पूर्वको भक्का र सुदूरपश्चिमको गहतानी डुप्का

- साप्ताहिक संवाददाता

आश्विन १२, २०७४

 

कुनै पनि समाज आर्थिक तथा सांस्कृतिक रूपले कति समृद्ध छ भन्ने कुराको छनक त्यहाँ बनाइने तथा खाइने विभिन्न परिकारले पनि दिन्छन् । परिकार बनाउनु आफैंमा एउटा संस्कार पनि हो । कलात्मक शैलीमा बनाइने यस्ता परिकार एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जाँदा तिनले परिमार्जित हुने अवसर समेत पाउँछन् । मुख्य कुरा स्वादको हो, स्वादको हकमा अब्बल दरिएका विभिन्न शैलीका परिकार बनाउने सन्दर्भमा नेपालका हरेक ठाउँ र जाति वा समुदाय विशेषका मानिसहरू पोख्त छन् ।

कतिपय जातिको परिचय नै उनीहरूको परिकार भएको छ भने कतिपय परिकारले नै कतिपय स्थान वा जाति विशेषलाई समग्र राष्ट्रको मुख्य धारामा ल्याएको उदाहरण पनि छ । यिनै सन्दर्भमा नेपाली जातिले स्थान विशेषको भिन्नता वा उपलब्ध स्रोत र साधनका आधारमा परम्परागत रूपमा प्रयोग गर्दै आएका केही परिकारका बारेमा साप्ताहिकले पाठकहरूलाई जानकारी दिने जमर्को गरेको छ । यी परिकारमध्ये केही हाम्रा आफ्नै मौलिक हुन् भने केही परिकार आगन्तुक भएर पनि हाम्रो परिवेशमा रमाएका छन् । 

पूर्वको भक्का

सबै उमेर समूहका लागि लोकप्रिय खाजा हो— पानीको वाफमा पकाइने भक्का । भक्का हरेक जाति, वर्ग र समुदायको प्रिय खाजा बन्दै गएको छ । बालबालिकादेखि बूढापाकासम्मले मन पराउने यो परिकार जाडो मौसममा बढी खाइन्छ । यो विराटनगरमा मात्र नभएर पूर्वी तराईका सबैजसो चोक, बजार तथा गल्लीहरूमा बिहानबेलुकी बेचिने लोकप्रिय खाजा हो । तातै खाँदा स्वादिलो हुने, सजिलै पच्ने तथा शरीर न्यानो रहने हुनाले भक्का जाडो महिनामा विशेष लोकप्रिय भएको हो । मुख्यत: थारू, राजवंशी तथा ताजपुरिया समुदायका महिलाहरूले यसको व्यवसाय गर्छन् । चामललाई भिजाएर तयार पारिएको पीठोबाट बनाइने परिकार भएकाले यो नरम तथा मीठो हुन्छ । प्रतिगोटा सानो भक्काको १० रुपैयाँ तथा ठूलो भक्काको २० रुपैयाँ पर्छ ।

दाङको घोंगी 

घोंगी थारु समुदायको महत्वपूर्ण परिकार हो । यो शंखे कीराजस्तै एक प्रकारको कीराको परिकार हो । घोंगी खोला तथा खेतहरूमा पाइन्छ । परिकार बनाउनुअघि घोंगीलाई छोपेर रातभर पीठो वा कनिका ख्वाइन्छ, घोंगीको पेटमा भएको माटो हटोस् भनेर यस्तो गरिन्छ । भोलिपल्ट उक्त घोंगीमा पीठो मिसाएर पकाइन्छ । थारु समुदायमा यसलाई विशेष महत्वको परिकार मानिन्छ, किनभने यसमा रोग प्रतिरोध क्षमता बढी हुन्छ । थारु किसानहरू प्राय: बिरामी नहुनुको कारण पनि घोंगी नै हो भन्ने मान्यता छ । थारु समुदायले यसलाई पौष्टिक आहारका रूपमा लिन्छ ।

पाल्पाको चुकाउनी र बटुक 

पाल्पा घुम्न आइपुग्ने जो सुकैले सोध्छन्— राम्रो चुकाउनी र बटुक कहाँ पाइन्छ ? अरुले खाएर सुनाएपछि तानसेन आइपुग्नेहरू चुकाउनी र बटुक खोजी–खोजी खान्छन् । आलु र दही झानेपछि बन्छ चुकाउनी । मास, केराउ, झिलिङ्गीको खस्रो पिसेर अदुवा, नुन, बेसार हाली तेलमा तारेपछि बन्छ बटुक । सिद्धार्थ राजमार्गको बुटवलदेखि पाल्पातर्फ उकालो लाग्ने जो–कोहीले यी परिकार खान पाउँछन् । तानसेन र त्यसवरिपरिका ग्रामीण बजारहरूमा सजिलै पाइने बटुक लोकप्रिय ‘डिस’ सावित भएको छ । बटुक गोलो अनि विचमा प्वाल परेको हुन्छ । मगर परिकारका रूपमा परिचित बटुक अहिले सबैका लागि प्रिय भएको छ । त्यसैगरी उसिनेको आलु टुक्रा पारेर त्यसमा अमिलो दही र अन्य मसलाहरू हाली चुकाउनी तयार पारिन्छ । सामान्यत: गाउँघरतिर चुकाउनीलाई अचारका रूपमा लिइन्छ । 

सुदूरपश्चिमको गहतानी डुप्का 

गहतको दालको गहतानी डुप्का सुदूरपश्चिम क्षेत्रको विशेष परिकार मानिन्छ ।  यसलाई भिजाइएको मासको दाल पिसेर गोलो अथवा लामो आकारमा डल्लो बनाई गहत वा मासको दालमा पकाइन्छ । कतिपयले डुप्कामा खसीको बोसो पनि हाल्छन्, जसलाई बोसे डुप्का भनिन्छ । 

प्रकाशित :आश्विन १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्