मात्र चियर्स गर्न बाँकी छ

  • निबन्ध

- नवीन प्यासी

आश्विन १०, २०७४-

 

समाधिस्थल उर्फ एस्ट्रेतिर चुरोटको ठुटो लग्दै सारा बोली, ‘जीवनभर दुख्ने फूलहरूको शालीन चुम्बनभन्दा मल्हम लगाएर ठीक हुन सकिने काँडाको चुम्बन नै ठीक ।’

‘त्यसो भए तिमी काँडा ?’

टाउको हल्लाइन् ।

‘भनेपछि त काँडासँग पनि सौन्दर्य हुँदो र’छ है ?’ 

‘अवश्य पनि । काँडासँग संसारकै सबैभन्दा सुरक्षित सौन्दर्य हुन्छ ।’ आत्मविश्वासका साथ गाढा रातो लिपिस्टिक लगाएको ओठ तलमाथि चलाइन् ।

‘तर मलाई त तिमी फूलजस्तै लाग्छ ।’

‘एक्सक्युज मी ! ओह !’ (कस्तो कमान्डिङ भ्वाइस) थाहा छ त तिमीलाई । फूलहरू सधैं सुरक्षाभित्र हुन्छन् र असुरक्षित हुन्छन् । पिल्सिएर बाँचेका हुन्छन् । दुखेर बाँचेका हुन्छन् । प्रतिशोधको भावना बढी हुन्छ । खास अपराधी छुट्याउन सक्ने चेतना हुँदैन । त्यही भएर निर्दोषहरू बढी सिकार हुन्छन्, तर यी मलाई तलदेखि माथिसम्म हेर त ! (तीन–चार इन्चजतिको ब्ल्याक हिल । दाहिने हिल मास्तिर एउटा ट्याटु । जिन्सको ग्रन्ज गरिएको खैरो स्कर्ट । देब्रे काँधको सिमाना नाघेको एक्सएल साइजको ह्वाइट टिसर्ट । काँधमा रातो डोरी छालासँग बेस्सरी टाँस्सिएको ।

केही कुरालाई जोडले अँठ्याइरहेजस्तो देखिने । दशगजाजस्तो सर्लक्क उभिएको नाक । जोकोहीले हेरिरहन नसक्ने आँखा । कर्ली केश । यतिसम्म देखे एकपटकको हेराइमा । उनी बोल्दै गइन् ।) ‘यदि म फूल हुँदो हुँ त सायदै यो ओछिइरहेको साँझमा निर्धक्क भएर बस्थेँ हुँला । त्यो पनि यस्तो कामुक पुरुषसँग जसले जतिबेला पनि आक्रमण गर्न सक्छ ।’ (यति भनेर मेरो औँलाबाट चुरोट खोसी र लामो पफ तानी) ‘मलाई अचानक के भयो यार !’ इत्रिँदै भनेँ ।

‘के भयो ?’ आँखा जुधाइन् । ओहो ! कति तिखा आँखा । बेस्सरी घोच्यो मलाई, तर कस्तो आनन्द !

‘काँडालाई चुम्न मन लाग्यो !’ एक पफ फिस्स हाँस्दै भनेँ ।

‘मान्छे हेर्दा बच्चै छ, कुरा गर्छ ठूलाठूला ।’ भन्दै कफीलाई अन्तिम पटक चुमी । वसन्तपुरको विश्राम क्याफेको माथिल्लो तलाको छेउतिरको टेबलको छेउतिरैबाट एक हरफ पराजित मुस्कान फ्याकिदिएँ । बोल्न मन लागेन । वेटरलाई बोलाइन् । बिल तिरिन् । बिल तिर्दिनथें प्राय: म । 

टेबलबाट उठिन् जाउँ भन्ने आशयका साथ । उठेँ म पनि । हामी बाहिर निस्कियौँ । साँझ अतिथि बनेर उपस्थित भैसकेको थियो । बत्तीहरू जूनकीरी, पुतलीहरू कुरेर बस्न थालेका थिए । सायद भोक र प्यास मान्छेलाई मात्र लाग्दैन । हामी कालभैरव मन्दिर हुँदै असनतर्फ लाग्यौँ । म उनको पछिपछि हिँडिरहेको थिएँ । समयको पछिपछि पृथ्वी हिँडेजस्तै चुपचाप या पृथ्वीको पछिपछि समय हिँडेजस्तै । जे होस्, म पछिपछि थिएँ । 

मानिसहरूको जुलुसमा हामी पनि समाहित भयौँ । जसरी एउटा सानो खोला नदीमा समाहित हुन्छ । ठेलमठेलको नि:स्वार्थ राजनीतिमा मिसियौँ । हिँडिरहेका थियौँ । अचानक मेरो हातमा अनौठो स्पर्श भयो । हेरेँ । हातले मलाई तानिरहेको थियो । रेलको डिब्बाले पछाडिको डिब्बा तानेजसरी ।

म सपेराले खेलाइरहेको सर्पजस्तो भएँ । हात कसैको थिएन । साराकै थियो । उनलाई हेरेँ । हल्का लामो केश मात्र देखें । केशमा केटाकेटी जसरी पिङ खेलिरहेको थियो बतास । जो उनको केश र हिडाइसँगको संभोगले जन्मिएको थियो । फर्केर हेरिन् । मैले आफ्नो नर्भसनेस लुकाउन फेरि एक पफ कृत्रिम मुस्कान मिल्काएँ । उनले पनि रहस्यमय तरिकाले दाहिनेपट्टिको ओठको कुना अलिकति चलाइन् । हामी महाबौद्ध पुगिसकेछौँ । रोकिएर मेरो छेउमा उभिइन् र मलाई हेरिरहिन् निकै बेर । मैले फुस्स–फुस्स छोडिरहेँ लाजसरिका मुस्कानका पफहरू । उनले पनि त्यसै गरिन् । केही समयसम्म यो क्रम निरन्तर चलिरह्यो । चल्दाचल्दै ऊ बोली ।

‘यहाँबाट सीधै गयो भने मेन रोड पुगिन्छ । समयलाई जित्न खोजिरहेका बौलाहा गाडी र गाडीभित्रका मान्छेहरू मात्र देखिन्छ । बरु फर्कौं ल फेरि उतै !’

स्वीकृतीसहित टाउको हल्लाएँ । खासमा म हातबाट सुरु भएर मुटुसम्म असर पुगेको स्पर्शले रन्थनिइरहेको थिएँ । हामी भीडमा उसैगरी फर्कियौँ जसरी पहिले आएका थियौँ । बस्, दिशा मात्र परिवर्तन भएको थियो । गन्तव्य मात्र परिवर्तन भएको थियो । वसन्तपुर आइपुगेर एउटा खाली बेन्चमा आफूलाई टक्र्याएँ । उनले पनि मेरो नजिकै आफूलाई टक्र्याइन् । मानौं, हामी कुनै रक्स्याहाले टेबलमा भरेर राखेका गिलास हौँ— मात्र चियर्स गर्न बाँकी छ । 

 

प्रकाशित :आश्विन १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्