बर तथा मार्च र अप्रिल महिनामा बन्जिजम्प गर्नेहरूको संख्या बढी हुन्छ । 

रक क्लाइम्बिङ 

पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा रहेको रक क्लाइम्बिङ (कृत्रिम चट्टान आरोहण) गर्ने पर्यटकहरूको संख्या ठूलै छ । उक्त संग्रहालयमा फ्रान्सेली नागरिक मोरिस हज्रोगको सम्झनामा फ्रान्सेली राजदूतावासले २१ मिटर अग्लो कृत्रिम पर्खाल निर्माण गरेपछि रक क्लाइम्बिङको क्रेज बढेको हो । हिमाल आरोहणका लागि प्रारम्भिक तालिमका रुपमा लिइने रक क्लाइम्बिङ अहिले पोखराको प्रमुख पर्यटकीय आकर्षण मानिन्छ । 

प्रकाशित :आश्विन १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्