ठाउँ अनुसारको फरक नेपाली स्वाद

- साप्ताहिक संवाददाता

आश्विन ११, २०७४

कुनै पनि समाज आर्थिक तथा सांस्कृतिक रूपले कति समृद्ध छ भन्ने कुराको छनक त्यहाँ बनाइने तथा खाइने विभिन्न परिकारले पनि दिन्छन् । परिकार बनाउनु आफैंमा एउटा संस्कार पनि हो । कलात्मक शैलीमा बनाइने यस्ता परिकार एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जाँदा तिनले परिमार्जित हुने अवसर समेत पाउँछन् । मुख्य कुरा स्वादको हो, स्वादको हकमा अब्बल दरिएका विभिन्न शैलीका परिकार बनाउने सन्दर्भमा नेपालका हरेक ठाउँ र जाति वा समुदाय विशेषका मानिसहरू पोख्त छन् ।

कतिपय जातिको परिचय नै उनीहरूको परिकार भएको छ भने कतिपय परिकारले नै कतिपय स्थान वा जाति विशेषलाई समग्र राष्ट्रको मुख्य धारामा ल्याएको उदाहरण पनि छ । यिनै सन्दर्भमा नेपाली जातिले स्थान विशेषको भिन्नता वा उपलब्ध स्रोत र साधनका आधारमा परम्परागत रूपमा प्रयोग गर्दै आएका केही परिकारका बारेमा साप्ताहिकले पाठकहरूलाई जानकारी दिने जमर्को गरेको छ । यी परिकारमध्ये केही हाम्रा आफ्नै मौलिक हुन् भने केही परिकार आगन्तुक भएर पनि हाम्रो परिवेशमा रमाएका छन् । 

वीरगन्जको बगेडी 

बगेडीको परिकार पूर्व धरानदेखि पश्चिम पोखरासम्मका होटलहरूमा पनि पाइन्छ, तर वीरगन्जको बगेडी भनेपछि यसका पारखीहरू हुरुक्कै हुन्छन् । बगेडी तराईको उखु तथा धान खेतमा झुन्डमा बस्ने सानो आकारको चरा हो । यसलाई सिकारीले सहर–बजारका होटलहरूसम्म पुर्‍याउँछन् । भुत्ला फालेर पकाउन तयार पारिएको बगेडी मुस्किलले ३० देखि ५० ग्रामसम्मका हुन्छन् । 

तराईमा असोजदेखि चैतसम्म विशेष गरी जाडो लागेपछि जाडोको अन्त्यसम्मै बगेडी खाने चलन छ । यसको सेवनले शरीरलाई न्यानो राख्छ । विशेष गरी खाजाका रूपमा फ्राई गरेर तथा खानाका रुपमा ग्रेभी बगेडी रुचाइन्छ । यसको टाउको कुरुमकुरुम चपाउन मिल्ने खालको हुन्छ । यौन उत्तेजना बढाउने मान्यता रहेकाले पनि ३० बर्षभन्दा माथिका पुरुषहरू बगेडी खान रुचाउँछन् ।  

झापाको माछा र मुरै

माछा र मुरै झापाको लोकप्रिय परिकार हो । भारतको पश्चिम बंगालसँग सिमाना जोडिएका सीमावर्ती बजारहरूमा माछा–मुरै लोकप्रिय छ । खासगरी बंगाली तथा राजवंशी समुदायले विभिन्न चाडवाडमा प्रयोग गर्ने यो परिकार अहिले सबैको साझा परिकार बनेको छ । झापाको भद्रपुर, बिर्तामोड, दमक आदि सहरमा लोकप्रिय यो परिकारमा तारेको वा ग्रेभी माछासँग साँधेको मुरै (भुजा), सलाद तथा अचार समावेश हुन्छ । 

पर्वतको लप्सीको अचार

पर्वतमा पाइने लप्सीका परिकारको लोकप्रियता बढ्दै छ । पर्वतका करिब तीन दर्जन गाउँमा लप्सीको व्यवसायिक खेती हुन्छ । अहिले लप्सिको अचार, लप्सिको क्यान्डी तथा लप्सिको धुलोको माग बढ्दै गएको छ । पर्वतमा वार्षिक १४ हजार मेट्रिक टन लप्सी उत्पादन हुन्छ । स्वाद–स्वादका तितौरा, गुलियो स्वादको लप्सीको अचार तथा क्यान्डीले समेत लप्सी पारखीहरूको मन जितिरहेका छन् । पर्वतमा उत्पादित लप्सीका विभिन्न परिकार नेपालका विभिन्न ठाउँका अतिरिक्त विदेशमा समेत निर्यात हुन्छ । 

म्याग्दीको टिम्मुरको छोप

म्याग्दी टिम्मुरका लागि प्रख्यात छ । त्यहाँ उत्पादित टिम्मुर बेनी, जोमसोमदेखि लिएर पोखराको बजारसम्म पुर्‍याइन्छ । असोज–कात्तिक महिना टिम्मुर टिप्ने उपयुक्त समय हो । मुखमा राख्दा रमरम गर्ने टिम्मुरलाई तरकारी, दाल वा अचारमा मसला तथा जडीबुटीका रूपमा प्रयोग गरिन्छ । अझ म्याग्दीका गाउँघरमा बनाइने टिम्मुरको विशेष परिकार छोपको स्वाद लिनेहरूले त्यसलाई कहिल्यै बिर्सन सक्दैनन् । टिम्मुरमा मात्राअनुसार खुर्सानीको धूलो, चुक र नुन मिसाएर सुख्खा हुनेगरी पिसेपछि छोप तयार हुन्छ । यस्तो छोप वर्षौंसम्म बिग्रँदैन । स्वादका कतिपय पारखीहरू यस्तो छोप खानासँग खान्छन् । यसले खानाको स्वाद बढाउनुका साथै पाचन प्रक्रियालाई समेत दुरुस्त राख्छ ।

 

प्रकाशित :आश्विन ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्