दसैंका प्रमुख आकर्षण र विशेषता

- युवराज गौतम

आश्विन १०, २०७४- 

दसैं हिन्दूहरूको महान् र ठूलो चाड हो । दसैं मनाउने आ–आफ्नै तौरतरिका छन् । हिन्दू धर्मअन्तर्गतका विभिन्न जातिले विविध तरिकाले दसैं मनाउँछन् । भारतीय हिन्दू तथा नेपाली हिन्दूहरूको दसैं मनाउने शैली पनि भिन्न छन् । दसैंलाई उल्लासमय ढंगले १५ दिनसम्म मनाउने नेपाली हिन्दूहरू नै हुन्, तैपनि यहाँ जात–जाति एवं भूगोलअनुसार दसैं मनाउने विधि फरक–फरक छन् । यद्यपि दसैंका विशेषता र आकर्षण भने एउटै र उस्तै छन् । वास्तवमा दसैं मनाउने बेलाको मौसम उपयुक्त र रमाइलो हुन्छ ।

शरद् ऋतु भएकाले यतिबेलाको समय घमाइलो पनि मानिन्छ । वर्षा थामिएर न जाडो, न गर्मीको वातावरण हुने भएकाले दसैंलाई उल्लासका साथ मनाउने चलन छ । दसैंलाई मीठो खाने, राम्रो लगाउने तथा मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मानिन्छ । नाता सम्बन्धलाई प्रगाढ बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक अवसर पनि दसैंले नै प्रदान गर्छ । 

मालाश्री धुन

गाउँघरमा मालाश्री धुन गुन्जिन थालेपछि दसैं आएको छनक पाइन्छ । घटस्थापनाका दिनदेखि रेडियो तथा टेलिभिजनमा बज्ने यो धुनले वातावरण नै मनमोहक बनाउँछ । सितार, तानपुरा, तबला आदि बाजाको सम्मिश्रणबाट बज्ने यो धुनले हर्ष–उल्लासको सन्देश दिइरहेको हुन्छ । त्यसबाहेक पञ्चैबाजा, मादल, सारंगी, मुरली आदि बाजाहरूबाट पनि मालाश्री धुन निकाल्ने प्रचलन छ । मालाश्री धुनलाई दसैं धुन पनि भनिन्छ । दसैंमा देवीको पूजा गरिने भएकाले देवीको गुनगानका लागि यो धुन बजाइने परम्परागत मान्यता छ ।

चंगा चेट

दसैंमा चंगा उडाएर रमाइलो गर्ने परम्परा पुरानै हो । विशेष गरेर सहर बजारमा चंगा उडाएर दसैंको स्वागत गरिन्छ । पहिले–पहिले नेपाली कागजको प्रयोगबाट बनेको हाते चंगा उडाइथ्यो । दसैंका बेला चंगा उडाउने प्रतियोगिताहरूसमेत सञ्चालन हुन्छन् । 

लिंगे र रोटे पिङ 

गाउँघरतिर मात्र होइन, सहरबजारतिर पनि दसैं आउनुपूर्व नै पिङ हाल्ने चलन बढ्न थालेको छ । गाउँघरतिर पाखाबारीमा भएका बाबियो काटेर सुकाउने अनि डोरी बाट्ने र सबैलाई पायक पर्ने स्थानमा लिङ्गे पिङ गाड्ने चलन छ । विजयादशमीका दिन मान्यजनको हातको टीका लगाएर केही क्षण भएपनि धर्ती छोड्नुपर्ने विश्वासका कारण पिङ खेलिन्छ । पहिले–पहिले काठको रोटेपिङ निकै प्रचलित थियो, तर त्यस्तो पिङ अहिले लगभग हराइसकेको छ ।

नयाँ लुगा

दसैंमा नयाँ लुगा किन्ने र लगाउने चलन पुरानै हो । गाउँघरतिर नयाँ कपडा किनेर सिलाउन दिने होडबाजी नै चल्छ । वर्षा सकिएर हिलोमैलो कम हुने र मौसम घमाइलो हुने भएकाले पनि दसैंमा नयाँ कपडा फेर्ने चलन चलेको बताइन्छ ।

 

दक्षिणा र आशीर्वाद

दसैंमा मान्यजन एवं आफन्तहरूसँग टीका लगाउने चलन छ । टीका लगाउँदा आशीर्वाद प्रदान गरिन्छ । टीका–जमरा र आशीर्वादसँगै मावली, बूढा मावली तथा ससुरालीका मान्यजनबाट प्राप्त दक्षिणाको पनि ठूलै महत्व हुन्छ । टीका ग्रहण गर्न जानेहरूले साथमा फलफूल, मिठाई आदि कोसेली लाने चलन छ । दसैंमा नयाँ नोट सटहीका लागि बैंकहरूमा निकै लामो लाम लाग्छ ।

 

रातो टीका र जमरा

दसैंमा रातो टीका लगाउने तथा पहेंलो जमरा सिउरिने चलन छ । टीका र जमरा दसैंको मुख्य पहिचान पनि हो । मान्यजनबाट टीका थापेर घटस्थापनाको दिन विधिपूर्वक राखीएको जमरा रातो टीकाका साथ लगाइन्छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समद्धि एवं वैभव प्राप्त हुने जनविश्वास छ ।

बलि चढाउने

दसैंमा खसीबोका तथा भेडा च्याङग्राको बजार खुबै चम्किन्छ । किनभनेदसैंको आठौं र नवौं दिन दुर्गा भवानीको पूजाआजा गरी बलि दिने चलन छ । दसैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा तथा राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना एवं दुर्गा सप्तशती एव देवीस्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरूले कुभिन्डो, घिरौंला, मूला, काँक्रा, नरिवल आदि बलि चढाउँछन् । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाईंका साथ कोतपूजा तथा निशानापूजा समेत गरिन्छ ।

सेतो टीका

दसैंमा कतिपय आदिवासी जनजाती समुदायमा सेतो टीका तथा जमरा लगाउने चलन छ । आदिवासी जनजातिहरूमा हरेक शुभ कार्य गर्दा दहीमा चामल मुछेर सेतो टीका लगाइने भएकाले दसैंमा सेतै टीका लगाउने परम्परा छ । सेतो टीकासँग पहँेलो जमरा लगाइन्छ । 

 

प्रकाशित :आश्विन १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्